तुलसीपुर । दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारको ठेक्का रद्द प्रक्रिया अघि बढेको छ । चार लेन सडक निर्माण परियोजना कार्यालय लमहीले सोमवार सूचना प्रकाशित गरी ठेक्का रद्द गर्न १४ दिने सूचना जारी गरेको हो । ठेक्का रद्द गर्नु नपर्ने कारणसहित सम्बन्धित ठेकेदार कम्पनीलाई १४ दिनभित्र सम्पर्क गर्न सूचना जारी गरिएको छ । परियोजना प्रमुख अनिश थापामगरका अनुसार त्यो अवधिमा ठेकेदार कम्पनी सम्पर्कमा नआए ठेक्का रद्द हुनेछ । चार लेन सडक विस्तार ठेक्काको म्याद चार पटकसम्म म्याद थप गरिएको थियो । त्यो अवधि २०८० असारसम्म थियो । तर, सो अवधिसम्ममा ठेकेदार कम्पनीले काम गर्न सक्ने सम्भावना कम रहेकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको हो । चार लेनको ठेक्का भारतीय कम्पनी तथ्य इन्जिनीयरिङ एन्ड इन्फ्राले लिएको छ । कम्पनीले पेटी ठेकेदारमार्फत काम गर्दै आएको थियो ।
कम्पनीले आठजना पेटी ठेकेदारलाई काम दिएको भए पनि निर्माण शुरू भएको पाँच वर्षसम्ममा १० प्रतिशतभन्दा बढी प्रगति हुन सकेको छैन । काम तीव्र बनाउन यस क्षेत्रका जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा सरोकारवालाले दबाब दिएका थिए । तर पनि कम्पनीले सन्तोषजनक काम नगरेपछि ठेक्का तोड्न लागिएको परियोजनाले बताएको छ ।
ठेकेदार कम्पनीलाई तोकिएको अवधिमा काम सक्नेगरी लिखित कार्यतालिका र प्रतिबद्धता पेश गर्न परियोजना कार्यालयले पटक पटक सूचना जारी गरेको थियो । त्यसबीचमा ठेकेदार कम्पनीले लिखित र मौखिक प्रतिबद्धता व्यक्त गरे पनि काम हुन नसकेको परियोजना प्रमुख थापामगरले बताए । चार लेन सडक अलपत्र हुँदा अहिले नागरिकले सास्ती खेप्नुपरेको छ । रासस