फेरिँदो जीवनशैलीसँगै जङ्क फूडको बढ्दो प्रयोगले हाल मानिसको स्वास्थ्यमा विभिन्न खालका समस्या पर्ने गरेको छ । अस्वस्थ खानपानका कारण हुने धेरै किसिमका समस्यामध्ये एक समस्या पत्थरी हो । पत्थरीलाई बुढेसकालको रोग भन्ने आमबुझाइ छ । पछिल्लो समय अस्पताल धाउने बिरामीहरूमा पत्थरीका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको चिकित्सकहरू बताउँछन् । यसले आम मानिसलाई पत्थरी के हो ? यसले किन समस्या निम्त्याउँछ ? पत्थरी हुँदा कस्ता लक्षण देखिन्छ ? निराकरणका उपायहरू के–के हुन सक्छन् भन्ने जिज्ञासा बढाएको छ । प्रस्तुत छ, यिनै सेरोफेरोमा शेखजायद मेडिकल कलेज, पाकिस्तानबाट जनरल सर्जरी प्लस युरोलोजीमा एमबीबीएस गरेका वरिष्ठ मूत्ररोग विशेषज्ञ डा. विजय मानसिंह कटवालसँग आर्थिक अभियानकी रञ्जु काफ्लेले गरेको कुराकानी :दैनिक कति जना बिरामी परीक्षण गर्नुहुन्छ ?
दैनिकभन्दा पनि म हप्तामा २ सयदेखि ३ सय बिरामीको स्वास्थ्य परीक्षण गर्छु । मकहाँ ६० प्रतिशत बिरामी पत्थरी भएका, त्योभन्दा केही कम प्रोस्टेटको समस्या भएका र पिसाब थैलीमा क्यान्सर भएका बिरामी आउनुहुन्छ । म उहाँहरूको स्वास्थ्य परीक्षण गर्ने र आवश्यकता हेरी सर्जरी पनि गर्ने गर्छु । हामीले रोग र बिरामीको प्रकृति हेरेर काम गर्नुपर्छ । कति बिरामीलाई औषधिले काम गर्छ, कतिलाई अपरेशन गर्नुपर्ने हुन्छ ।
पत्थरी किन हुन्छ ?
पत्थरी यही कारणले हुन्छ भन्ने छैन । खासमा मिर्गाैलाको बनावट र त्यसले गर्ने काम स्याचुरेशनमा गएपछि रगतमा नूनको मात्रा कम हुन्छ र मानव शरीरमा हुने प्याराथाइराइड हर्माेनका कारण शरीरमा क्याल्सियम उत्पादन बढ्छ । मिर्गौलाले रगत छान्दा क्याल्सियम थेग्रिन्छ । यसरी मिर्गाैलाले रगत छान्ने र क्याल्सियम थेग्रने क्रम निरन्तर दोहोरिइरहँदा पत्थरी हुन्छ ।
पत्थरी भयो भने के–कस्ता लक्षण देखिन्छ ?
