ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ठेक्का म्याद सकिन लाग्दासमेत निर्माण काम शुरू भएन

२०७९ फागुन, ९  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

बागलुङ । निर्माण शुरू भएको भए बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल अहिलेसम्म सम्पन्न भइसक्थ्यो । आउँदो चैत मसान्तभित्र अस्पताल भवन निर्माण सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी र ताराखोला गाउँपालिकाबीच सम्झौता भए पनि अस्पतालको काम अझै शुरू भएको छैन ।

जिल्लाका अन्य पालिकाका आधारभूत अस्पताल धमाधम निर्माण भइरहेको छ । यहाँ भने जग्गा स्थानान्तरण विवाद र ठेकेदार कम्पनीबीचको असमझदारीका कारण पाँच शय्याको अस्पताल निर्माण ठेक्काको म्याद सकिनै लाग्दासमेत शुरू नभएको हो । भौगोलिक रूपमा दुर्गम गाउँपालिका रहेको ताराखोलामा अस्पताल बनाउन उपयुक्त जग्गा नभएकै कारण अस्पताल निर्माणमा कठिन देखिएको छ । आधारभूत अस्पताल निर्माणका लागि वडा २ को सरपान्डीडाँडामा दुई वर्षअघि शिलान्यास भएको थियो । शिलान्यास भएको वर्ष ताराखोलामा बाढी पहिरो गएकाले उक्त सरपान्डीडाँडामा अस्पताल निर्माण गर्न भौगोलिक रूपमा जोखिम रहेको गाउँपालिकाका प्राविधिकको सल्लाहमा अस्पताल निर्माणको जग्गा फेरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले बताए ।

प्रशासकीय अधिकृत गैरेका अनुसार सार्वजनिक खरीद ऐनमा ठेक्का सम्झौताको मिति नसकिएसम्म ठेकेदारलाई कारबाही गर्न पाइँदैन । त्यसैले चैत मसान्तभित्र ठेकेदारले काम थाल्ने लिखित सम्झौता नगरे ठेक्का रद्द गर्ने प्रक्रियामा गाउँकार्यपालिका जाने उनले बताए । पालिकाको आधारभूत अस्पताल समयमै नबन्दा गाउँपालिकाले दिने स्वास्थ्य सेवा प्रभावित बन्दै आएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताए । २०७७ वैशाखमा दुई वर्षमा निर्माण सक्नेगरी गाउँपालिका र एसी कन्स्ट्रक्सनबीच रू. सात करोड ५७ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का म्याद सकिन दुई महीना मात्र बाँकी रहँदा समेत अस्पताल निर्माण शुरू भएको छैन । निर्माण व्यवसायीले पालिकाको कारण अस्पताल बनाउन नसकिएको बताउँदै आएको छ । यता ताराखोला गाउँपालिकाले निर्माण व्यवसायीका कारण काम नभएको बताएको बताएको छ । अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न निर्माण व्यवसायीको तर्फबाट हालसम्म रू. ५० लाख खर्च भइसकेको ठेकेदार कम्पनीको दाबी छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)