ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मिथिलामा शुरु भयो होलीको रौनक, 'जोगिरा'को धुन गुञ्जिँदै

२०७९ फागुन, १८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

जनकपुरधाम । ‘जोगिरा सररर, जोगिरा सररर...।’ ‘मिथिलामे राम खेलैया होली, मिथिलामे । मिथिलामे हो, मिथिलामे हो, मिथिलामे ।’ 

‘सीताजीके सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोली । हो मिथिलामे, मिथिलामे राम खेलैय होली, मिथिलामे ।’ 

‘रङ्ग बरसे भिगे चुनरबाली रङ्ग बरसे, हो रङ्ग बरसे भिगे चुनरवाली रङ्ग बरसे ।’ 

यी माथि उल्लिखित लोकभाका (जोगिरा)हरू तराई–मधेशमा होली आगमनको लोकभाका हो । होली पर्वको एक साता मात्रै बाँकी रहँदा तराई–मधेशमा अहिले साँझ पर्नेबित्तिकै गाउँ गाउँमा डम्फु, झ्याली, ढोल, तासा र मृदङ्गलगायतका बाजाहरू बज्न थालेका छन् भने जोगिरा (होली गीत)का धुनहरू सुनिन थालेका छन् । 

होली पर्वको उत्साह र उमङ्गले उमेरको समेत पर्वाह नगर्दै जलेश्वर नगरपालिका–८ बजराही गाउँ बस्ने ७५ वर्षीय रामबाबु चौधरी दुई÷तीन दिनदेखि साँझ पर्ने वित्तिकै गाउँको उत्तरबारी टोलबाट हातमा डम्फु र झ्याली समातेर गाउँको चौकमा पुग्ने गर्छन् । त्यसैगरी गाउँको पछियारी टोलबाट ७० वर्षीय अरूण पाण्डे, पूर्वारी टोलबाट ६० वर्षीय रामदेव महरा र दक्षिणबारी टोलबाट ५५ वर्षीय पवित्तर साहसहित थुप्रै व्यक्तिहरू आ–आफ्ना घर टोलबाट आएर चोकमा जम्मा हुने गर्छन् । 

उमेरले पाका र कतिपयले राम्ररी हिँडडुल गर्न नसक्ने भए पनि उनीहरू गाउँको चारैदिशाबाट गाउँको बीच चोकमा कुनै सभा, सम्मेलन, बैठक, बहस वा छलफल गर्नका लागि जम्मा हुँदैनन् । बरु आपसी भाइचारा, प्रेम, सद्भाव, सुखदुःख साटासाट गर्न र पुस्तौँदेखि चल्दै आइरहेको जोगिराको संरक्षण र प्रवद्र्धनका लागि छलफलमा जुट्ने गरेका छन् ।  

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथको मन्दिरदेखि मात्रै ५०० मिटरको दूरीमा उत्तरपट्टि रहेको सानो गाउँ बजराहीमा साँझ पर्नासाथ मनलाई मुग्ध बनाउने जोगिरा (होलीका गीत) सुनिन थालेको छ । होलैयाहरू (जोगिरा गाउनेहरू) एकै स्वरमा लय हालेर सबैले गाएको जोगिरा सुन्दा बजराही गाउँको टोलटोलमा आ–आफ्ना घर आँगनमा बसिरहेका जो कोही पनि प्रसन्न एवं खुसी हुने गर्छन् । 

साँझ ७ बज्न नपाउँदै होलैयाहरूले हातहातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्याली लगायतका बाजाहरू लिएर विभिन्न धुन र सङ्गीतमा झुम्मिन थाल्छन् र राति ११÷१२ बजेसम्म जोगिरा निरन्तर रूपमा चलिरहन्छ । 

विभिन्न प्रकारका गीत, चुट्किला, हाँसो ठट्टा र जिस्काउने तीतामीठा वाक्य र शब्दहरूलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेको भीड लाग्ने गर्दछ भने जोगिराको क्रममा हुने नाचगानमा समेत ठूलो संख्यामा सहभागी हुने गरेकोे होलैया (जोगिरा गाउने) बौएलाल महराले बताए । 

पौराणिक कालदेखि नै जलेश्वर नगरपालिका–८, बजराही गाउँका जोगिरा टोली निकै चर्चित र नाम चलेको छ । यहाँको जोगिरा टोलीमा हिन्दू र मुस्लिम दुवै समुदायको सहभागिता हुँदा आपसी सद्भाव झन बढेको स्थानीय ७५ वर्षीय भुट्टा साहको भनाइ छ । 

अन्य गाउँ ठाउँमा हिन्दूको पर्वमा मुस्लिम सहभागी नहुने र मुस्लिमको पर्वलाई हिन्दूले चासो नलिने सामान्य मान्यता रहेको बीच महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–८, बजराही गाउँमा यस कुरालाई स्थानीय दुवै समुदायका युवा तथा बुद्धिजीवी अगुवाहरूले पछौटेपन तथा विकासका अवरोध भन्दै यस सामाजिक विभेदलाई चिरेर अगाडि बढेको अवस्था छ । 

अहिले प्रत्येक दिन साँझ जोगिराको धुनमा दुवै समुदायका युवाहरू एकैसाथ गाउँदा, नाच्दा र एकैसाथ हाँसो ठट्टा गर्दा वास्तवमै यस गाउँमा कुनै विशेष जात, धर्म वा वर्गको अधिपत्य वा भेदभाव नभएर अनेकतामा एकता रहेको दर्शाउँछ । यस गाउँमा वर्षाैंदेखि यहाँका मुस्लिमहरू हिन्दूको पर्वमा र हिन्दूहरू मुस्लिमको चाड पर्वमा एकसाथ उभिएर चाडपर्व मनाउनुका साथै आपसमा खुसी साटासाट गर्दै आएका छन् । 

