महोत्तरी । जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा नदी, खोलाखोल्सी र सिमसार क्षेत्र खुम्चने र आवास क्षेत्र बढ्ने क्रम देखिएको छ । बर्दिबास नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्बाट हालै सार्वजनिक जग्गा वर्गीकरण अभिलेखले यस्तो देखाएको हो ।
पछिल्लो सात वर्षमा नदी, खोल्साखोल्सी र सिमसार क्षेत्रको क्षेत्रफल ७३५ हेक्टर (१४ हजार ४४२ रोपनी)ले घटेको छ । २०७२ सालमा ३ हजार ६६१ हेक्टर रहेको यस्तो क्षेत्र अहिले नक्सांकन गर्दा २ हजार ९२६ हेक्टरमा सीमित भएको हो । यसअघिको नदी, खोल्साखोल्सीमा बाँध, तटबन्ध बाँधिएर उकास भएको यो क्षेत्र अन्य उपयोगमा गएपछि घटेको नयाँ नक्सांकन गर्ने संस्था स्मार्ट सिटी बिल्डर्स प्रालि, बाराका भू–विज्ञ मोहन राउतले बताए ।
नगरको यसपालिको भू–प्रकृतिका १० मापदण्डका आधारमा वर्गीकरण गर्नेगरी नगर कार्यपालिकाको कार्यालयले यो संस्थालाई जिम्मेवारी दिएको थियो । अहिले यसै संस्थाका विज्ञबाट गरिएको नक्सांकन अनुसारको वर्गीकरण नै नगरपालिकाले पारित गर्दै सार्वजनिक गरेको हो । जिल्ला भएर बग्ने सबैजसो नदीको उद्गमस्थल बर्दिवास नगर क्षेत्रमै पर्छ ।
यसै अवधिमा नगरको आवास क्षेत्र भने ह्वात्तै बढेको छ । सात वर्षअघि करीब ४७१ हेक्टर मात्र आवास क्षेत्र रहेको यस नगरमा अहिले यो बढेर २ हजार ७०७ हेक्टर पुगेको छ । यो अवधिमा यहाँ २ हजार २३६ हेक्टरमा बस्ती विस्तार भएको छ । बढ्दो शहरीकरणले आवास क्षेत्र बढाएको वर्गीकरण नक्सांकनमा संलग्न अर्का विज्ञ (भू–विज्ञ, इञ्जिनियर) विष्णु महर्जनको भनाइ छ । २०७१ मङ्सिर १६ गते तत्कालीन बर्दिबास, किसाननगर, माइस्थान र गौरीवास गाविस समेटेर नगरपालिका घोषणा गरिएको बर्दिबासमा २०७४ सालको निर्वाचनअघि साविकका हाथीलेट, विजलपुरा, पशुपतिनगर र खयरमारा गाविस पनि समेटिएका छन् । नगरमा १४ वडा छन् । रासस