जनकपुरधाम । मधेश प्रदेशमा गत साउनयता प्रहरीले ६६ लाख ७२ हजार ५०० रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ । सोही अवधिमा २ हजार २०० रुपैयाँ भारतीय नक्कली नोट समेत बरामद भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले बताएको छ । नक्कली नोट कारोबारमा संलग्न २७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको प्रदेश प्रहरीले जानकारी दिएको छ । धनुषाबाहेक मधेशका सात जिल्लामा नक्कली नोट कारोबार गर्नेविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले बताएको छ । नक्कली नोट कारोबार अभियोगमा प्रहरीले ४० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ जना पुरुष र दुईजना महिला रहेका छन् । ती सबै नेपाली नागरिक रहेको प्रहरीको भनाइ छ । त्यस्तै नक्कली नोट कारोबार अभियोगमा प्रहरीले आठजना विदेशी नागरिकलाई समेत पक्राउ गरेको छ ।