ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेनिटरी प्याड पाएपछि छात्रा खुशी भन्छन्– नियमित विद्यालय आउँछौं

२०७९ फागुन, १०  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

देउखुरी । घोराही–२ मा रहेको मावि रामपुरमा कक्षा १० मा अध्ययनरत शर्मिला चौधरीले घोराही उपमहानगरपालिकाले वितरण गरेको सेनिटरी प्याड प्राप्त गरेपछि खुशी हुँदै भनिन्, ‘अब नियमित विद्यालय आउँछु, महीनावारी भएको समयमा प्याड नहुँदा विद्यालय छोड्ने गरेकी थिएँ, अब छोड्दिन ।’

सरकारले नि:शुल्क उपलब्ध गराउने सेनिटरी प्याड खरीद गरी घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई लक्षित गरी वितरण शुरू गरेपछि किशोरीहरू खुशी भएका हुन् ।

घोराही–१७ मावि चौघेरामा कक्षा ८ मा अध्ययनरत रुपा वली महीनामा चार दिन विद्यालय आउन्नथिन् । ‘अब सधैं विद्यालय आउँछु, विद्यालयमा प्याड पाइने भएपछि पढाइप्रति चासो बढेको छ,’ उनले भनिन्, ‘हाम्रा लागि यति राम्रो कार्यक्रम आयो । अब त एक दिन नबिराई विद्यालय आउँछु ।’ किशोरीहरूको प्रजनन स्वास्थ्य तथा नियमित कक्षामा उपस्थितिका लागि सरकारले अघि सारेको कार्यक्रमलाई स्थानीय पालिकाले कार्यान्वयन गर्दै आएका छन् । विगतमा विद्यालयले नै प्याड खरीद गरेर पालिकाबाट रकम माग गर्दै आएकोमा यस वर्षदेखि पालिकाले नै प्याड खरीद गरेर विद्यालयलाई उपलब्ध गराउन थालेको सामाजिक विकास महाशाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार यो वर्ष पहिलो पटक २६ मावि, १४ आधारभूत विद्यालय, ११ प्रावि गरी ५१ सामुदायिक विद्यालयका १२ हजार किशोरीलाई पालिकाले नै खरीद गरी सेनिटरी प्याड वितरण शुरू गरिएको छ ।

सोमवार रामपुर केन्द्र बनाएर १५ ओटा विद्यालयमा सेनिटरी प्याड वितरण गरिएको छ । घोराही उपमहानगरभित्रका ९४ विद्यालयमध्ये पहिलो चरणमा ५१ विद्यालयमा वितरण गरिएको उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाले जनाएको छ । बाँकी सामुदायिक विद्यालयमा तल्लो तहका कक्षा सञ्चालन हुने हुँदा सेनिटरी प्याड आवश्यक नरहेको महाशाखाले जनाएको छ । विगतमा विद्यालयलाई विद्यार्थी संख्या गनेर प्याडको रकम दिने गरेको थियो ।

सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका छात्रालाई नि:शुल्क प्याड वितरण गर्ने कार्यक्रम समावेश गरेर किशोरीको प्रजनन स्वास्थ्यमा लगानी थालनी गरेको सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिए ।

चलू आर्थिक वर्षका लागि संघीय सरकारबाट सशर्त विनियोजन भएको ८६ लाख ३९ हजार रुपैयाँ बजेटमध्ये हाललाई पालिकाले नै ८ लाख ४० हजार बराबरको सेनिटरी प्याड खरीद गरी पहिलो महीनाका लागि वितरण शुरू गरेको छ ।  रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)