ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल सौर्य ऊर्जा उत्पादनको ‘हब’ बन्न सक्छ [अन्तर्वार्ता]

२०८० भदौ, २४  
समाचार अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

नवीकरणीय ऊर्जामा अहिले जलविद्युत्पछिको भरपर्दो स्रोत सौर्य ऊर्जा मानिन्छ । हरितगृह ग्यास उत्सर्जन घटाउने विश्वव्यापी अभियानमा जलविद्युत्सँगै सौर्य ऊर्जाको विकास एवं प्रवर्द्धनको खाँचो बढ्दै गएको छ । नेपालमा पनि यस क्षेत्रमा काम अघि बढेका छन् । प्रस्तुत छ, नेपालमा सौर्य ऊर्जाको आवश्यकता, यस क्षेत्रमा भएका काम, सम्भावना, महत्त्व लगायत विषयमा आर्थिक अभियानका प्रशान्त खड्काले रिडी पावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का सदस्य कुबेरमणि नेपालसँग गरेको कुराकानीको सार :

खासमा सौर्य ऊर्जा के हो ?

सामान्यतया सूर्यको प्रकाशबाट पाइने ऊर्जा नै सौर्य ऊर्जा हो । सोलार प्यानलबाट उत्पादन हुने बिजुली बत्ती बाल्ने, खाना पकाउने, पानी तताउने लगायत काममा प्रयोग गरिन्छ । जलविद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जालाई ब्याट्रीमार्फत बिजुलीमा रूपान्तरण गरिन्छ भने जलविद्युत् पुगेको ठाउँमा त्यसलाई सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडेर बिजुली परिणत गरिन्छ ।

नेपालको ९५ प्रतिशत घरपरिवारमा जलविद्युत् पुगिसकेको छ । यो अवस्थामा सौर्य ऊर्जा किन आवश्यक छ ?

हामीसँग बिजुली नहुँदा घरको छानामा सोलार प्लानल राखेर ब्याट्री चार्ज गरी बिजुली बालिन्थ्यो । अहिले पनि बिजुली नपुगेका ठाउँमा सोलार प्यानलबाट ब्याट्री चार्ज गरी बत्ती बाल्न सकिने विकल्प छ । यसैगरी प्रसारण लाइनमा सौर्य ऊर्जा जोडेर विद्युत् क्षमता विस्तार गर्न सकिन्छ । बिजुली नपुगेका ठाउँमा सोलार लिफ्टिङ प्रणालीबाट पानी तान्न सकिन्छ । पहाडी क्षेत्रमा सोलार लिफ्टिङ खानेपानी आयोजना निकै प्रभावकारी मानिएका छन् । सौर्य ऊर्जाका अन्य थुप्रै फाइदा छन् ।

नेपालमा हाल सौर्य ऊर्जा उत्पादनको अवस्था कस्तो छ ?

हाल ८१ दशमलव २६ मेगावाट क्षमताका १३ ओटा आयोजनाबाट उत्पादित सौर्य ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ भने ६ ओटा आयोजना निर्माणको चरणमा छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा १० लाख ३० हजार हेक्टर जमीन बाँझो छ । त्यसको १–२ प्रतिशत मात्र पनि उपयोग गर्ने हो भने सयौं मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ । १ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण गर्न डेढ बिघा जमीन चाहिन्छ । त्यसबाट वार्षिक १७ देखि २० लाख युनिट विद्युत् उत्पादन हुन्छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएका सौर्य आयोजनाबाट प्रतिमेगावाट वार्षिक रू. १ करोड २४ लाखदेखि १ करोड ५३ लाखसम्म आम्दानी हुन्छ ।

नेपालका छिमेकी मुलुकमा सौर्य ऊर्जा उत्पादनको परिदृश्य कस्तो छ ?

अहिले चीनमा करीब ४ लाख मेगावाटका जलविद्युत् आयोजना सञ्चालनमा छन् । त्यहाँ सौर्य ऊर्जा पनि सोही परिमाणको हाराहारीमा उत्पादन भइरहेको छ । चीन सौर्य ऊर्जा उत्पादनमा विश्वमा पहिलो स्थानमा छ । त्यसैगरी भारतमा ४५ हजार मेगावाट जलविद्युत् र ६५ हजार मेगावाट सौर्य ऊर्जा उत्पादन भएको छ । यस्तै ३०–३५ मेगावाट बिजुली हावाबाट उत्पादन भइरहेको छ । पूर्वाधार तयार पार्ने हो भने काठमाडौंमै करीब १०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न सकिने सम्भावना छ । काठमाडौंका घरका छतमा सोलार प्यानल लगाएर पनि सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ । त्यसरी उत्पादित बिजुली सम्बन्धित घरमा खपत गरी बढी भएमा सौर्य प्रणाली नभएका घरमा पुर्‍याउन सकियो । यसरी काठमाडौंको दिउँसोको आवश्यकता सौर्य ऊर्जाबाट पूर्ति गर्नुपर्छ । अहिले ‘ग्राउण्ड माउन्टेन्ड सोलार प्यानल’ प्रविधि आएको छ । सोही प्रविधिअनुसार बुटवलको तिलोत्तमामा २६ बिघा जमीनमा सोलार प्यानल लगाइएको छ । त्यसबाट साढे ८ मेगावाट बिजुली उत्पादन भइरहेको छ । त्यसरी वर्षमा १ करोड ४४ लाख युनिट बिजुली उत्पादन हुन्छ । यो बिजुली राष्ट्रिय प्रसारण लाइनबाट उपभोक्ताको घरसम्म पुग्छ ।

