सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा तरकारी तथा फलफूल लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले शीत भण्डार निर्माण शुरू गरिएको छ । वडा नं २ बैरियामा निर्माण गरिएको सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक शीत भण्डारको शिलान्यासमा नगरप्रमुख आतेशकुमार सिंहले यसले किसानलाई आलु, प्याजलगायत तरकारी भण्डारणमा सहयोग पुग्ने बताए ।
नगरप्रमुख सिंहले उत्पादन गरिएका तरकारी तथा फलफूल शीत भण्डारमा लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले उत्पादनमा वृद्धि हुने तथा बजारीकरणको सम्भावना पनि बढ्ने बताए । केन्द्र सरकारको सम्पुरकोषको अनुदानमा नौ कठ्ठा जग्गामा निर्माण हुन लागेको हो । अत्याधुनिक प्रविधियुक्त बहुउद्देश्यीय शीत भण्डारको प्रथम चरणमा प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, सुरक्षा पर्खाल, पार्किङस्थल निर्माण गरिने नगरपालिकाका इञ्जिनीयर दिनेश ठाकुरले जानकारी दिए । विश्व वैभव कन्सन्टेन्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स भक्तपुरले रू. एक करोड २५ लाखमा निर्माण ठेक्का पाएको शीत भण्डार आगामी असारसम्ममा पूरा हुनेछ । रासस