स्त्री तथा प्रसूति रोगको उपचारमा नयाँ नयाँ प्रविधि भित्रिरहेका छन्
May 25, 2018
 
अन्तरवार्ता
स्वास्थ्य र जीवन शैली
स्त्रीरोगको उपचारमा विभिन्न प्रविधि भित्रिरहेका छन् । पाठेघरभित्रको अवस्था बुझ्न तथा समस्याको पहिचान गरी उपचार गर्न हिस्टरोस्कोपी प्रविधिको प्रयोग हुँदै आएको छ । कल्कोस्कोपी विधिबाट पाठेघरको सङ्क्रमणको अवस्था पत्ता लगाइन्छ । पुरानो विधिबाट अप्रेशनमा गर्दा १० सेण्टिमिटर चिर्नुपर्छ भने ल्याप्रोस्कोपी विधिबाट सर्जरी गर्दा १ सेण्टिमिटर चिरे पुग्छ । प्रस्तुत छ, उपचारमा महिलाको पहुँच, पाठेघरको क्यान्सर, गर्भ नरहने समस्या, प्रसूति तथा स्त्रीरोगको उपचारमा प्रयोग हुँदै आएका नयाँ प्रविधिलगायत विषयमा अल्का अस्पतालका कन्सल्टेण्ट, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रंगीना लाइकङ्गबम शाहसँग आर्थिक अभियानका मदन लामिछानेले गरेको कुराकानीको सम्पादित अंश :नेपालमा स्त्रीरोगको अवस्था तथा उपचारमा पहुँच कस्तो छ ?
स्त्रीरोगको उपचारमा दुर्गम क्षेत्रका महिलाको पँहुच कम छ । साथै, उनीहरूले धेरै काम गर्नुपर्ने भएकाले विभिन्न रोगको सामना गर्नुपरेको छ । पाठेघर खस्ने समस्याबाट धेरै महिला पीडित छन् । त्यस्तै, प्रसूति सेवाको साधारण सुविधासमेत नपाएर धेरै महिला र शिशुको ज्यान जाने गरेको छ । ग्रामीण भेगका महिला रोग लागे पनि आर्थिक अवस्था, उपचारमा पहुँचको अभावलगायत कारण समयमै अस्पताल आउँदैनन् । उनीहरूलाई कुन रोगका लागि कस्तो डाक्टरलाई देखाउनुपर्छ भन्ने जानकारीको कमी छ । नेपालमा डाक्टर पढ्नेहरू बढिरहेका छन् । तर, यहाँ डाक्टर पढेको अहिलेका पुस्ता दुर्गम क्षेत्रमा जान चाहँदैनन् । नेपालमा सुविधा कम हुने भएकाले उनीहरू विदेश पलायन भइरहेका पनि छन् । यो समस्या समाधानका लागि सरकारले दुर्गम क्षेत्रमा सेवासुविधा बढाउनुपर्छ । हामीले भर्खरै जनता बैङ्कसँग मिलेर दुईओटा स्वास्थ्य शिविर सञ्चालन गरेका छौं । दुर्गम भेगमा यस्ता शिविर धेरैभन्दा धेरै चलाउनुपर्छ ।
अस्पताल आउने धेरैजसो महिलामा कस्तो समस्या पाइएको छ ?
धेरै महिलाहरू योनी–द्वारमुनिको सङ्क्रमण (पेल्भिकइनसाइटमेण्ट डिजिज)को उपचारका लागि आउनुहुन्छ । यस्तो सङ्क्रमण हुँदा महिलामा गन्हाउने पानी जाने, तल्लो पेट दुख्ने, यौन सम्पर्क गर्दा योनी दुख्नेलगायत समस्या देखिन्छन् । यो सङ्क्रमण तलबाट माथितिर फैलन्छ । त्यसपछि पाठेघरको छेउको नली बन्द हुने, डिम्बाशयमा पिप जम्मा हुने समस्या देखिन सक्छ । त्यस्तै, पाठेघरको ट्युमर हुने समस्या पनि बढ्दै गएको छ ।
पाठेघरभित्रको अवस्थाको पहिचान तथा उपचारमा प्रयोग हु“दै आएको हिस्टरोस्कोपी प्रविधि र उपचार पद्धतिबारे बताइदिनुहोस् न !