मिर्गाैलामा पत्थरी भयो भने कोखाबाट तलतिर पेटको तल्लो भाग दुख्छ, पेट निमोठेजस्तो हुन्छ र दुखाइ कोखाबाट क्रमशः तल्तिर सर्दै जान्छ । पिसाबमा रगत पनि देखिन सक्छ । प्रोटेस्ट छ भने पिसाब फेर्न गार्हो हुने, जोड लगाउनुपर्ने र छिनछिनमा पिसाब फेर्न जानुपर्ने हुन्छ ।
रातमा धेरै पटक पिसाब फेर्न उठ्नुपर्ने हुन्छ । यसो गरेपछि पनि तपाईंलाई पूरा राहतको अनुभूति हुँदैन भने तपाईंको मिर्गाैलामा पत्थरी हुन सक्छ । पत्थरी मुख्य गरी पुरुषहरूमा देखा पर्छ । तपाईं उमेर पुगेको वयष्क पुरुष हुनुहुन्छ र बेस्सरी पेट दुख्ने, पोल्ने वा असह्य पीडा हुन्छ भने तपाईंलाई पत्थरी भएको हुन सक्छ । महिलाहरूमा महिनावारीपछि इम्फेक्शनका कारण यस्तो समस्या आउन सक्छ ।
पत्थर शरीरको कुन ठाउँमा बसेको छ, त्यसैअनुसार पनि लक्षण देखिन्छ । सामान्यतया मिर्गाैलामा अप्पर पोल, मिडल पोल र लोअर पोल गरी विभिन्न तीन खण्ड हुन्छन् । लोअर पोलमा पत्थर छ भने खासै दुख्दैन र उपचारमा पनि विशेष केही गर्नै पर्दैन । निरन्तर स्वास्थ्य परीक्षण गरी औषधि सेवन गरेपछि लोअर पोलको पत्थर पिसाबसँगै बगेर जान्छ । पत्थर अप्पर वा मिडल पोलमा छ भने बिरामीलाई असह्य खालको पीडा हुन्छ, यस्तो अवस्थामा अपरेशन गर्नुपर्छ ।
बढी कुन उमेर समूहमा पत्थरीको समस्या देखिन्छ ?
पत्थरी सबै उमेर समूहका व्यक्तिलाई हुन्छ । युवालाई सङ्क्रमणबाट पत्थरी हुन्छ । उमेर पुगेका वा वृद्धावस्थाकालाई पिसाब पूरै नगएपछि पिसाब नली बेलुनजस्तो फुलिन्छ र ब्याकफ्लो भएर मिर्गाैलामा पत्थरी हुन्छ ।
सबैलाई उत्तिकै असर गर्छ ?
असर त पत्थरको अवस्थितिले निर्धारण गर्छ । कामको प्रकृति हेरेर बिरामीलाई अपरेशन वा अरु के गर्ने भन्ने निर्णय लिनुपर्ने हुन्छ । विदेश जाने तयारीमा रहेका, सार्वजनिक/निजी सवारी चालक (ड्राइभर), पाइलटलगायतलाई पत्थरी देखिए तुरुन्त अपरेशन गर्नुपर्छ । अन्यलाई ‘पर्ख र हेर’को विधि अपनाउन सकिन्छ ।
पत्थरीको उपचारमा के–कस्ता प्रविधि प्रयोग भएका छन् ?
२० सेण्टिमीटरभन्दा सानो पत्थर भएको अवस्थामा तलबाट टेलिस्कोप छिराएर पत्थर टुक्रा–टुक्रा पार्ने गरिन्छ । मेशिनको सहयोगमा स–साना टुक्रा भएको पत्थर औषधि सेवन गरेपछि पिसाबसँगै बगेर जान्छ । यसलाई लेजर वा आरआईआरएस गरेको भनिन्छ । अर्काे पीसीएनएल गर्न सकिन्छ । यसका लागि एक्स–रे गरेर हेर्नुपर्छ । यो विधिबाट उपचार गर्दा चिकित्सकलाई क्यान्सर बनाउन सक्ने भएकाले एक हप्तामा एकजना चिकित्सकले एकओटा मात्र यस्तो अपरेशन गर्न सकिन्छ । खुला अपरेशन गर्ने विकल्प त छँदै छ ।
प्रोस्टेट के हो ?
यो एउटा ग्रन्थी हो । युवावस्थामा यसले वीर्यलाई आराम गर्ने घरका रूपमा काम गर्छ । यो ग्रन्थी अस्वाभाविक रूपमा बढ्न थाल्यो भने पिसाबसम्बन्धी समस्या देखा पर्छ । प्रोस्टेट हुने ५ देखि १० प्रतिशत बिरामीलाई पिसाब थैलीको क्यान्सर हुन्छ । क्यान्सर लागिसकेको अवस्थामा उपचार असहज हुन्छ, किनभने बिरामी बढी हतास र निराश हुन्छ ।
पत्थरी हुने कारण पनि बताइदिनुस् न ?
