ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल स्टक एक्सचेन्जलाई निजीकरण गरी पूँजी बजारका समस्या हल भए अर्को चाहिँदैन : रोहन कार्की [अन्तरवार्ता]

२०८० असार, ८  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विगत ९ वर्षदेखि शेयर बजारमा लगानी गर्दै आएका रोहन कार्की पछिल्लो समय लगानीकर्ता महासंघ गठनका लागि कस्सिएका छन् । लगानीकर्ता महासंघ निर्माणका लागि बनेको समन्वय समितिको संयोजकसमेत हुन् उनी । उनीसँग शेयर बजारको अवस्था, महासंघ गठनमा खटिनुको कारणलगायत विषयमा आर्थिक अभियानकर्मी लक्ष्मी शर्माले गरेको कुराकानी । 

पूँजी बजारमा प्रवेश गरेदेखि आजसम्मको तपाईंको अनुभव कस्तो रह्यो । शेयर बजारको पछिल्लो अवस्थालाई कसरी नियाल्नुभएको छ ?

पहिलेको तुलनामा प्रविधिमा क्रमिकरूपमा विकास विस्तार हुँदैछ । अरु देशको तुलनामा त नेपालको शेयर बजार शुरुवाती चरणमै छ जस्तो लाग्छ । अन्य क्षेत्रभन्दा यसमा धेरै समय दिनुनपर्ने, काम गर्न सहज र अध्ययन गरेर लगानी गरे आम्दानीको राम्रो स्रोतको रूपमा पूँजीबजारलाई बुझेको छु । शेयर बजारमा जोखिम पनि उत्तिकै हुन्छ । समयमै निर्णय लिन नसक्दा प्राप्त भएको प्रतिफल गुमेको पनि छ । 

पछिल्लो समयको शेयरको अवस्थालाई हेर्ने हो भने शेयर बजार बटम लगाएर विस्तारै अप ट्रेण्ड समातेको अवस्था छ । तरलता सहज भएसँगै ब्याजदर घट्दो छ भने सिडी रेसियो पनि घट्दै गएको छ । अहिले बैकिङ्ग प्रणालीमा रू. ३० अर्बभन्दा बढी लगानीयोग्य रकम रहेको बैंकरहरू बताउँछन् । यसकारण अहिलेको समय शेयर बजारमा लगानी गर्ने उपयुक्त छ । तर, कतिपय सेक्टरहरू धेरै नै माथि पुगिसकेका छन् । यो समयमा सम्पूर्ण सेक्टरहरूका स्टकहरू अध्ययन गरेर लगानी गर्न सके जोखिम भन्दा पनि प्रतिफल बढी हुने देखिन्छ । 

नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रिया अहिले रोकिएको छ । नेपाली पूँजीबजारको आकारलाई हेर्दा एकभन्दा बढी स्टक एक्सचेन्ज आवश्यक छ कि छैन ?

नेपालको पूँजी बजारको आकारलाई हेर्दा त नयाँ स्टक एक्सचेन्ज आवश्यकता पर्दैन जस्तो लाग्छ । तर, नेपाल स्टक एक्सचेन्ज नसुधारिने हो भने पूँजीबजारको विकास र विस्तारको लागि नयाँ स्टक एक्सचेन्ज पारदर्शी तरिकाले आउनुपर्छ । भएकै स्टक एक्सचेन्जलाई निजीकरण गरी पूँजी बजारमा देखिएका प्राविधिक समस्यालाई हल गरेर बजार विस्तार गरेमा अर्को स्टक आवश्यकता पर्ने देखिँदैन । तर, अहिलेको नेपाल स्टक एक्सचेन्जको गतिविधि हेर्ने हो न लगानीकर्ताको हकहित भएको छ न त लगानीकर्ताले राम्रो सेवा सुविधा नै पाएका छन् । हरेक कार्यमा प्रतिष्पर्धा हुनुपर्छ । प्रतिस्पर्धा भयो भने राम्रो सेवा सुविधा पाइन्छ । यस कारण नयाँ स्टक एक्सचेन्जको आवश्यकता महशुस भएको हो । 

शेयर लगानीकर्ताहरूको हितको लागि अहिले विद्यमान सबै संघहरूलाई मिलाएर महासंघ बनाउने तयारी गर्नुभएको छ, यस्तो एकीकृत महासंघको आवश्यकता किन महशुस भयो ? 

