रौतहट । रौतहटको गौर नगरपालिका–४ स्थित लालबकैया नदीमा पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनको बैंक ग्यारेण्टी जफत भएको छ । पप्पुले उच्च अदालत वीरगञ्जमा मागेको अन्तरिम आदेशको रिट खारेज भएसँगै सडक कार्यालय रौटहटले बैंक ग्यारेन्टी जफत गरेको हो । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाले २० करोड ७२ लाख रुपैयाँको लागतमा लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाइको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो । १४ करोड ९३ लाख रुपैयाँमा ठेक्का सकारेको पप्पुले सम्झौताअनुसार काम नगरेको भन्दै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सम्झौता अनुसार काम गर्न पटक पटक ताकेता गर्दै आएको थियो ।
पप्पु कन्स्ट्रक्सनले ३ वर्षभित्र निर्माण काम पूरा गर्नेगरी २०७१ असार २९ मा सम्झौता गरेको थियो । तर पप्पुले निर्माण अलपत्र पारेपछि सडक डिभिजन कार्यालय रौतहटले पटक पटक पत्र पठाएर काम थाल्न अनुरोध गर्दा पनि बेवास्ता गरेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साहले बताए ।
निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेको र लिखित तथा मौखिक ताकेता समेत बेवास्ता गरेकाले शर्तविपरीत गएको भन्दै सडक डिभिजन कार्यालयले जेठ १० गते ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द भएपछि पप्पुले उच्च अदालत वीरगञ्जमा अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेको थियो । दायर गरेको रिटमा उच्च अदालतले ठेक्का रद्दको प्रक्रिया यथावत् राख्न भन्दै अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशपश्चात् पनि केही कामदार लगाएर निर्माण कम्पनीले काम अगाडि बढाइरहेको थियो । पप्पुले उच्च अदालत वीरगञ्जमा मागेको सोही अन्तरिम आदेश मागको रिट खारेज भएसँगै बैंक ग्यारेन्टी जफत भएको हो ।
ठेक्का सकार गर्ने बेला राखेको बैंक ग्यारेन्टी जफत गरिसकेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख साहले बताए । उच्च अदालतले पप्पु कन्स्ट्रक्सनले दिएको रिट खारेज गरेसँगै अब नयाँ ठेक्काका लागि बाटो खुलेको कार्यालयले जानकारी दिएको छ ।
यसैबीच, पत्रकार सञ्जय सहनी अलपत्र लालबकैयाको पुल यथाशीघ्र निर्माणको माग गर्दै लागि आमरण अनशन बसेका छन् । पुल नबनेका कारण बन्जरहा, औरैया, मठिया, जोकहा, नरकटिया, रामपुर खाप डुमरिया परोहा लौतनालगायत दर्जनौं गाउँका बासिन्दा हिउँदमा बाँसको लच्का बनाएर आवतजावत गर्न बाध्य छन् । यस्तै बर्खायाममा गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्ने बाध्यता छ ।