सौर्य ऊर्जाबाट उत्पादित बिजुली खपतका लागि के गर्न सकिन्छ ?

हाम्रो देशमा ८३ हजार मेगावाट बिजुली उत्पादन क्षमता भनिन्छ । ‘डिजाइन डिस्चार्ज’ बढाउने हो भने करीब २ लाख मेगावाट जलविद्युत् उत्पादन गर्न सकिन्छ । अब त्यति नै परिमाणमा सौर्य ऊर्जा किन उत्पादन नगर्ने ? खपतको विषयमा नेपालीको प्रतिव्यक्ति विद्युत् खपत परिमाण निकै कम छ । यसलाई बढाउनुपर्छ । अहिले सबै करीब ९५ प्रतिशत घरधुरीमा बिजुली पुगिसकेको छ । तर आपूर्ति प्रणाली अझै सुदृढ भइसकेको छैन । लोडसेडिङ अन्त्य भए पनि विद्युत् आपूर्ति अनियमित हुने गरेको छ । स्तरीय वितरण तथा आपूर्ति नहुँदा खपत बढ्न सकेको छैन । प्रसारण लाइन लगायत अत्यावश्यक पूर्वाधारमा सुधार हुने हो भने घरायसी तथा औद्योगिक प्रयोजनमा समेत सहजै विद्युत् खपत बढाउन सकिन्छ । आन्तरिक माग धानेर बढी भएको बिजुली अहिले नै पनि भारतमा निर्यात गर्न थालिएको छ ।

१० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने गरी नेपाल र भारतबीच भएका सहमति भर्खरै भारत सरकारले स्वीकृत गरेको छ । उक्त सहमति अनुसारको बिजुली भारत पठाउन उत्पादन बढाउनुको विकल्प छैन । यस्तोमा सौर्य ऊर्जाको समेत ठूलो भरथेग हुन सक्छ । त्यसैले मध्यकालीन र दीर्घकालीन रूपमा हेर्दा बिजुली खेर जाला कि भन्ने चिन्ता नै गर्नुपर्दैन । भारत मात्र नभई बंगलादेशमा पनि बिजुली बेच्ने विषय अघि बढिसकेको छ । बरु हामीले उनीहरूको मागअनुसार विद्युत् पुर्‍याउन चुनौती हुन सक्छ । त्यो हाम्रा लागि अवसर पनि हो । उत्पादन बढाएर प्रसारणतर्फका पूर्वाधार निर्माण तथा क्षमता सुधार गरी बिजुली निर्यात बढाउन सकिन्छ । अहिले निर्माणको चरणमा प्रवेश गरेको एमसीसी परियोजना अन्तर्गत बन्ने अन्तरदेशीय प्रसारण लाइन तथा सबस्टेशन त्यसका लागि महत्त्वपूर्ण पूर्वाधार हुन् । समय लागे पनि दीर्घकालमा ती आयोजना नेपालको विद्युत् व्यापारका लागि अत्यावश्यक छन् ।

सौर्य ऊर्जा उत्पादनको सम्भावनाको हिसाबले नेपालको भूगोल तथा हावापानी कस्तो छ ?

नेपालमा वर्गमिटरमा प्रतिदिन औसत ४ दशमलव ७ किलोवाट युनिट उत्पादन गर्ने क्षमता छ । तराईमा सोलार प्यानलबाट बिजुली उत्पादन गर्ने क्षमता कम छ । पहाडमा धेरै मात्रामा उत्पादन गर्न सकिन्छ । सौर्य ऊर्जा उत्पादनका लागि भौगोलिक अवस्था र हावापानीका हिसाबले नेपाल निकै अनुकूल मुलुक हो । त्यसकारण नेपाल सौर्य ऊर्जा उत्पादनको ‘हब’ बन्न सक्छ ।

सौर्य ऊर्जाका आयोजनाबाट बिजुली उत्पादन गर्न कति समय लाग्छ ?

जलविद्युत् आयोजनाबाट १०० मेगावाट बिजुली निकाल्न सामान्यतया ४–५ वर्ष लाग्छ । तर त्यति नै परिमाणमा सौर्य ऊर्जा उत्पादन गर्न २ वर्ष मात्र लाग्छ । त्यसकारण जलविद्युत्को तुलनामा सौर्य ऊर्जा परियोजना निर्माण निकै छिटो हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)