वडा नं ७ अनकार गाउँमा पनि बर्सेनि सर्वसाधारण स्थानीय बासिन्दासहित जनप्रतिनिधि पनि जोगिरामा उत्साहजनक रूपमा सहभागी हुने गरेको स्थानीयवासी शङ्कर कापर बताउँछन् । वडा नं ७ का वडाअध्यक्ष रामछविला यादवका अनुसार होलीको अवसर पारेर जोगिरा गाउनकै लागि युवाहरू परदेशबाट गाउँ फर्किएका छन् । 
नेपाल तथा भारत समेतको सम्पूर्ण मिथिलाञ्चलवासीलाई मनपर्ने जोगिरा महोत्तरीको जलेश्वर नगरपालिकामा मात्रै सीमित नभएर जिल्लाको पिपरा गाउँपालिका–७, बनौली गाउँमा पनि धुमधामका साथ मनाउने गरिएको पूर्ववडाअध्यक्ष रुपेश झाले बताए । 

स्थानीय ६५ वर्षीय बैद्यनाथ चौधरी गाउँका सबै उमेर समूहका मानिस एउटै मञ्चमा बसेर जोगिरा गाउने, हाँस्ने, हसाउने, कथा, कहानी र जीवनका अनुभवहरू साटासाट गर्दै देवीदेवताप्रति भक्तिभाव, ठूलालाई आदर सत्कार र सानालाई स्नेह बाँड्ने प्रचलन रहेको बताउँछन् । 

कवि कोकिल विद्यापतिको जन्मथलोसमेत रहेको सो गाउँमा दुई÷तीन दिनदेखि रातिको बेला होलैयाहरूको भीडले मेला जस्तै लाग्ने तथा उनीहरूले गाउने गीतले गाउँ नै गुञ्जायमान हुने गर्छ । वडा नं ९ बथनाहा गाउँ पनि यतिबेला जोगिरामा रङ्गिएको छ । स्थानीय राजनीतिकर्मी चन्दन दुबेका अनुसार साँझ पर्न नपाउँदै होलैयाहरुले ढोल बजाउन, झ्याली पिट्न, हार्मोनियम बजाउन र गीत गाउन शुरु गरेपछि राति अबेरसम्म गाउँमा खुसीयालीपूर्व रमाइलो गर्छन् । 

प्रत्येक वर्षझैं यस वर्ष पनि होली पर्वको आगमनसँगै महोत्तरीको गाउँ–गाउँमा ‘जोगिरा’ (एक प्रकारको गीत) गाउन शुरु भएको छ । १० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको प्रत्येक गाउँ टोलमा फागुनको १२÷१३ गतेदेखि नै प्रत्येक रातिको बेला ढोल, तासटा, मृदंग, डम्फु, झ्याली लयायतका बाजागाजाका साथ जोगिरा गाउन शुरु भएको विभिन्न पालिकाबाट स्थानीयवासीले बताएका छन् । 

‘फागुन आयो, होली ल्यायो’
‘मारो भरभर कर पिचकारी’ 
‘होली आयो, मस्ती छायो’
‘मारो भरभर कर पिचकारी’
‘जोगिरा सररर, जोगिरा सररर...।’ 
‘कई हातका धोती पहना, कई हात लपेटा’
‘कई घाटका पानी पिया, कई बापका बेटा’
‘जोगिरा सररर, जोगिरा सररर...।’ 

यस्ता सयौं लोकभाका, गीत, चुटकिला, हाँसो ठट्टा र दुःख बिर्साएर खुसी साटासाट गर्ने महापर्वको रूपमा होली मनाउने गरिन्छ । महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारादेखि र भारतका मधुबनी र दरभङ्गासहित सम्पूर्ण मिथिलाञ्चलमा जोगिरा पर्व मनाउने गरिन्छ । 
जोगिराको धुन र लयले गाउँगाउँलाई सङ्गीतमय पारेको बेला जोगिरा गाउनकै लागि अहिले रातको बेला युवा तथा वयोवृद्धलाई घरघरबाट तानेर ल्याई राति अबेरसम्म जाग्राम गराउने तथा जोगिराहरू गाउन लगाउने गरिएकोे जलेश्वर नगरपालिका–६ का बासिन्दा प्रवीण साहले बताए । 

उनले होलैयाहरूले जोगिराले एक आपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफूहरू रातिको बेला गाउँको चोकचोकमा ठूला संख्यामा भेला भएर जोगिरा गाउने, सुन्ने र सहभागीसमेत हुने गरेको बताए । प्रायः होली पर्वभन्दा १५ दिनपहिले शुरु हुने जोगिरा गायन मिथिलाञ्चलको प्रत्येक गाउँगाउँमा भइसकेको उनले बताए । जोगिरा गायन होली पर्वको एक दिन पहिलेको रातिसम्म गाइने प्रचलन छ ।

जोगिरा मिथिलाञ्चलसहित सम्पूर्ण देशकै धरोहर एवं सम्पत्ति भएकाले यसको संरक्षणमा स्थानीय जनप्रतिनिधि र प्रशासनले विशेष ध्यान दिनु जरुरी रहेको बताउँछन् जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार । 

जोगिराले परम्परा झल्काउने, सदभाव बढाउने र जोगिरा समेतलाई संरक्षण गर्नुपर्नेमा कतिपय भोजपुरी भड्किलो गीत, डिजे बाजाको चर्काे आवाज र मदिरा सेवनकर्ताहरूले हो–हल्ला गर्ने प्रवृत्ति बढेकामा भने उनी चिन्ता व्यक्त गर्छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)