यसका धेरै कारण छन् । त्यसमध्येको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अस्वस्थ खानपान नै हो । माछामासु बढी खाँदा शरीरमा पत्थर बन्ने जोखीम बढी हुन्छ । वजन धेरै भएकाले पनि हुन सक्छ, शरीरमा पानीको मात्रा कम भयो भने पनि पत्थरी हुन्छ । यसलाई बच्चाबच्चीलाई वंशाणुगत कारणले, अरुलाई खानाका कारण मिर्गाैलामा भएको संयन्त्र खलबलिएको कारणले हुन्छ ।
पत्थरी ग्रामीण भेगमा भन्दा शहरमा बढी हुन्छ भन्छन्, हो ?
हो । गाउँमा बस्नेलाई भन्दा शहरमा बस्नेहरूमा यो समस्या बढी पाइएको छ । यसको कारण अस्वस्थ खानपान नै हो । ग्रामीण भेगका मानिसले सादा तर स्वस्थ खानेकुरा खाने तर शहरमा बस्नेहरूले खानालाई खासै वास्ता नगर्ने, जे पायो त्यही खाइहाल्ने र पानीको मात्रा पनि नपुग्ने भएपछि शहरमा बस्नेलाई बढी जोखीम देखिएको हो । अस्वस्थ खानाले पहिले मोटोपन र त्यसमा भएका विकारले पत्थरी बनाउँछ ।
पत्थरी भनेको ढुङ्गा नै हो कि अरु कुनै तत्व हो ?
यो खोलानालामा हुने ढुङ्गाजस्तै ठूलो आकारको नभए पनि ढुङ्गा नै हो । त्यसैले लामो समयसम्म यसको उपचार नगरीकनै बसिरहे यसले मूत्र नलीको भित्री सतह बिगार्ने, म्युकोसाको प्रकृति बिगार्ने गर्छ, जसका कारण मिर्गाैला फेल पनि हुन सक्छ ।
पत्थरीलाई पूर्ण रूपमा निको पार्न के गर्नुपर्ला ?
सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको रोग लागेर उपचार गर्नुभन्दा पनि रोग लाग्नै नदिने हो । त्यसैले खानपानमा सजग रहनुपर्छ । अस्वस्थ्य खानपानले पत्थरी भएका धेरै युवा अहिले अस्पताल आउने गरेका छन् । यसरी युवाहरू अस्वस्थ भएपछि अर्थतन्त्रमा प्रत्यक्ष नकारात्मक प्रभाव पर्छ ।
पत्थरी हुन नदिन प्रशस्त पानी पिउनुपर्छ । यति नै पिउनुपर्छ भन्ने कुनै मापदण्ड त छैन । तर, आफूले खाएको खानालाई घुल्न पर्याप्त हुनेगरी पानी पिउनुपर्छ । त्यसले पत्थरी हुनबाट रोक्छ ।
पत्थरी भइहाले उपचारका धेरै विधि छन् । आफूअनुकूल हुने विधि अपनाउन सकिन्छ । उपचार विधि छनोट गर्दा पत्थर कहाँ छ भन्नेमा भने सचेत रहनुपर्छ ।
पत्थरी अपरेशन भएपछि पनि पुनः उब्जन सक्छ ?
जीवनशैलीमा परिवर्तन भएन, प्रशस्त पानी पुगेन भने १० वर्षमा फेरि पत्थरी हुन सक्छ । शरीरमा समस्या वा कुनै संयन्त्रमा खराबी आएको अवस्थामा पत्थरी उब्जने सम्भावना रहिरहन्छ ।
यसको उपचारमा उमेर हद लागू हुन्छ भन्छन् नि ?