यो प्रविधिअनुसार दूरविनको माध्यमबाट योनीद्वार र पाठेघरभित्रको अवस्था वा समस्या पत्ता लगाएर उपचार गर्न सकिन्छ । बाँझोपनमा हिस्टरोस्कोपीको प्रयोग पाठेघरभित्रको अवस्था (पाठेघरमा पर्दा वा जाली भएको आदि) बुझ्न प्रयोग गरिन्छ, जुन अन्य जाँचजस्तो भिडियो एक्सरेबाट पत्ता लगाउन सकिँदैन । तर, यो प्रविधिले त्यस्तो अवस्था पत्ता लगाउनुका साथै उपचारसमेत सँगै गर्न मिल्छ । अध्ययन–अनुसन्धानअनुसार महिलामा बाँझोपनको कारण पत्ता लगाउने विभिन्न जाँचमा हिस्टरोस्कोपी प्रविधि महŒवपूर्ण मानिएको छ । धेरै रगत बगेको अवस्थामा बायोप्सी (मासुको जाँच) गर्न पनि यसको प्रयोग हुन्छ । पाठेघरभित्र मासु पलाएमा (इण्ड्रोमेट्रियल पोलिप), कपर टी पाठेघरभित्र हराएको अवस्था र कुनै फोरेनबडी (अनावश्यक चीज) भएको बेलामा हिस्टरोस्कोपीको माध्यमबाट झिक्न सकिन्छ । हिस्टरोस्कोपीको माध्यमबाट हामीले अल्का अस्पतालमा यस्ता विभिन्न समस्याको निदान तथा उपचार गर्दै आएका छौं ।
पाठेघरको क्यान्सर के के कारणले हुन्छ र यसको उपचार कसरी गरिन्छ ?
हाम्रो जस्तो अल्पविकसित देशमा पाठेघरको क्यान्सर हुने समस्या अधिक छ । प्रसूति रोग जँचाउन आउनेमध्ये ७० प्रतिशत महिलाको पाठेघरमा घाउ या सङ्क्रमण भएको हुन्छ । पाठेघरको जाँचले क्यान्सरबाट हुने मृत्यु विकसित मुलुकमा ८० प्रतिशतभन्दा कम गरेको छ । तर, अविकसित तथा विकासोन्मुख मुलुकमा भने पाठेघरको जाँच प्रभावकारी रूपमा हुने गरेको छैन । हामीले यहाँ आएका बिरामीसँग बुझ्दा कम उमेरमा विवाह हुनेमा यस्तो समस्या बढी पाइएको छ । त्यसैले, कम उमेर विवाह गर्ने तथा छिट्टै बच्चा जन्माउने महिलामा पछि पाठेघरमा सङ्क्रमण भई क्यान्सर हुने सम्भावना बढी हुन्छ । एकदेखि दुईओटा मात्र बच्चा जन्माउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । धेरैपटक बच्चा जन्माउँदा पाठेघर कमजोर हुने, खस्ने र सङ्क्रमणले क्यान्सरको सम्भावना हुन्छ । नेपालको दुर्गम क्षेत्रका धेरै महिलाले चुरोट खाने गरेको पाइन्छ । चुरोटले फोक्सोको मात्र नभई पाठेघरको क्यान्सर पनि हुन सक्छ । दुर्गम क्षेत्रमा यसको प्रचारप्रसारमार्फत जनचेतना फैलाउनुपर्छ ।
कल्कोस्कोपी विधिबाट पाठेघरको सङ्क्रमण कसरी पत्ता लगाइन्छ ? यो विधिबाट उपचार गर्नुका फाइदा के के छन् ?
