वीरगञ्ज । पर्साको ठोरी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सरोकारका पक्ष एकजुट भएका छन् । सोमवार होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले ठोरीमा आयोजना गरेको ‘ठोरीको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रियाका सहभागीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मधेश प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सुनिता यादवले भारतीय सिमानासँग जोडिएर रहेको ठोरी क्षेत्रमा पर्यटनको पर्याप्त सम्भावना रहेको भन्दै प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । ‘मधेशमा उद्योग, व्यापार र कृषिसँगै पर्यटनको पनि पर्याप्त सम्भावना छ,’ उनले भनिन्, ‘यो सम्भावनाको उपयोगका लागि प्रदेश सरकार सधैं तत्पर छ ।’
विगतमा मधेशको पर्यटन प्रवर्द्धनमा सन्तोषजनक काम हुन नसकेको भनाइ उनको थियो । मधेश सरकारले अब सरोकारका पक्षसँग सहकार्य गरेर अघि बढ्ने उनले स्पष्ट पारिन् । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रदेश सरकारले ठोरीको पर्यटकीय सम्भावना उपयोगमा सहयोग नगरेको गुनासो गरे । मधेश सरकारले विगतमा ठोरीको पर्यटन विकासका लागि १० करोड रुपैयाँ दिने आश्वासन दिएर निकासा भने नदिएको उनले बताए । सो रकम चालू आर्थिक वर्षमा उपलब्ध गराउन मन्त्रीसँग आग्रह पनि गरे ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले ठोरी क्षेत्र पर्यटकीय दृष्टिले निकै सम्भाव्य रहेको बताए । पर्यटन प्रवर्द्धन र यसको अवसर उपयोगमा निजीक्षेत्र सधैं तयार र सचेत रहेको उनले प्रस्ट पारे । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले पर्यटन प्रवर्द्धनका नाममा भ्रष्टाचार बढी भएको आरोप लगाए । अब पनि पर्यटनको बजेटमा भ्रष्टाचार भए त्यसको हिसाब खोज्न प्रदेश राजधानी जनकपुर नै पुग्ने चेतावनी अध्यक्ष पन्तले दिए । सो अवसरमा संघले मन्त्री यादव र वीरगञ्ज उद्योग वाणिज्य संघका नवनियुक्त पदाधिकारीलाई सम्मान समेत गरेको थियो ।