ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिउँ र पहिरोले अवरुद्ध सिमकोट-हिल्सा सडक पाँच महीनापछि पुनः सञ्चालन

२०८० जेठ, ११  
समाचार कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सांकेतिक तस्वीर

सिमकोट । पाँच महीनादेखि अवरुद्ध हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-५ मा पर्ने नारा लेख सडकखण्ड सञ्चालनमा आएको छ । गत पुसको भारी हिमपातपछि अवरुद्ध उक्त सडकखण्ड केही दिनअघिदेखि सञ्चालन भएको हो ।

डोजरले नौ दिन लगाएर हिउँ र पहिरो पन्छाएपछि सिमकोट-हिल्सा सडक सञ्चालन आएको हो । नाम्खा-५ को यारीमा पर्ने नारा लेकमा जमेको झण्डै चार फिटसम्मको हिउँ र पहिरो पन्छाएर सडक सञ्चालन भएको हिल्सा-सिमकोट सडक आयोजनाका इञ्जिनीयर नीरज राजवंशीले बताए । नारापासमा यातायात सञ्चालन गर्न नौ दिन लगाएर हिउँ र पहिरो पन्छ्याइएको इञ्जिनीयर राजवंशीले बताए । 

सिमकोट-हिल्सा सडकखण्डको सिमकोटदेखि यारीसम्म यातायात सञ्चालन भए पनि नारामा हिउँ जमेकोले पाँच महीनादेखि सडक अवरुद्ध थियो । हिल्सा-यारी खण्डको २८ किलोमिटर सडकमध्ये १० किमि सडकबाट हिउँ र १८ किमि सडकबाट पहिरो पन्छाइएको हो । 

पाँच महीनादेखि सडक यातायात अवरुद्ध हुँदा स्थानीय एवं व्यापारी पैदलै हिँड्न बाध्य थिए । वैशाख १८ गतेदेखि जेठ पहिलो हप्तासम्म ताक्लाकोट जाने हुम्ली तथा हिल्सामा कार्यरत सुरक्षाकर्मीले यसअघि पैदल भएर आवतजावत गरिरहेका थिए । अहिले पहिरो र हिउँ पन्छाएसँगै सडक यातायात सञ्चालन भएपछि यात्रुलाई सहज भएको सिमकोट गाउँपालिका-७ का बासिन्दा वीरबहादुर सिंहले बताए । 

कर्णाली करिडोरअन्तर्गतको हिल्सा-सिमकोट सडक खण्ड हिल्सा-सिमकोट सडक आयोजनाको क्षेत्रमा पर्ने भएकाले कार्यालयले आफैंले मेसिन लगाएर हिउँ पन्छाएको इञ्जिनीयर राजवंशीले बताए ।

अघिल्लो वर्षसम्म हिल्सा नाका बन्द भएकाले सीमित रूपमा सञ्चालन हुने सवारीसाधन नाका खुलेपछि भने चीनको ताक्लाकोटसम्मै सञ्चालन भएका छन् । यससँगै त्यहाँ जानेको संख्या बढेको छ । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)