रौतहट । नेपाल विद्युत् प्राधिकरण चन्द्रपुर शाखालाई रौतहटका पाँच स्थानीय तहले सडक बत्तीको महशुल करीब ७ करोड ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको पाइएको छ । जिल्लाका चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा र फतुवा विजयपुर नगरपालिकाले सडक बत्ती बालेबापतको सो महशुल बक्यौता रहेको छ । ती पालिकाले महशुल बुझाउन चासो नदिएको प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताए ।
नेपाल विद्युत् प्राधिकरणले देशभरका स्थानीय तहलाई सडक बत्तीको बक्यौता महशुल तिर्न सूचना जारी गरेको छ । सोअनुसार पालिकालाई परिपत्र समेत गरिएको यादवले जानकारी दिए । उनका अनुसार चन्द्रपुर नगरपालिकाले १ करोड ९१ लाख ५५ हजार ७६ रुपैयाँ बक्यौता महशुल बुझाउनुपर्नेछ । त्यस्तै गुजरा नगरपालिकाको १ करोड ८७ लाख २३ हजार, वृन्दावन नगरपालिकाको १ करोड ३० लाख २९ हजार, गरुडा नगरपालिकाको ७१ लाख २२ हजार र फतुवा विजयपुर नगरपालिकाको ८ लाख १५ हजार ९५८ रुपैयाँ बक्यौता छ ।
स्थानीय निकायले विद्युत् प्राधिकरणको सहमति नलिई आफूखुशी सडक बत्ती जडान गर्ने र सडक बत्तीको विद्युत् खपतको महशुल समयमा भुक्तानी नगर्ने प्रवृत्तिले प्राधिकरणले नोक्सानी बेहोर्नुपरेको नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाले बताएको छ । प्राधिकरणले सडक बत्तीमा मिटर जडान नगरेमा वा विद्युत् महशुल भुक्तानी नगरेमा प्रचलित नियमानुसार कारबाही हुने सूचनामा उल्लेख गरेको छ ।