ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली प्रदेश सरकारको योजना : वार्षिक ६ हजार युवालाई रोजगारी

Sep 3, 2018  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

युवालाई स्वरोजगार बनाउनमा कर्णालीमा प्रदेश सरकारले विशेष योजना ल्याउने भएको छ । रोजगारीका लागि युवाहरू विदेश पलायन हुन थालेपछि यसलाई रोक्न प्रदेश सरकारले युवा लक्षित स्वरोजगारका कार्यक्रम तथा योजना सञ्चालन गर्ने भएको हो । जसअन्तर्गत हरेक वर्ष ६ हजार युवालाई स्वरोजगार बनाउने योजना रहेको प्रदेश सरकारले बताएको छ ।

सामाजिक विकास मन्त्रालयले कर्णालीका बेरोजगार युवालाई स्वरोजगार बनाउन युवा रोजगार कार्यक्रम तयार पारेको छ । यसका लागि विभिन्न शीपमूलक तालीम तथा प्राविधिक शिक्षा प्रदान गरिनेछ । यस्तै सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र क्षमता अभिवृद्धि तालीममार्फत युवाहरूलाई रोजगारी दिने गरी बजेट विनियोजन गरिएको र नीतिसमेत पारित भएको सामाजिक विकास मन्त्री दल रावलको भनाइ छ । कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्लाहरूबाट रोजगारीका लागि भारतलगायत तेस्रो मुलुकमा जाने युवाहरूको सङ्ख्या बढ्दो छ । युवा जनशक्ति विदेश पलायन हुने र यसले प्रदेशको समृद्धिमा नै बाधा पुगेको भन्दै अब स्वदेशमा नै युवालाई रोजगारी उपलब्ध गराइने प्रदेश सरकारको भनाइ छ । यसका लागि सामाजिक विकास मन्त्रालयले युवा लक्षित नीति ल्याउन लागेको मन्त्री रावलले औंल्याए । मन्त्री रावलले भने, ‘युवालाई विदेश पठाएर प्रदेशलाई समृद्ध बनाउन सकिन्न, यसका लागि युवालाई गाउँमै रोक्नुपर्छ । सरकार युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन विशेष योजना ल्याउँदै छ, हरेक वर्ष प्रदेशका ६ हजार युवालाई स्वरोजगार बनाउँदै छ ।’

हाल कर्णालीमा कति युवा बेरोजगार छन् भन्ने बारेमा प्रदेश सरकारसँग कुनै तथ्याङ्क भने छैन । तर, शीपमूलक तालीम र प्राविधिक शिक्षालाई प्राथमिकता दिएर वार्षिक ६ हजार युवालाई स्वरोजगार बनाउने लक्ष्यअनुसार नै नीति निर्माण भइरहेको बताइएको छ । उच्च शिक्षाबाट वञ्चित युवालाई क्षमता अभिवृद्धि तालीम प्रदान गरिने र उनीहरूलाई रोजगार बनाइने मन्त्री रावलले बताए । ‘क्षमता अभिवृद्धिमार्फत उद्योग कलकारखानाका लागि दक्ष युवा उत्पादन गर्ने योजना प्रदेश सरकारको छ,’ उनले भने, ‘विद्यालयमा प्राविधिक शिक्षा दिएर प्रदेशमा चाहिने प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने नीति सरकारको हो ।’ कर्णालीका १० ओटै जिल्लामा गठित जिल्ला युवा समितिमार्फत युवालक्षित कार्यक्रम लागू गरिनेछ ।

प्राविधिक तालीमपश्चात युवाहरूलाई स्वरोजगार बनाउन व्यावसायिक रणनीति पेश गरे विनाधितो ऋण दिने नीति प्रदेश सरकारले ल्याउन लागेको मन्त्री रावलले बताए । सरकारले युवालाई स्वरोजगारमा आकर्षण गर्न व्यावसायिक योजनाका आधारमा ऋण दिने भएको हो । मन्त्री रावलका अनुसार आगामी ५ वर्षमा कर्णालीमा बेरोजगारको सङ्ख्या शून्य पार्ने नीति सरकारले लिएको छ । ‘कृषि, पर्यटन, जलविद्युत्लगायत प्रचुर सम्भावनालाई उपभोग गर्न बर्षेनि ६ हजार युवालाई रोजगारी लगाउने नीति सरकारले ल्याउँदैछ’ मन्त्री रावलले भने, ‘५ वर्षभित्र कर्णालीका कोही युवाले पनि विदेशिनु र बेरोजगार बस्नु पर्दैन ।’ यसका लागि सरकारले पहिलो चरणमा कर्णाली प्रदेशमा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन गर्नेछ । तथ्याङ्कका आधारमा आवश्यक कार्यक्रमहरू स्थानीय तहमा सञ्चालन गर्ने योजना प्रदेश सरकारको छ । युवा समितिमार्फत कर्णालीका हरेक स्थानीय तहमा लागू हुने गरी युवा स्वरोजगार कार्यक्रम लागू गरिने भएको हो ।

सङ्घीय संरचनाअनुसार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा श्रम कार्यालय स्थापना हुने मन्त्री रावलले जानकारी दिए । कार्यालय स्थापना भएसँगै वैदेशिक रोजगारीसम्बन्धी कामहरू प्रदेश राजधानीबाटै हुनेछन् । जसका लागि सङ्घीय सरकारसँग समन्वय भइसकेको उनले बताए । राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिका अध्यक्ष टेकेन्द्रकुमार बस्नेत युवालाई देशभित्रै स्वरोजगार बनाउन नसके विकास सम्भव नभएको बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)