नेपाल फर्निचर तथा फर्निसिङ संघले बुधवारदेखि काठमाडौंको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो सञ्चालन गरिरहेको छ । फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने अभियानसहित सञ्चालन भइरहेको एक्स्पोले आर्थिक क्रियाकलाप पनि चलायमान बनाउने अपेक्षा राख्छन् संघका वरिष्ठ उपाध्यक्ष मनीष अग्रवाल । उनीसँग फर्निचर तथा फर्निसिङको समग्र बजार अवस्था र ‘फर्नेक्स २०२३’ का सम्बन्धमा गरिएको कुराकानीको सार :
फर्निचर तथा फर्निसिङ कारखानाको वर्तमान बजार अवस्था कस्तो छ ?
दिनप्रतिदिन प्रतिस्पर्धा बढ्दै गएको छ । साथै आयातित वस्तुमा भन्सार बढ्दै गएको छ । अहिले दक्ष जनशक्तिको अभाव छ । जनशक्ति पाए पनि धेरै लगानी गर्नुपर्ने अवस्थाले उद्योगहरू समस्यामा छन् । उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ नेपालमा पाइँदैन । यसको कच्चापदार्थ पूर्ण रूपमा आयात नै गर्ने हो । केही वर्षयताको आर्थिक मन्दी, यसको सुधारका लागि चालिएका कदम र नीतिगत व्यवस्थाले समग्र बजार र उद्योग व्यवसाय प्रभावित भएका छन् । यो दीर्घकालसम्म लम्बिँदैन होला भन्ने आशा गरेका छौं ।
आफ्नो उद्योगको १२ वर्षे यात्रालाई कसरी स्मरण गर्नुहुन्छ ?
उद्योग शुरू गर्दा उत्पादन क्षमता २ हजार किलो प्रतिदिन थियो । तर समयसँगै फमको मागमा पनि वृद्धि हुँदै गयो र हामी क्षमता बढाएर ४ हजार किलो प्रतिदिन उत्पादन गर्न सक्ने भयौं । बजारमा सबै उत्पादन गइरहेको छ । चिसोको बेला फमको माग बढ्छ । तर कारोबार समयमा राफसाफ नहुँदा ठूलो समस्या मेरो उद्योगले भोगिरहेको छ । उधारोमा सामान दिनैपर्यो, पैसा उठ्ने कहिले हो थाहा हुन्न ।
फम उत्पादन गर्ने अन्य प्रतिस्पर्धी कति छन् ? उनीहरूको अवस्था के छ ?
नेपालभर फम उत्पादन गर्ने उद्योगको संख्या २५ हाराहारी छ । सबै उद्योग पूर्ण रूपमा सञ्चालनमा छन् । यी उद्योगले उत्पादन गर्नेभन्दा बढी फम बजारले मागिरहेको छ । त्यसैले बजारको चिन्ता आजका दिनसम्म छैन । फमको कच्चापदार्थ आयात गर्नुपर्ने बाध्यता सबैलाई छ । समस्या उधारो कारोबारको हो । यो समस्या मेरो मात्र होइन, सबै उद्योगको साझा समस्या हो ।
फर्निसिङको क्षेत्रमा स्वदेशी कच्चापदार्थ १५ प्रतिशत मात्र प्रयोग हुँदै आएको छ ।
फर्निचर तथा फर्निसिङ क्षेत्रमा नेपालको स्थान कहाँ छ ?
