वीरगञ्ज । आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ । आगामी वर्षको धानखेतीको सिजनका लागि पुग्ने मलको मौज्दात नहुँदा पनि सरकारले खरिद प्रक्रिया अघि नबढाएकाे कृषि सामग्री कम्पनी लिमिटेडकै अधिकारी बताउँछन् ।
मलखाद खरिदको प्रक्रिया लामो र धेरै समय लाग्ने भएकाले तत्काल मल खरिदका लागि बोलपत्र प्रक्रिया शुरु नगरिए आगामी असार, साउन र भदौमा मलखादको अभाव हुने कृषि सामग्री कम्पनी लिमिटेड, मधेश प्रदेश प्रादेशिक कार्यालय, वीरगञ्जले जनाएको छ । कम्पनीलाई चालू आर्थिक वर्ष २०७९/८० को सात महिनामा १ लाख ३० मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ ।
चालू आवको साउनदेखि माघसम्ममा ९० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डिएपी मल प्राप्त भएको कार्यालयका प्रमुख चन्द्रप्रसाद चम्लागाईंले जानकारी दिए । ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल आउने क्रममा रहेको र केही दिनभित्रै आइपुग्ने उनको भनाइ छ ।
यसबाहेक थप २०–२० हजार युरिया र डिएपी खरिदका लागि बोलपत्र स्वीकृत गर्ने प्रक्रियामा रहेको र सो बोलपत्र स्वीकृत भएर मल आए पनि मलको माग अत्यधिक रहेकाले त्यो २०८० जेठसम्म मात्र धान्न सकिने प्रमुख चम्लागाईंले बताए ।
‘अहिलेसम्म युरिया र डिएपी गरी १ लाख ३० हजार मेट्रिक टन मल आइसक्यो । ५० हजार मेट्रिक टन मल आउने क्रममा छ । र, ४० हजार मेट्रिक टन मल बोलपत्र स्वीकृत प्रक्रियामा छ,’ उनले भने, ‘हामीकहाँ आइसकेको, आउने क्रममा रहेको र बोलपत्र खरिद प्रक्रियामा रहेको मल सबै आयो भने पनि त्यो जेठसम्म मात्रै पुग्ने देखिन्छ ।’
थप मलका लागि अहिले नै प्रक्रिया शुरु नगरिए धानखेतीको समयमा मलको अभाव हुनसक्ने प्रमुख चम्लागाईंको भनाइ छ । ‘धानखेतीको मुख्य सिजन असार, साउन र भदौमा रासायनिक मलको माग अत्यधिक हुन्छ, त्यो बेलासम्म अहिले प्राप्त भएको वा आउन लागेको मलले पुग्ने देखिँदैन, त्यसैले धानखेतीको समयमा चाहिने आवश्यक मल खरिदका लागि अहिले नै प्रक्रिया शुरु गर्नुपर्छ,’ उनले भने ।
मल खरिदको बोलपत्र प्रक्रिया लामो हुने भएकाले समयमै शुरु नगरिए समयमा मल नआउने र धानखेतीको समयमा मलको हाहाकार हुनसक्ने प्रमुख चम्लागाईंको कथन छ । जिटुजीमार्फत खरिद भएको रासायनिक मल प्राप्त भएलगत्तै जिल्ला जिल्लामा मल पठाउन थालिएको सो कार्यालयले जनाएको छ ।
रासायनिक मलको अभाव हुन नदिन मल प्राप्त भएबाट मलखाद बाँडफाँट भएअनुसार जिल्ला जिल्लामा मल पठाउँदै आएको प्रमुख चम्लागाईंले बताए । चालू आव २०७९/८० मा आएको मलमध्ये मधेश प्रदेशको आठ ओटा जिल्लामा युरिया, डिएपी र पोटास गरी ४२ हजार १२२ मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ ।
सो कार्यालयका अनुसार पर्सामा युरिया ३ हजार ४५० मेट्रिक टन, डिएपी २ हजार ६० मेट्रिक टन र पोटास ४०० मेट्रिक टन र बारामा युरिया ३ हजार ४८६ मेट्रिक टन, डिएपी १ हजार ७३२ मेट्रिक टन र पोटास १८५ मेट्रिक टन मल वितरण गरिएको छ ।
यस्तै धनुषामा युरिया ४ हजार ९५५ मेट्रिक टन, डिएपी २ हजार ३०५ मेट्रिक टन र पोटास २२२ मेट्रिक टन, महोत्तरीमा युरिया २ हजार ३२३ मेट्रिक टन, डिएपी १ हजार ३२१ मेट्रिक टन र पोटास १७४ मेट्रिक टन, सर्लाहीमा युरिया ४ हजार १३६ मेट्रिक टन, डिएपी १ हजार ९२९ मेट्रिक टन र पोटास २३५ मेट्रिक टन तथा रौतहटमा युरिया ३ हजार ४५ मेट्रिक टन, डिएपी १ हजार ४४१ मेट्रिक टन र पोटास १६५ मेट्रिक टन मल वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिए ।
सो अवधिमा सिरहामा युरिया १ हजार ७५० मेट्रिक टन, डिएपी १ हजार ७४४ मेट्रिक टन र पोटास २८५ मेट्रिक टन र सप्तरीमा युरिया १ हजार ७०५ मेट्रिक टन, डिएपी १ हजार ४० मेट्रिक टन र पोटास ३४ मेट्रिक टन वितरण गरिएको प्रमुख चम्लागाईंको भनाइ छ ।
मुलुकभर करिब सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता रहे पनि हाल मागको करिब ५० प्रतिशत पनि आपूर्ति हुन नसक्दा बर्सेनि मलको हाहाकार हुने गरेको उनले बताए । मागबमोजिम आपूर्ति नभए पनि अघिल्लो आव २०७८/७९ को तुलनामा चालू आव २०७९/८० मा बढी मल आएको जनाएको छ ।
अघिल्लो आव २०७८/७९ मा युरिया ६० मेट्रिक टन र डिएपी ४० मेट्रिक टन मलमात्र आएको थियो । उनका अनुसार मधेश प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मधेश प्रदेशमा वर्षभरिका लागि ४ लाख ६३ हजार मल चाहिने भन्दै पत्र पठाएको छ । ‘यसरी हेर्दा अहिले आइरहेको मल मधेश प्रदेशकै लागि पनि अपुग हुने देखिन्छ,’ प्रमुख चम्लागाईंले भने, ‘यस्तो स्थितिमा कसरी मल पुर्याउन सकिन्छ, सम्भव नै देखिँदैन । त्यसैले बर्सेनि मलको अभाव हुने गरेको छ ।’
सो कार्यालयले मधेश प्रदेशको आठ ओटै जिल्ला, बागमती प्रदेशको १० जिल्ला र गण्डकी प्रदेशको तनहुँ, लमजुङ, गोरखा, कास्की, पर्वतलगायतका जिल्लामा रासायनिक मल पठाउँदै आएको छ । बर्सेनि डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलखादको समस्या हुने गरेको नेपाल कृषक महासङ्घ मधेश प्रदेशका अध्यक्ष मुक्ति यादवले बताए ।
मागअनुसार मलको आपूर्ति नहुँदा बर्सेनि किसान मलका लागि डिलरहरू चहार्ने गरे पनि सहजरूपमा मल पाउने अवस्था नरहेको उनको भनाइ छ । रासस