पक्कै पनि शेयर बजारमा सुधारका लागि हामीले गर्नुपर्ने कामहरू धेरै नै छन् । लगानीकर्ताहरूका समस्याहरू पनि धेरै छन्, बेलाबेलामा नियामक निकाय तथा सरकारबाट पनि हामीलाई विभिन्न किसिमका आक्रमण हुने गर्दछ । यी सबै समस्याहरूसँग जुध्नका लागि एउटा बलियो संस्था भएन । लगानीकर्ताहरूको जायज मागहरू पनि सम्बोधन भएनन् । लगानीकर्ता संघसंगठनलाई पनि नटेरेको हुनाले पनि विद्यमान संघसंगठनहरूलाई मिलाएर महासंघ बनाउने तयारी गरिएको हो ।

एउटा बलियो संगठन भएमा नेपालको ७७ ओटै जिल्लामा रहेका सबै लगानीकर्ताहरूलाई साधारण सदस्यता दिने खालको आधिकारिक महासंघ हुन सकेमा त्यसले काम गर्न सक्छ र आम लगानीकर्ताले एउटा भोटिङ गरेर आफ्नो नेतृत्व चयन गर्ने अवसर प्रदान हुनेछ । त्यहाँबाट आउने नेतृत्व जवाफदेही र जिम्मेबार हुन्छ भन्ने विचारको साथ अगाडि बढेका हौं । 

शेयर बजार बढ्दा धेरैजसो नयाँ लगानीकर्ताहरू थपिने गर्छन् । नयाँ लगानीकर्ता कसरी शेयर बजारमा आउनु पर्छ ? तपाईंको सुझाव के छ ? 

खासमा नयाँ लगानीकर्ता छिर्नु पर्ने भनेको बजार घटेको समयमा हो । तर, ठिकविपरीत हुन्छ शेयर बजारमा । बजार घट्दा आत्तिएर विक्री गर्ने र बढी रहँदा नबुझिकन खरीद गर्ने । नयाँ लगानीकर्ता बजार धेरै नै बढेपछि दिनदिनै सर्किट लाएको स्टकमा लगानी गरेको देख्छु । यो एकदमै गलत हो । यसबाट ठूलो नोक्सान हुन्छ जस्तो लाग्छ । दोस्रो बजारमा लगानी गर्दै हुनुुहुन्छ भने धेरै अध्ययन गर्ने, कम्पनीको विगत पाँच वर्षको लाभांश विवरण, वित्तीय स्थिति र शेयर अनुभवीका कुरा सुन्नुपर्छ जस्तो लाग्छ ।

यो समयमा नयाँ लगानीकर्ताहरूले अध्ययन गरेर फन्डामेन्टल राम्रो भएका स्टकमा लगानी गर्नुपर्छ । उहाँहरूले ट्रेडभन्दा पनि लगानी गर्दा उपयुक्त हुन्छ । बढेका स्टकभन्दा पनि बढ्न बाँकी कम बढेका स्टकमा  लगानी गरेमा राम्रो रिर्टन प्राप्त हुन्छ । शेयर बजार हो जोखिम केही हुन्छ नै । आफूले जोखिम वहन गर्न सक्ने क्षमतालाई ध्यान दिएर निश्चित समय अवधिका लागि लगानी गरेमा शेयर बजारमा राम्रै रिर्टन प्राप्त हुने देख्छु । 

केही अवरोधका साथ नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढेको छ । केहीले आवश्यक नरहेको पनि तर्क गरिरहेका छन् । तपाईंको विचारमा नयाँ ब्रोकर लाइसेन्स आवश्यक छ कि छैन ?

यो त कुनै दुविधाको कुरा रहेन । नयाँ ब्रोकर लाइसेन्स आवश्यक छ । पूँजी बजार विकास र विस्तारको लागि यो महत्त्वपूर्ण माग थियो । हामी लगानीकर्ताको धेरै पहिलेदेखिको माग नयाँ ब्रोकर लाइसेन्स खुला गर्नुपर्छ भन्ने हो । नयाँ योग्यता पुगेको व्यक्ति अथवा संस्थालाई नयाँ ब्रोकर लाइसेन्स दिनुपर्छ भन्दै आएका छौं । यो प्रक्रिया अगाडि बढेको छ ।

सीमित ब्रोकरहरूले मात्रै बजार कब्जा गर्नु हुँदैन । अहिले मात्रै होइन, अब आगामी दिनमा एउटा मापदण्ड तोकेर प्रत्येक २ या ३ वर्षमा जहिले पनि नयाँ ब्रोकर लाइसेन्स खुला हुनुपर्छ । आउनेलाई आउन दिनुपर्छ भने जानेलाई जान दिनुपर्छ । आउन चाहनेलाई रोक्नु हुँदैन । प्रतिस्पर्धा हुनेबित्तिकै लगानीकर्ताले राम्रो विश्वसनीय सेवा सुविधा पाउँछन् । अर्को कुरा सबै ठाउँमा शेयर बजारको पहुँच पुग्छ । त्यसपछि नयाँ लगानीकर्ता थपिनेछन् नयाँ कारोबारहरू हुनेछन् । यसले गर्दा  शेयर बजार दीर्घकालीन धेरै नै सुधार हुन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)