सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–२ मा निर्माण गरिएको सुविधा सम्पन्न बसपार्क प्रयोगमा ल्याइएको छ । मलङ्गवा नगरपालिका–२ मा सङ्घीय सरकारको रू. आठ करोड ३१ लाख लागतमा निर्माण गरिएको उक्त बसपार्क करिब एक वर्षपछि सञ्चालनमा ल्याइएको हो । मलङ्गवा नगरपालिका–९ मा रहेको पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तारसँगै सवारीसाधनको चाप बढेकाले नयाँ बसपार्क निर्माण गरिएको थियो । नयाँ बसपार्कको निर्माण भएको करीब एक वर्ष हुनै लाग्दा पनि सरोकारवाला निकायले चासो नदिँदा बसपार्क प्रयोगमा आउन नसकेको मलंगवा यातायात प्रालिका अध्यक्ष राजीव यादवले बताए ।
आफूहरू नयाँ बसपार्कमा जान तयार रहे पनि ठेकेदार कम्पनीले नगरपालिकालाई बसपार्क हस्तान्तरण नगरेको र नगरपालिकाले पनि चासो नदिँदा नयाँ बसपार्कमा जान नपाइएको उनको भनाइ थियो । नगर प्रमुख नागेन्द्रप्रसाद यादवका अनुसार नयाँ बसपार्कबाट बस सञ्चालनमा ल्याउने विषयमा जिल्लाका यातायात व्यवसायीसँग पटक–पटक छलफल गरिए पनि कुनै निष्कर्ष निस्केको थिएन ।
केही यातायात व्यवसायी नयाँ बसपार्कमा आफूहरू नजाने भन्दै नगरपालिकामा डेलिगेसन पनि आएको नगरप्रमुख यादवले बताए । तर नगरपालिकाले कार्यविधि नै बनाएर नयाँ बसपार्कबाट बस सञ्चालन गरेको छ । करीब २५ रोपनी क्षेत्रफलमा निर्माण भएको बसपार्कमा एकैसाथ ५२ ओटा ठूला र २० ओटा साना गरी यात्रुवाहक सवारीसाधन पार्किङ गर्न सक्ने क्षमता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर कार्कीले बताए । उनका अनुसार मलङ्गवा नगरपालिका–९ मा रहेको पुरानो बसपार्कबाट बस सञ्चालन गर्दा ट्राफिक प्रहरीलाई व्यवस्थापनमा निकै समस्या हुने गरेको थियो । ‘बजार विस्तारसँगै साँघुरिँदै गएको पुरानो बसपार्कबाट बस सञ्चालन हुँदा सवारी व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको थियो, अब नयाँ बसपार्कबाट बस सञ्चालन हुुँदा बसपार्कका कारण हुने बजारको भीडभाड र दुर्घटनाको जोखिम पनि कम हुन्छ,’ प्रहरी निरीक्षक कार्कीले भने । रासस