महोत्तरी । जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा नदी, खोलाखोल्सी र सीमसार क्षेत्र खुम्चने र आवास क्षेत्र बढ्ने क्रममा देखिएको छ । बर्दिबास नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्बाट हालै सार्वजनिक जग्गा वर्गीकरण अभिलेखले यस्तो देखाएको हो ।
पछिल्लो सात वर्षमा नदी, खोल्साखोल्सी र सीमसार क्षेत्रको क्षेत्रफल ७३५ हेक्टर (१४ हजार ४४२ रोपनी) ले घटेको छ । २०७२ साल (सन् २०१७)मा ३ हजार ६६१ हेक्टर रहेको यस्तो क्षेत्र अहिले नक्साङ्कन गर्दा २ हजार ९२६ हेक्टरमा सीमित भएको हो ।
यसअघिको नदी, खोल्साखोल्सीमा बाँध, तटबन्ध बाँधिएर उकास भएको यो क्षेत्र अन्य उपयोगमा गएपछि घटेको नयाँ नक्साङ्कन गर्ने संस्था स्मार्ट सिटी विल्डर्स प्रालि, बाराका भू–विज्ञ मोहन राउतले बताए ।
नगरको यसपालिको भू–प्रकृतिका १० मापदण्डका आधारमा वर्गीकरण गर्ने गरी नगर कार्यपालिकाको कार्यालयले यो संस्थालाई जिम्मेवारी दिएको थियो । अहिले यसै संस्थाका विज्ञबाट गरिएको नक्साङ्न अनुसारको वर्गीकरण नै नगरपालिकाले पारित गर्दै सार्वजनिक गरेको हो ।
जिल्ला भएर बग्ने सबैजसो नदीको उद्गमस्थल बर्दिबास नगरक्षेत्रमै पर्छ । चुरे पर्वत श्रेणीबाट नदी, खोल्साखोल्सी निस्कने र सिन्धुली जिल्लासँग महोत्तरीको सीमा छुट्टिने सम्पूर्ण चुरे पहाड र यसका शृङ्खला यसै नगरक्षेत्रमा पर्छन् ।
यसै अवधिमा नगरको आवास क्षेत्र भने ह्वात्तै बढेको छ । सात वर्षअघि करिब ४७१ (४७० दशमलव ८२) हेक्टर मात्र आवास क्षेत्र रहेको यस नगरमा अहिले यो बढेर २ हजार ७०७ हेक्टर पुगेको छ । यो अवधिमा यहाँ २ हजार २३६ हेक्टर (४३ हजार ९३७ रोपनी) मा बस्ती विस्तार भएको छ ।
बढ्दो शहरीकरणले आवास क्षेत्र बढाएको वर्गीकरण नक्साङ्कनमा संलग्न अर्का विज्ञ (भू–विज्ञ, इञ्जिनियर) विष्णु महर्जनको भनाइ छ । २०७१ मङ्सिर १६ गते तत्कालीन बर्दिबास, किसाननगर, माइस्थान र गौरीबास गाविस समेटेर नगरपालिका घोषणा गरिएको बर्दिबास नगरपालिकामा २०७४ सालको निर्वाचनअघि पहिलेका हाथीलेट, विजलपुरा, पशुपतिनगर र खयरमारा गाविस पनि समेटिएका छन् । नगरमा १४ वडा छन् ।
भू–उपयोगको आधारमा वर्गिकृत नक्सा जारी गर्ने पनि बर्दिवास जिल्लाकै पहिलो स्थानीय तह बनेको जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लालकर्णले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी वन पनि बर्दिवास नगर क्षेत्रमै छ । यस नगर क्षेत्रमा अहिले १८ हजार ८७३ हेक्टर रहेको वर्गीकृत अभिलेखमा उल्लेख छ । सात वर्ष पहिलेको भन्दा वन क्षेत्र चार हेक्टर घटेको देखिएको नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए ।
त्यसैगरी कृषि उपयोगमा ५ हजार ४८३, व्यावसायिक क्षेत्रमा ८८४, सार्वजनिक उपयोगको क्षेत्रमा ६४९ खानी तथा खनिज क्षेत्रमा ११ हेक्टर (लगभग), सांस्कृतिक पुरातात्विक क्षेत्रमा ५ दशमलव ४९ हेक्टर र औद्योगिक क्षेत्रमा सबैभन्दा कम र्शून्य दशमलव १७ हेक्टर जग्गा वर्गीकरण गरिएको छ ।
अत्याधुनिक प्रविधिको प्रयोगबाट गरिएको वर्गीकरण वैज्ञानिक र वस्तुनिष्ठ रहेको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाले जग्गाको उपयोगका आधारमा नौ प्रकृति छुट्याएर वर्गीकरण गरेको छ । यो वर्गीकरणसँगै अब जग्गा किनबेच गर्दा, अंशवण्डा गर्दा स्थानीय नापी कार्यालयमा कित्ताकाट गर्ने बाटो खुलेको छ । रासस
यद्यपि कित्ताकाट गर्दा आवास क्षेत्रमा कम्तीमा ७ दशमलव ७५ धुर र कृषि क्षेत्रमा दुई कठ्ठाभन्दा कम नकाटिने वर्गीकरण अभिलेखमा स्पष्ट गरिएको छ ।
स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा/गर्न नभ्याउँदा लामो समयदेखि सर्वसाधारणको पारिवारिक अंशबण्डा र किनबेचमा कित्ताकाट रोकिएको थियो । यसले गर्दा कित्ताकाट बापतको सङ्कलन हुने राजस्व पनि प्रभावित थियो । रासस