यो एउटा मेशिनबाट जाँच गरिने उपचार पद्धति हो । यसबाट पाठेघरको मुखमा भएको कुनै असामान्य घाउ वा कुनै ग्रन्थी भए/नभएको पत्ता लगाउन सकिन्छ । साथै, यो विधिबाट पाठेघरमा भएको घाउ वा असामान्य ग्रन्थी कुन चरणमा छ भन्ने पनि पत्ता लगाइन्छ । यो उपचार पद्धतिको शुरुआत जर्मनीबाट सन् १९२४ मा भएको हो । हाम्रो आँखाले देख्न नसकिने सेल्स वा असामान्य ग्रन्थी यो मेशिनको सहायताले ४० गुणा ठूलो बनाएर हेर्न सकिन्छ । पाठेघरको सङ्क्रमण कुन चरणमा छ र यसलाई कुन विधिबाट उपचार गर्ने भनेर कल्कोस्कोपीबाट थाहा हुन्छ । यस पद्धतिमा चार किसिमले जाँच गरिन्छ । पहिलो, नराम्रो सेल्स सफा गरेर हेरिन्छ । दोस्रो, ग्रीन फिल्टर विधिबाट कस्तो किसिमको नसा फुलेको छ, पत्ता लगान्छ । साथै, यसमा पछि क्यान्सर हुने अवस्था विकास भइसकेको छ÷छैन पत्ता लगाइन्छ । तेस्रो, ५ सेकेण्ड औषधि राखेर क्यान्सर छ भने कुन चरणमा छ र यसको उपचार कुन तरीकाबाट गर्न सकिन्छ भन्ने पत्ता लगाइन्छ । अर्थात् यसलाई सेकेर, खुर्केर वा अन्य तरीकाबाट उपचार खोजिन्छ । अन्त्यमा आयोडिन राखेर सेल्स कस्तो खालको छ भन्ने हेरिन्छ । अल्का अस्पतालमा केही समयदेखि यो उपचारविधिको प्रयोग हुँदै आएको छ ।
पाठेघरमा सङ्क्रमण हुँदा त्यसलाई फाल्ने गरेको पनि पाइन्छ । कुन चरणसम्मको सङ्क्रमणको उपचार गर्न सकिन्छ ?
पाठेघरको सङ्क्रमण एउटा कीटाणुको कारणले हुन्छ । पाठेघरको मुखको क्यान्सर हुने सङ्क्रमण भाइरसको कारणले हुने हो । कीटाणुको सङ्क्रमण र भाइरसको सङ्क्रमण फरक–फरक अवस्था हो । कसैको पाठेघरको मुखमा घाउ छ र पाठेघरको पानीको जाँच गर्दा स्टेज थ्रीसम्म देखियो, क्यान्सर भएको छैन तर हुनै लागेको अवस्थामा पुगिसकेको छ, रगत वा पाठेघरको पानीको जाँच गर्दा हिमुनप्यापुलोमा भाइरस १६ र १८ देखिएको छ भने त्यसले क्यान्सर गाराउँछ । माथिका समस्या देखिएको छ, परिवार पूरा भएको छ, महिलाको उमेर ४० काटिसकेको छ भने जोखीम नलिएरै पाठेघर निकाल्न मिल्छ । तर, कीटाणुका कारण भएको इन्फेक्शनमा पाठेघर निकाल्नु पर्दैन ।
स्त्रीरोगको उपचारमा ल्याप्रोस्कोपी सर्जरीको प्रयोग कस्तो छ ? यसका फाइदा के के छन् ?
स्त्रीरोगमा यस विधिबाट गरिने सर्जरीमा हामी धेरै पछाडि छौं । पाठेघरमा ट्युमर पलाउँदा तथा एउटा निश्चित उमेरपछि हार्मोनको गडबडीले महिलाको पाठेघरबाट धेरै रगत बगेमा ल्याप्रोस्कोपी सर्जरीका माध्यमबाट उपचार गर्न सकिन्छ । डाक्टरले औषधिले ठीक नहुने र अप्रेशन गर्नुपर्छ भनेमा मात्र सर्जरी गरिन्छ । त्यस्तै, डिम्बमा ट्युमर पलाएको, पाठेघरमा बच्चा नबसेर डिम्ब वा नलीमा बच्चा बसेको छ भने ल्याप्रोस्कोपी सर्जरीका माध्यमबाट उपचार गर्न सकिन्छ । पुरानो विधिबाट अप्रेशनमा गर्दा १० सेण्टिमिटर चिर्नुपर्छ । तर, ल्याप्रोस्कोपी विधिबाट सर्जरी गर्दा १ सेण्टिमिटर चिरे पुग्छ, जसले गर्दा घाउ छिटो ठीक हुनुका साथै त्यसको दाग छिट्टै हट्छ । बिहान अप्रेशन गरेको बिरामी बेलुकासम्म डिश्चार्ज भइसक्छ ।
रोबोटिक सर्जरीको पनि चर्चा हुँदै आएको छ । यो कस्तो उपचारपद्धति हो ?
प्रविधिको विकास ल्याप्रोस्कोपी सर्जरीबाट धेरै अगाडि बढेर विश्वबजारमा रोबोटिक सर्जरी आइसकेको छ । हामी भने भर्खरै ल्याप्रोस्कोपी सर्जरीमा जान थालेका छौं । रोबोटिक सर्जरीमा पनि यस्तै प्वाल पारेर रोबोटको हातहरूबाट औजार छिराएर अप्रेशन गरिन्छ । यस प्रक्रिया अगाडि बढाउन भने डाक्टरले कम्प्युटरको मोनिटरबाट यसलाई कण्ट्रोल गरिरहेको हुन्छ । यस विधि अत्याधुनिक र उत्कृष्ट मानिन्छ ।
निःसन्तान हुने कारण र यसको उपचार–विधिबारे बताइदिनुहोस् न !
