वीरगन्ज । वीरगन्ज महानगरपालिका–९ स्थित पानगल्लीमा रहेका अधिकांश किराना तथा खाद्यान्न पसलमा म्याद नाघेका खाद्य सामग्री रहेको पाइएको छ । होली पर्वका अवसरमा महानगरपालिकाले गरेको बजार अनुगमनमा यस्तो भेटिएको हो ।
किराना तथा खाद्यान्न पसलमा अनुगमनका क्रममा फेला परेका त्यस्ता सामग्री बरामद गरी नष्ट गरिएको महानगरपालिकाले जनाएको छ । सरोकारवाला निकायसँग समन्वय गरी महानगरपालिकाले बजार अनुगमन थालेको थियो ।
अनुगमनका क्रममा म्याद नाघेको पिठो, बिस्कुट, खानेतेललगायत सामान नष्ट गरिएको महानगरपालिकाका खाद्य अधिकृत विपीनलाल दासले जानकारी दिए ।
पानगल्लीस्थित सुमित्रा ट्रेडर्स एण्ड सप्लायर्स, श्री श्याम ट्रेडर्स, बालाजी ट्रेडर्स, सिद्धिदाता ट्रेडर्स, वर्णबाल जेनरल सप्लायर्स, गहवामाई सप्लायर्स र श्री गढीमाई स्टोर्समा अनुगमन गर्ने क्रममा धेरैजसो पसलमा व्यवसाय अनुमतिपत्र नलिई सञ्चालन गरेको, मूल्यसूची नराखेको, पसलको बोर्ड नराखिएको, म्याद गुज्रेको सामान, लिकेज ब्रेकेज सामान राख्ने ठाउँ नराखिएको पाइएको खाद्य अधिकृत दासले बताए । रासस