सर्लाही । जिल्लाको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष (आव)को सात महीनामा एक अर्बभन्दा बढीको तरकारी निकासी गरेको छ ।
लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट रू. १ अर्ब ६६ लाख ६३ हजार ३५० रकम आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए ।
उनका अनुसार आव २०७९÷०८० को साउनमा रू. २० करोड २ लाख, भदौमा रू. १८ करोड ८५ लाख ५२ हजार, असोजमा रू. २७ करोड ८० लाख ८३ हजार, कात्तिकमा रू. ९ करोड ६३ लाख ७८ हजार, मङ्सिरमा रू. ७ करोड १० लाख ६८ हजार, पुसमा रू. १७ करोड १५ लाख ८८ हजार र माघमा रू. २० करोड ९४ लाख ३७ हजार हाराहारी रकम सङ्कलन भएको छ ।
जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेंडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने समितिले जनाएको छ । समितिका अध्यक्ष तोरणबहादुर मगरका अनुसार सिन्धुली, रामेछाप, काठमाडौं, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौंडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुन्छ ।
लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फूलकोभी, बन्दा कोभी, घिरौंला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाँजर, भिन्डी, परबल, रुख कटहर, फर्सी, धनियाँको पात, कागती, मटरकोसा, प्याज र भेंडेखुर्सानी लगायतका तरकारी निकासी हुन्छ ।
त्यस्तै, सङ्घीय सरकार मातहत रहेको थोक तरकारी बजारको ६ कोठे भवन निर्माणका लागि शिलान्यास गरिएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकीकरण प्रवद्र्धन केन्द्रको रू. ५० लाख ७७ हजारमा सो भवन निर्माण हुनेछ ।
चालू आवको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी समितिले नै भवन निर्माणको काम थालेको अध्यक्ष मगरले जानकारी दिए । लालबन्दी बजारसहित सङ्घ सरकार मातहत ११ ओटा बजार छन् । रासस