जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । राणाकालमै निर्माण गरिएको यो कारागारमा २०० कैदीबन्दीको क्षमता रहे पनि हाल ५५० जना छन् । कारागारमा कैदीबन्दी बस्ने तीनओटा हल छन् । ती सबैमा कैदीबन्दीहरू कष्टकर रूपमा बस्ने गरेका छन् । यस्तै आफूहरूलाई सरकारले वार्षिक रूपमा दिने खर्च पनि अपुग भएको उनीहरूले बताएका छन् । कैदीबन्दीका लागि सिदा खर्चबापत सरकारले वार्षिक रू. ७० लाख २६ हजार उपलब्ध गराए पनि रू. १ करोड ६० लाख ६ हजार वार्षिक खर्च हुने अनुमान गरिएको लेखा अधिकृत टीकाराम ओलीको भनाइ छ ।
अपुग रकम माग गरिए पनि संघीय सरकारले नदिँदा खर्च व्यवस्थापनमा चुनौती भएको कारागार प्रशासनले बताएको छ । अहिले सामानको मूल्य उच्च रहेकाले आफूहरूलाई सरकारले दिने खर्च बढाउनुपर्ने माग कैदीबन्दीको छ । कारागारभित्र कैदीबन्दीले आय आर्जनका लागि मुढा बनाए पनि बजारको अभावमा विक्री हुन सकेको छैन । कारागार सुधार तथा अपुग रकमका लागि स्थानीयतह तथा दाताहरूलाई गुहार्नुपर्ने बाध्यता रहेको कारागार प्रशासनले बताएको छ ।