होइन, त्यस्तो हुँदैन । बच्चा, युवा वा वृद्धावस्थामा पनि यसको उपचार सम्भव छ । कुनै उमेर हद लागू हुँदैन । पत्थरी भएको शङ्का लागेमा लुकाउने, पीडा सहने गर्नु हुँदैन, अस्पताल गएर परीक्षण गरिहाल्नुपर्छ । शरीरमा अरु ठूला र जटिल रोग छैन, बिरामीले इच्छाशक्ति राख्छ भने जुनसुकै उमेरमा उपचार गर्न सकिन्छ ।
यो रोगको उपचार सस्तो वा महँगो कस्तो छ ?
सरकारी अस्पतालमा एकदमै सस्तो छ । अङ्ग प्रत्यारोपण केन्द्रमा १० हजार रुपैयाँमै पत्थरीको पीसीएनएल विधिबाट उपचार हुन्छ । औषधि र उपचार दुवै गर्दा पनि २०/२५ हजार भन्दा बढी खर्च हुँदैन । निजी र सुविधासम्पन्न अस्पताल महँगो हुन सक्छ । निदान अस्पतालमा आउनुभयो भने सामान्यतया २०/२५ हजार र कहिलेकाहीँ ३०/४० हजार रुपैयाँ लाग्न सक्छ । अस्पताल त आफ्नो हैसियतअनुसार छनोट गर्न सकिन्छ । देशभर सबै स्तरका अस्पताल र पर्याप्त विशेषज्ञहरू छन् ।
उपचार प्रक्रियामा पनि समस्या छ भन्ने सुनिन्छ नि ?
मनोविज्ञान त्यस्तो बनेको होला, वास्तविकता त्यस्तो छैन । काठमाडौंमा मात्रै ४०/४२ ओटा अस्पताल छन्, अत्याधुनिक विधि र सक्षम चिकित्सक पनि उपलब्ध छन् । र, फेरि पहिलेको जस्तो खुला अपरेशन पनि गर्नु पर्दैन । त्यसैले प्रक्रियामा त्यस्तो केही समस्या छैन । प्रतिस्पर्धी सेवा दिने समय हो अहिले । सबैको ध्यान प्रक्रियालाई कसरी भएको भन्दा सरल सहज र पहुँचमा पुर्याउने भन्ने नै छ ।
औषधि खान सहज माने पनि बिरामीहरू अपरेशनको नामैले डराउँछन् नि ?
अपरेशनसँग डराउनु स्वाभाविक नै हो । तर, अहिले बेहोस हुनुपर्ने, खुला अपरेशन नै गर्नुपर्ने भन्ने छैन । ५ एमएम देखि १ सेण्टिमीटरको प्वाल पारेर ढुङ्गा निकाल्न सकिन्छ, जुन अप्रेशन नै भए पनि सामान्य खालको हो । मेडिकल साइन्सले धेरै नै फड्को मारिसकेको छ । नयाँनयाँ उपचार विधिहरू आएका छन् । अहिले मिर्गाैलाको पत्थरीको अप्रेशन चिरेर वा नचिरीकनै पनि गर्न सकिन्छ ।
अप्रेशन नगरेर मेशिनबाट त्यसलाई फुटाएर पनि गर्न सकिन्छ । अस्पतालमा अप्रेशन नै गरे पनि अप्रेशन गरेको दोस्रो दिन घर जान सकिन्छ । मूत्र नलीको अप्रेशन गरेका बिरामी त सोही दिन घर जान पनि सक्छन् । त्यसैले पत्थरीका बिरामीले निसङ्कोच अस्पताल आउँदा हुन्छ । पहिला हामीले नै कम्तीमा २ बित्ता काटेर अप्रेशन गथ्र्याैं, अहिले त्यस्तो अवस्था छैन । धेरै सजिलो विधिबाट उपचार हुन्छ ।