सबैभन्दा पहिले निःसन्तान दम्पती कस्तालाई भन्ने हो, त्यो बुझ्नुपर्छ । श्रीमान्–श्रीमती सँगै १ वर्षसम्म बसेको र नियमित यौन सम्पर्क गरेको तथा परिवार नियोजनका कुनै पनि साधनको प्रयोग नगरेको अवस्थामा पनि गर्भ रहेन भने उनीहरू निःसन्तान दम्पतीमा पर्छन् । पुरुष वा महिला, दुईमध्ये एकको कारण गर्भ नरहेको पनि हुन सक्छ । कुनै दम्पतीमा दुवैमा भएको समस्याले पनि पनि गर्भ रहँदैन । सबैभन्दा पहिला ठोस कारण पत्ता लगाएर उपचार गर्नुपर्छ ।
महिलाको डिम्बाशयबाट अण्डा निस्कन्छ । अण्डा निस्केन भने गर्भ रहँदैन । महिनावारीमा गडबडी भएर डिम्बासयमा साना साना अण्डा बन्छ । तर जुन मूल ठूलो अण्डा बन्नुपर्ने, हो त्यो बन्दैन । यसलाई पीजीओटी (पलिसिटिक ओबरेण्ट डिजिज) भनिन्छ । थाइराइडको समस्याले पनि गर्भ नरहन सक्छ । डिम्बासयको नली बन्द छ भने पनि गर्भ रहँदैन । मासु पलाएको वा भित्र कुनै पर्दा छ भने पनि गर्भधारणमा समस्या आउँछ । यसबाहेक कुनै पनि कारण पत्ता नलागेर पनि गर्भमा समस्या आइरहेको हुन्छ । त्यस्तै, पुरुषमा शुक्रकीटको कमी भएर, शुक्रकीट नै नभएर, शुक्रकीट आउने बाटो बन्द हुनेलगायत समस्या हुन्छ । त्यस्तै, कतिपय पुरुषमा शुक्रकीट भए पनि बच्चा हुन चाहिने ७० प्रतिशत बीउ नपुग्दा पनि गर्भ रहँदैन ।
गर्भवती महिलामा के–कस्ता समस्या देखिन्छन् ?
सबैभन्दा पहिले कुनै महिला गर्भवती भएमा गर्भ कहाँ बसेको छ भनेर तुरुन्तै हेर्नुपर्ने हुन्छ । तर, कतिपय महिला ३÷४ महीनापछि मात्रै गर्भ जाँच गराउन आउने गरेको पाइन्छ । पिसाबको जाँच गरेर गर्भ बसेको त थाहा हुन्छ, तर बच्चा कहाँ बसेको छ भनेर हेर्नु एकदमै आवश्यक छ । बच्चा सधैं पाठेघरमै बस्छ भन्ने छैन । बच्चा कहिलेकाहीँ बाहिर निस्केर नलीमा, डिम्बासय वा पेटमा पनि बस्न सक्छ । यसरी बाहिर गर्भ बसेको छ भने पछि यो फुटेर जाने भएकाले महिलाको ज्यानलाई खतरा हुन्छ । यसलाई ‘एक्टोपिक पे्रग्नेन्सी’ भनिन्छ । त्यस्तै, गर्भ बसेको २/३ महीनामा रगत देखियो भने फेरि महीनावारी भयो भन्ने कतिपयको सोचाइ हुन्छ । तर, त्यो महीनावारी नभएर गर्भ खेर जान खोजेको हो । गर्भ रहेको बेला पिसाबको सङ्क्रमण पनि हुन सक्छ । गर्भ रहेको २० हप्ता कटेपछि प्रेसर बढ्ने समस्या आउन सक्छ । खुट्टा, आँखा सुन्निएको छ वा प्रेसर १४० भन्दा माथि गएको छ भने तुरुन्त स्त्रीरोग विशेषज्ञसँग जाँच गराइहाल्नुपर्छ । गर्भको बेला मधुमेह (सुगर) भयो भने बच्चाको साइज बढ्छ । त्यसैले, यस्तो अवस्थामा सुगर नियन्त्रण गर्नुपर्छ ।