अहिले घरको निर्माण लागत महँगो हुँदै गएको छ । निर्माणमा प्रयोग हुने सबै सामान किन्नुपर्ने र त्यसमा पनि दिनप्रतिदिनको बढ्दो महँगीले घर जोड्नु जीवनकै सबैभन्दा खर्चिलो काम बनेको हो । सामान्यतया एउटा मानिसले आफ्नो जीवनकालमा एउटा घर बनाउन सक्छ । यसरी जीवनमा एकपटक बनाइने घर सुरक्षित हुनु अति आवश्यक छ ।
घर बनाउनुअघि यसको सुरक्षा सुनिश्चित गर्न जग्गा तथा घडेरीको माटो जाँच्नु आवश्यक हुन्छ । ‘बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गदर्शन, २०७२’मा पाँच तलाभन्दा अग्ला सबै भवन र सर्वसाधारण भेला हुने ठाउँहरू, जस्तै– शपिङ मल, सुपरमार्केट, स्कूल, कलेज, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिकलगायतको १५ मिटरभन्दा अग्ला भवनको हकमा माटो परीक्षण गरी पेश गर्नुपर्ने प्रावधान उल्लेख छ । त्यसैगरी १० हजार वर्गफीटभन्दा अग्ला भवनको भौगर्भिक परीक्षण गर्नुपर्ने व्यवस्था उक्त मार्गदर्शनमा समेटिएको छ ।
हामीकहाँ घर बनाउनुअघि माटोको परीक्षण गर्ने परिपाटी अझै बसिसकेको छैन, जसले गर्दा यसरी बनाइएका घर अचानक भासिएको खबर बेलाबेलामा सञ्चारमाध्यममा आइरहेका छन् । गएको २०७२ सालको भूकम्पमा क्षति हुने घरहरूमा अन्य कारणसँगै माटोको क्षमता परीक्षण नगरी बनाइएका घर पनि परेका छन् । कतिपय स्थानमा त पूरै बस्ती नै घर बनाउन अयोग्य प्रमाणित भएका छन् । हालसम्मको अध्ययनबाट १ सय ९० ओटा बस्ती पूर्ण वा आंशिक रूपमा असुरक्षित भनी तोकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क छ ।
घर बनाउन आधारभूत तत्त्व नै जमीन हो । हामीकहाँ घर बनाउन जग्गा किन्दा पहिलो अवस्थिति र दोस्रो मूल्य हेर्ने चलन छ । घर उभ्याउने माटोको अवस्थामा कसैले पनि ध्यान दिएको पाइन्न । त्यति मात्र होइन, घरको तला आफ्नो आवश्यकता र आर्थिक अवस्थाअनुसार थप्ने सबै हुन्छन् । तर, घर उभिएको माटाले कति तलासम्म थेग्न सक्ने क्षमता भनेर चासो नै दिइन्न ।
जनसङ्ख्या वृद्धि तथा शहरप्रतिको आकर्षणले सिमसार, खेतीयोग्य, भिराला जस्तोसुकै स्थानमा पनि घर बनाउने प्रचलन बढ्दो छ । कुनै बेलाको पोखरीका रूपमा रहेको काठमाडौं उपत्यकामा खेतीयोग्य कालो माटो छ । तर, शहरीकरणले बस्ती विकास हुँदै जाँदा सानादेखि गगनचुम्बी भवन बन्न थाले । यसको परिणाम २०७२ सालको भूकम्पको असर बढी परेको विज्ञहरूले बताउँदै आएका छन् । त्यसैगरी पोखराका विभिन्न स्थानका घर भासिनुमा पनि त्यहाँको माटो वा भौगर्भिक अवस्था नै मुख्य कारण हो ।
माटो परीक्षण नगरी घर बनाउँदा बाढी, पहिरो तथा भूकम्प जस्ता प्राकृतिक प्रकोपले घर पूर्ण वा आंशिक रूपमा भासिने, तथा भत्किने जोखीम हुन्छ । माटो परीक्षणमा माटोको भारवहन क्षमताका साथै घर बनाउने जमीनमुनिको अवस्था पनि हेर्नुपर्ने हुन्छ । यसो गर्नाले घर सुरक्षित हुनुका साथै विपत्तिका बेला हुन सक्ने धनजनको क्षतिबाट पनि बचिन्छ ।
माटोअनुसार भारवहन क्षमता फरक हुन्छ । भवन निर्माणका हिसाबले माटोलाई चार प्रकारमा विभाजन गरिएको छ । कालो तथा खेतीयोग्य माटो पहिलो श्रेणी (कमजोर)मा पर्दछ । काठमाडौंको माटो यही श्रेणीमा पर्दछ । विशेषगरी विगतमा पानी रहेको पोखरी तथा धाप जस्ता क्षेत्रको माटो पनि यसै श्रेणीमा पर्दछ । दोस्रो श्रेणीमा बालुवा मिसिएको माटो पर्दछ । तेस्रो श्रेणीमा ढुङ्गा मिसिएको रातो, चिम्ट्याइलो माटो पर्दछ भने चौथोमा ढुङ्गाकोे मात्रा बढी भएको तर कालो माटो नभएको र भिरालो पनि नपरेको ठाउँको माटो पर्दछ ।
सरकारले तीन तलाभन्दा माथिका घर बनाउँदा माटो परीक्षण अनिवार्य गरेको छ । तर, सामान्यतया त्यसभन्दा माथिका घर बनाउँदा पनि माटो परीक्षण गर्ने परिपाटी नरहेको इञ्जिनीयर शिवप्रसाद भण्डारी बताउँछन् । ‘घर मात्र होइन, अग्ला अग्ला व्यावसायिक भवन पनि माटो परीक्षण नगरी बनाउने प्रचलन हामीकहाँ छ,’ उनी भन्छन्, ‘भूकम्पपछि भने सचेतता अलि बढेकाले फिल्डमा काम गर्ने हामीहरूलाई पनि बुझाउन केही सहज भएको छ ।’