ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनी मिललाई उखुको अभाव

२०७९ फागुन, २१  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

रौतहट । रौतहटको कटहरियामा रहेको बाबा बैजनाथ चिनी मिलले क्षमता अनुसार उखु क्रसिङ गर्न सकेको छैन । जिल्लामा उखु उत्पादन घटेपछि केही वर्षयता चिनी मिललाई उखु अभाव हुन थालेको हो । दैनिक २० हजार क्विन्टल क्रसिङ क्षमता भएको मिलले अहिले ७ हजार क्विन्टलभन्दा कम मात्र क्रसिङ गर्दै आएको छ । उखुको अभावले मिल बन्द हुने अवस्थामा पुगेको चिनी मिलका सञ्चालक बैजु बाबराले बताए ।

मिलले गतवर्ष पनि ६ लाख क्विन्टल मात्र उखु क्रसिङ गरेको थियो । उखु अभावले पूर्ण क्षमतामा सञ्चालन नहुँदा मिल घाटामा गएको उनको भनाइ छ । केही मिलले भुक्तानी नियमित नगर्दा केही वर्षदेखि किसानले उखुखेती कम गर्दै गएका छन् ।

मिल सञ्चालक बाबराले बैजनाथ मिलको भुक्तानीमा कुनै समस्या नरहेको बताए । ‘हामीले उखु किसानलाई घर खेतमै पुगेर चलानी, भुक्तानी, मूल्यलगायत सबै सुविधा दिएर उत्साहित बनाउने काम गर्दै आएका छौं, तर पनि उत्पादन घट्दै गएको छ,’ उनले भने, ‘बारा र सर्लाहीका किसानले पनि हाम्रोमा उखु ल्याउन थालेका थिए, तर पछिल्लो समय ती जिल्लाबाट उखु खरीद गर्न रोक लगाएपछि झनै अभाव भएको छ ।’

मिलले किसानको खेतमै पुगेर बीउ, मलखाद र भुक्तानीमा सहयोग गर्दै आएको उनको भनाइ छ । त्यसका अतिरिक्त मिलले किसानलाई उखु स्याहार्ने मेशिन (केन हार्भेस्टर)समेत सहयोग गरेको छ । कुनै बेला २० लाख क्विन्टलभन्दा बढी उखु उत्पादन हुने जिल्लामा अहिले मुश्किलले १० देखि १२ लाख क्विन्टल मात्र उत्पादन हुने गरेको उखु उत्पादक संघ रौतहटले बताएको छ । सामान्य अवस्थामा चैत अन्तिमसम्म सञ्चालन हुने मिल पर्याप्त उखु नभएपछि अगाडि नै बन्द गर्ने अवस्थामा पुगेको सञ्चालक बाबराले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)