विगतका वर्षलाई हेर्दा अहिले हामीले केही क्षेत्रका लागि कच्चापदार्थको आयात गरे तापनि सामग्री निर्माण गरेपछि बजारमै खपत हुने गरेको छ । त्यो हिसाबमा हामी आत्मनिर्भरताको बाटोमा छौं । कच्चापदार्थ आयात गर्नुपरे पनि आज हामी कार्पेट, गलैंचा, म्याट्रेस, प्लास्टिकको कुर्सी, फलामको दराज जस्ता उत्पादनमा आत्मनिर्भर भइसकेका छौं । फर्निसिङको क्षेत्रमा स्वदेशी कच्चापदार्थ १५ प्रतिशत मात्र प्रयोग हुँदै आएको छ । तर त्यही १५ प्रतिशत पनि हामीले प्रयोग गर्न सक्ने वातावरण छैन । जस्तै– कार्पेट, गलैंचा निर्माणमा आवश्यक पर्ने धागो नेपालमा बनाउन सक्छौं । तर नेपालमा खरीद गर्नुभन्दा आयात गर्दा सस्तो पर्छ । अर्को कच्चापदार्थ भनेको लेटेक्स हो, त्यसलाई हामी नेपालमै बनाउन सक्छौं । तर उत्पादन भइरहेको छैन, जसकारण विदेशबाटै खरीद गर्नुपर्ने बाध्यता छ । फर्निचरको कुरा गर्दा ६० प्रतिशत सामान स्वदेशमै उत्पादन भइरहेको छ । बाँकी ४० प्रतिशत हाराहारी विदेशबाट आयात भइरहेको छ । अनुकूल वातावरण बनाइदिने हो भने यो क्षेत्रमा पनि हामी ९० प्रतिशतभन्दा धेरै आत्मनिर्भर हुन सक्छौं ।
समग्र फर्निचरको क्षेत्रमा हामी ६० प्रतिशतभन्दा धेरै मात्रामा आत्मनिर्भर भइसकेका छौं । मेटलको फर्निचरका लागि हामी आत्मनिर्भर छौं । तर काठबाट निर्माण गरिने फर्निचरका लागि भने हामी आत्मनिर्भर भइसकेका छैनौं । वनमा प्रशस्त काठ हुँदाहुँदै पनि बाध्यतावश हामीले बाहिरबाटै आयात गरी फर्निचर निर्माण गरिरहेका छौं । काठ वनजंगलमा कुहिएर गइरहेको छ । तर हामीले उपभोग गर्न पाएका छैनौं । यस्तो अवस्थामा फर्निचरमा आयातको हिस्सा घटाउँदै पूर्ण आत्मनिर्भरतामा जाने कुरा झनै चुनौतीपूर्ण छ ।
फर्निचर व्यवसायीले नेपालकै काठ उपभोग गर्न पाए फर्निचरजन्य उत्पादनको बजार मूल्यमा कति फरक पर्छ ?
हामीलाई वनमा कुहिएर गइरहेको काठ सहज रूपमा उपलब्ध गराइदिने हो भने पहिलो कुरा आयातमा धेरै कमी आउँछ । अर्कातिर, त्यो काठले रोजगारी बढाउँछ भने आयात गर्दा लाग्ने लागतभन्दा सस्तोमा काठ पाइन्छ । यस्तो हुँदा अहिलेको तुलनामा बजारमा फर्निचर सामग्रीको मूल्य २५ प्रतिशतसम्म घट्न सक्छ । यसले आयात घट्दा विदेशी मुद्राको सञ्चितिमा सकारात्मक असर पर्छ । आर्थिक क्रियाकलापलाई पनि चलायमान बनाउँदा पुग्ने योगदानको महत्त्व झनै ठूलो हुन्छ ।
नेपालमा दक्ष कामदार नहुँदा बाहिरी देशबाट कति कामदार आउने गरेका छन् ?
नेपालमा भारतबाट कामदार आउने गरेका छन् । तर उनीहरूको माग धेरै हुँदा हाम्रो जस्तो क्षमताको उद्योगले राख्न सक्दैन । हाल नेपालको फर्निसिङ तथा फर्निसिङ उद्योगमा ५ प्रतिशत दक्ष कामदार बाहिरबाट आएका छन् । विदेशी कामदारका माध्यमबाट पनि ठूलो रकम बाहिर गइरहेको छ । सम्भव भएका स्रोत देशमै तयार गर्न सके देशको पैसा बाहिर जाने थिएन ।
संघले आयोजना गर्दै आएको फर्नेक्सको नवौं संस्करणसम्म आइपुग्दा यसको महत्त्व र प्रभाव कस्तो छ ?
अहिले यो मेलाको महत्त्व र प्रभाव निकै बढेको छ । हामीले स्टलका लागि बुकिङ खुला गर्दा एक दिनमै सबै स्टल बुकिङ भए । पहिलेको अवस्थामा हामीले अनुरोध गरेर मात्र कम्पनीहरूले स्टल लगाउँथे भने अहिले कम्पनीहरू आफै उत्साहित भएर आएका छन् । जुन कम्पनीले आफूलाई ‘अपग्रेड’ गरेर नयाँ नयाँ प्रडक्ट बजारमा ल्याएका छन्, उनीहरूको उत्साह देख्दा यो एक्स्पो फर्निचर तथा फर्निसिङ सामग्रीको प्रवर्द्धनका लागि महत्त्वपूर्ण ‘प्लेटफर्म’ बनेको पाएको छु ।
यो एक्स्पोमा अवलोकनकर्ता किन आउने ?
आम जनताले यो बुझ्न आवश्यक छ कि हामीलाई आवश्यक पर्ने फर्निचर तथा फर्निसिङको सामग्री नेपालमै उपलब्ध छ । हाम्रो दिनचर्याका लागि आवश्यक पर्ने सम्पूर्ण फर्निचर तथा फर्निसिङका सामग्री नेपालमा उत्पादन हुन थालिसकेका छन् । यस्तो अवस्थामा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न पनि अवलोकनकर्ता एक्स्पोमा आउनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।