जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले आफ्नो एकमहीने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । शुक्रवार मन्त्रालयका उपलब्धि सार्वजनिक गर्दै मन्त्री कुशवाहाले मन्त्रालयका अधिकांश योजना वितरणमुखी रहेकाले यस्ता योजना कार्यान्वयनमा नल्याइने बताएका छन् ।
वितरणमुखी योजनाको विकल्पबारे आफूले अध्ययन गरिरहेको उनले बताए । हाल मन्त्रालयका ५० प्रतिशतभन्दा बढी योजना वितरणमुखी रहेको उनले जानकारी दिए । सञ्चालनमा रहेका यस्ता आयोजनालाई विकासमुखी बनाइने उनले बताए ।
यसैगरी मधेश प्रदेशका किसानका लागि कम्तीमा ३ लाख मेट्रिक टन रासायनिक मलको आवश्यक रहे पनि १ लाख मेट्रिक टन मात्र पाइरहेको उनले बताए । आगामी आर्थिक वर्षदेखि प्रदेशका किसानलाई अढाई लाख मेट्रिक टन रासायनिक मल उपलब्ध गराउन मन्त्रालयले पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । अपुग मलको व्यवस्थापन प्रदेश सरकारकै बजेटबाट गरिने उनको भनाइ छ । प्रदेश सरकारले जैविक मलका लागि समेत अध्ययन गरिरहेको उनले बताए ।