तुलसीपुर । अन्यत्र जग्गा नभेटेपछि खोलाले छाडेको जमीन सदुपयोग गरेर विद्यालय चलाउने आँट भयो, स्थानीय बासिन्दाको । यसैको जगमा तुलसीपुर उपमहानगरपालिका–५ पातुखोलामा ज्ञानज्योति आधारभूत विद्यालय शुरू भयो ।
विसं २०५८ मा चन्दा संकलन गरेर बनाइएको विद्यालयभवन हावाले उडाएर भत्काइदिए पनि त्यहाँका बासिन्दाले हिम्मत हारेनन् । पुनः विद्यालय भवन निर्माण गरेर कक्षा सञ्चालन गरे । भवन निर्माण भएपछि शुरूमा कक्षा ३ सम्म चलाए । विद्यालय चलाए पनि शिक्षकलाई तलब खुवाउने कुनै स्रोत थिएन । त्यसपछि गाउँका सबैले मुठी दान गरेर शिक्षकलाई तलब खुवाए । ‘मुठी दानमार्फत चामल संकलन गर्यौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भने, ‘दानबाट संकलन गरेको चामल बेचेर शिक्षकलाई तलब खुवाएका थियौं ।’
हाल त्यही विद्यालय तुलसीपुरका आधारभूत विद्यालयतर्फ नमुनाका रूपमा स्थापित छ । अहिले त्यस विद्यालयका ठूलाठूला भवनसँगै पढाइ पनि उत्तिकै राम्रो छ । त्यसैले पनि त्यो विद्यालय अहिले उपमहानगरपालिकाले नै आधारभूततर्फ उत्कृष्ट विद्यालयका रूपमा लिएको छ । नर्सरी, एलकेजीदेखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा प्रविधिमैत्री पढाइ पनि हुन्छ । नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाका माध्यमबाट पठनपाठन भइरहेको छ ।
विद्यालयमा अहिले ४५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ‘शुरूमा निकै चुनौती थियो, पहिले खोलो बग्थ्यो, त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौं,’ विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले भने, ‘अहिले ४५० विद्यार्थी अध्ययनरत छन् ।’ त्यहाँ सबै गरीब, दलित तथा पिछडिएका समुदायका बालबालिका पढ्छन् । पातुखोलाका बस्तीमा प्रायः गिट्टी कुटेर दैनिकी चलाउनेहरू बस्छन् । त्यहाँका विद्यार्थीलाई अन्य विद्यालयमा भर्ना गर्ने स्थिति पनि थिएन । त्यहाँ विद्यालयको आवश्यकता देखेपछि पहल लिएको अभिभावक निर्मल परियारले बताए । ‘नजिकै सेन्टर स्कूल थियो, त्यसमा भर्ना गर्नलाई ठूलो पावर लगाउनुपथ्र्यो,’ उनले भने, ‘पावर नपुगे भर्ना पाउने स्थिति नै रहँदैनथ्यो, त्यसैले पनि हामीले यहाँ विद्यालय स्थापना गरेका हौं ।’ उपमहानगरपालिकाले पनि आधारभूततर्फको उत्कृष्ट विद्यालय देखाउनुपर्दा त्यही विद्यालयलाई नै देखाउने गर्छ ।
अति विपन्न समुदायका विद्यार्थी पनि अध्ययन गर्ने र खोलाको किनारलाई पनि व्यवस्थित गरेर सञ्चालनमा ल्याएपछि आफूहरूले यो विद्यालयलाई सहयोग र प्रोत्साहन पनि गरिरहेको उपमहानगरपालिकाका विद्यालय निरीक्षक चक्र भण्डारीले बताए । ‘गिट्टी कुटेर जीवन निर्वाह गर्ने परिवारका छोराछोरीले अध्ययन गर्ने त्यो विद्यालयलाई नमुनाका रूपमा लिएका छौं,’ उनले भने, ‘त्यसपछि त्यहाँका संरचना पनि उत्तिकै राम्रा भएका छन् ।’
आधारभूत विद्यालयमा ४५० विद्यार्थी हुनु भनेको सरकारी विद्यालयका लागि सकारात्मक कुरा रहेको उनको भनाइ छ । अहिले त्यहाँ १० जना शिक्षक, चार जना बालविकास, एक जना निजी तथा एक जना परिचर कार्यरत छन् ।
नजिकै पढ्न पाउँदा विद्यार्थी पनि खुशी भएका छन् । त्यो विद्यालयमा अहिले आफूहरूले कक्षा ८ मा पढिरहेको र त्यसपछि बाहिर स्कूलमा जानुपर्ने अवस्था रहेको भन्दै यो अवस्था अन्त्य हुनुपर्ने विद्यार्थीको माग छ । ‘अहिलेसम्म हामीले यही विद्यालयमा पढ्यौं,’ विद्यार्थी लीला चलाउनेले भने, ‘अब कक्षा १० सम्म पढ्ने वातावरण भए हुन्थ्यो, अहिले नभए पनि हामी पछि आउने विद्यार्थीले कक्षा १० सम्म यहीँ पढ्न पाउन्, भन्ने चाहना छ ।’
सोही विद्यालयमा शुरूआतदेखि नै मेघराज घिमिरे कार्यरत छन् । उनीसहित तीन जना शिक्षक शुरूआतमा कार्यरत रहेको भए पनि पछि दुई जना शिक्षकले छोडेर गएपछि घिमिरेले सोही विद्यालय हाँकेका छन् । शुरूआतदेखि नै उनी विद्यालयको प्रधानाध्यापक हुन् ।
केही समय उनले निःशुल्क काम गरे । ‘शुरूमा हामीले तलब पनि दिन सकेनौं, छ महीनासम्म निःशुल्क पढाउनुभयो,’ अध्यक्ष विकले भने, ‘छ महीनापछि रू. १ हजार तलब तोकिदिएका हौं ।’ रासस