ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माण सामग्रीको मूल्यवृद्धिले लागत बढ्यो

Jan 16, 2018  
स्वास्थ्य र जीवन शैली
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
जनसङ्ख्या वृद्धिसँगै शहरी तथा ग्रामीण भेगमा भवन तथा आवासीय घर निर्माणले उचाइ लिएको छ । यसले अहिले घर/भवनको निर्माण लागतसमेत बढेको छ । भवन निर्माणका लागि त्यसको लागत पनि चासोको विषय बन्छ । पछिल्लो समय नेपालमा भवन निर्माणको लागत वार्षिक औसत १० प्रतिशत बढ्दै गएको देखिएको छ । नेपाल इञ्जिनीयर्स एशोसिएशनका अनुसार भवन निर्माणको लागतमा वार्षिक उक्त वृद्धिदर देखिएको हो । नेपालमा केही हप्ताअघि मात्र सिमेण्ट र छडको मूल्य आकस्मिक रूपमा बढेको छ । नेपाल सिमेण्टलगायत निर्माण सामग्रीमा आत्मनिर्भर हुँदै गए पनि त्यसका लागि आवश्यक कच्चापदार्थ बाहिरबाट आयात गर्नुपर्ने हुँदा बेलाबेला आकस्मिक रूपमा मूल्यवृद्धि हुने गरेको छ । अहिले अन्तरराष्ट्रिय बजारमै सिमेण्ट र छडको मूल्य बढेको र नेपालले कच्चापदार्थ आयात गर्नुपर्ने भएकोले पनि यसको मूल्यवृद्धि भएको नेपाल इञ्जिनीयर्स एशोसिएशनका उपाध्यक्ष ई उमाशङ्कर शाह बताउँछन् । एशोसिएशनका पूर्वअध्यक्ष ई धु्रवबहादुर थापाका अनुसार निर्माण लागत घरको साइज, स्क्वायर, संरचनामा आदिमा निर्भर हुन्छ । ‘अहिलेको अवस्था हेर्दा प्रतिस्क्वायर फीट सरदर रू. ४ हजार लागत पर्छ,’ उनले भने, ‘यसको अर्थ १० हजार स्क्वारमा घर निर्माण गर्दा रू. ४० लाख लागत पर्न सक्छ ।’ निर्माण सामग्रीको मूल्य बढ्दा भवनको निर्माण लागत प्रत्यक्ष रूपमै बढ्छ । यस कारण बढ्दै लागत एकातिर अकस्मात् सिमेण्ट र छडको मूल्यवृद्धि र अर्काेतर्फ ढुवानी र ज्यालादरमा वृद्धि हुँदा पनि भवनको निर्माण लागत बढ्दै गएको छ । अन्तरराष्ट्रिय बजारमा समेत यस्ता सामग्रीको मूल्यवृद्धि भएको भन्दै उत्पादकहरूले स्थानीय बजारमा तिनको मूल्य बढाएका हुन् । साथै, छड र क्लिङ्करको आयात रोकिएकोले उत्पादन घटेर मूल्य बढेको निर्माण व्यवसायीको भनाइ छ । भवनको निर्माण लागत बढ्ने कारणहरूमा निर्माण सामग्रीको मूल्यवृद्धि मुख्य हुने गरेको छ । यस्तै, शहरी क्षेत्रमा मजदूरको ज्यालादर पनि बढेको छ । श्रमिक ज्याला अहिले दैनिक रू. १२ सयदेखि १६ सय छ । भूकम्पपछि संरचना निर्माण गर्दा गुणस्तरीय र सुरक्षित हुनुपर्ने धारणाको विकास भएको छ । परिणामस्वरूप भूकम्पप्रतिरोधी सुरक्षित घर/भवन बनाउनेको सङ्ख्या बढेपछि लागतमा समेत वृद्धि भएको एशोसिएशनका उपाध्यक्ष ई. शाहको भनाइ छ । ढुवानी खर्च, चर्को ज्यालादर र निर्माण सामग्रीको मूल्यवृद्धिले घर÷भवनको लागत अझै बढ्ने देखिन्छ । शहरी क्षेत्र बाहिर लागत सस्तो शहरी क्षेत्रमा भन्दा तराई भेगमा आरसीसी भवन बनाउँदा लागत लगभग आधा सस्तो पर्ने देखिएको छ । नवलपरासीको जिल्ला शिक्षा कार्यालयमा कार्यरत ई शिवप्रसाद भण्डारीका अनुसार तराई भेगमा आरसीसी भवनको लागत प्रतिस्क्वायर फीट रू. २५ सयका दरले रू. १५÷१६ लाख पर्छ । जब कि शहरी क्षेत्रमा साधारण भवनको निर्माण लागत न्यूनतम रू. ४० लाख पर्ने इञ्जिनीयरहरूले बताउँदै आएका छन् । तराईका जिल्लामा ज्यालादर पनि तुलनात्मक रूपमा कम छ । ई भण्डारीले भने, ‘श्रमिकका लागि रू. ४ सय ८५ सम्म र मिस्त्री/सिकर्मी/डकर्मीका लागि रू. ७ सय १५ सम्म दैनिक ज्याला दिए पुग्ने अवस्था छ ।’ ढुवानी खर्चसमेत कम हुँदा यसको लागत कम भएको छ । पछिल्लो समय भवन निर्माणले गति लिने देखिएको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहमा गाउँपालिका/नगरपालिकाका भवन निर्माण पनि हुँदै छन् । यसमा भौगोलिक संरचनाअनुसार समेत लागत फरक पर्ने देखिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)