२०१८ वैशाख १ गते सल्यान र जाजरकोट जिल्लाबाट छुट्टिएर बनेकोे रुकुम हाल दुई जिल्लामा विभाजित छ । सङ्घीय संरचनाअनुसार रुकुमका तीन गाउँपालिका भुमे, सिस्ने र पुथा उत्तरगङ्गा गाउँपालिका मिलेर रुकुम (पूर्व) जिल्ला बनेको छ । यसैगरी सानीभेरी, बाँफीकोट, त्रिवेणी गाउँपालिकाका साथै चौरजहारी, आठबिसकोट र मुसिकोट नगरपालिका मिलेर रुकुम (पश्चिम) जिल्ला बनेको हो ।
नेपालको संविधान २०७२ को अनुसूची–४ मा उल्लेख गरिएअनुसार हाललाई रुकुम जिल्लाको दुई भागमध्ये प्रदेश नं ५ मा ‘रुकुम (पूर्वी भाग)’ र प्रदेश नं ६ मा ‘रुकुम (पश्चिम भाग)’ परेको छ । २०३० वैशाख २ गते तत्कालीन पञ्चायती व्यवस्थामा शासन गरिरहेका केही पञ्चहरूको सत्ता स्वार्थका कारण रुकुम जिल्लाको सदरमुकाम रातारात मुसीकोट सारेपछि ओझेलमा परेको पूर्वी रुकुमको रुकुमकोटमा ४४ वर्षपछि कान्छो जिल्लाको सदरमुकाम बनेको छ । विकासको दृष्टिकोणले पछाडि परेको र हिमाली क्षेत्रको रूपमा रहेको रुकुम पूर्वमा प्रचुर सम्भावना छ । रुकुमको पूर्वी भाग क्षेत्रफलका हिसाबले ठूलो भए पनि जनसङ्ख्याका हिसाबले भने सानो छ । २०६८ सालको जनगणनाअनुसार सिङ्गो रुकुमको जनसङ्ख्या संस्थागतसहित २ लाख ८ हजार ५ सय ६७ छ । यसमध्ये पश्चिम रुकुमको कुल जनसङ्ख्या १ लाख ५४ हजार २ सय ७२ छ भने पूर्वी रुकुमको जनसङ्ख्या ५३ हजार १८ छ । यस हिसाबले हेर्दा पूर्वभन्दा पश्चिम रुकुमको जनसङ्ख्या १ लाख १ हजार २ सय ५४ बढी छ । रुकुमको पूर्वी क्षेत्रलाई देशको कान्छो जिल्लाको रूपमा स्थापना गरी विकासको मार्गमा दौडाउनुपर्ने स्थानीय बुद्धिजीवीको तर्क छ । रुकुमकोट रुकुमको ५२ पोखरी र ५३ टाकुरीको रूपमा रहेको पूर्वी रुकुमको रुकुमकोट हाल सिस्ने गाउँपालिकाको ५ र ६ नं वडामा अवस्थित छ । यस रुकुमकोट उपत्यका १४औं शताब्दीमा मगर राजाको राजधानीको रूपमा रहेको र १४औं शताब्दीपछि भने मल्ल राजाहरूले शासन गरेको इतिहासमा पाइन्छ । मध्यकालीन समयमा तत्कालीन राजारजौटाहरू बस्ने यस ठाउँलाई कोट भनिन्थ्यो । रुकुमकोट तिनै राजारजौटाहरू बस्ने कोटहरूमध्ये एउटा हो । तत्कालीन बाइसे–चौबिसे राज्यहरूमध्ये रुकुमकोट एक शक्तिशाली राज्यका रूपमा मानिथ्यो । ‘दशकौं अघि गुमेको सदरमुकाम फर्किए पनि यसअघिको सरकारले पूर्वी रुकुमको सदरमुकाम कोलको गोलखारा सार्ने निर्णय गरेको थियो । भौगोलिक दूरी हिसाबले गोलखारामा सदरमुकाम माग्दै आएका कारण रुकुम पूर्वको सदरमुकाम गोलाखारा गर्ने निर्णय गरे पनि रुकुमकोटवासीको विरोधका कारण अहिले अस्थायी रूपमा रुकुमकोटमा छ । पूर्वी रुकुमको सदरमुकामको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ ।
पर्यटन पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा नेपालकै दुर्लभ मानिने कमल पाइने कमल दह, छिप्रदह, देउराली गुफा र भगवती मन्दिर, शिव मन्दिर, कालिका स्थान, कोटघर र तामाखानीजस्ता प्राकृतिक पर्यटकीय एवम् ऐतिहासिक सम्पदाले भरिएको छ । यसैगरी पुथाहिमाल, सिस्ने हिमाललगायत एक दर्जनभन्दा बढी हिमशृङ्खला यहाँ छन् । यस क्षेत्रमा मगर समुदायको बाहुल्य छ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन वन्यजन्तु शिकार आरक्ष क्षेत्रको कुल भागमध्ये ६५ दशमलव २९ प्रतिशत भू–भागसमेत यहीँ पर्छ । पर्यटन क्षेत्रको प्रचार प्रसार विकास भएमा यस जिल्लाको मुहार फेरिने पर्यटन व्यवसायी चन्द्रबहादुर केसीले जानकारी दिएका छन् । पूर्वी रुकुममा साहसिक तथा पर्यटन क्षेत्रका लागि पर्वतारोहण, प्याराग्लाइडिङ, र्याफ्टिङलगायत क्षेत्रको उत्तिकै सम्भावना छ ।
जडीबुटी भण्डारण उच्च पहाडी क्षेत्र र बुकी–पाटन, अग्ला लेक र हिमाली क्षेत्रका रूपमा रहेको पूर्वी रुकुम जडीबुटीको भण्डार नै मानिन्छ । बहुमूल्य जडीबुटी यार्सागुम्बा, पाँचऔंले, चिराइतो, तीतेपाती, समय, कुरिला, टिम्मुरजस्ता पहाडी र हिमाली जडीबुटीको भण्डारको रूपमा रहेको छ रुकुम पूर्व । यहाँबाट हरेक वर्ष करोडौंको जडीबुटी निकासी हुने गरेको छ छ । जिल्लका धेरै किसानको आयआर्जनको मुख्य स्रोत जडीबुटी नै हो । रुकुम पूर्वका मैकोट, हुकाम, तकसेरालगायत लेक तथा पाटनमा बहुमूल्य जडीबुटी पाइन्छ । साथै, स्याउ, ओखर र सुन्तलाका लागि समेत रुकुम पूर्व राम्रो सम्भावना भएको क्षेत्र हो ।
पशुपालन र उद्योग पूर्वी रुकुम पशुपालन र औद्योगिक क्षेत्रको रूपमा परिचित छ । पशुपालनअन्तर्गत भेडापालन, बाख्रापालन, गाईपालन र बङ्गुर पालनका लागि यो क्षेत्र उपयुक्त मानिन्छ । रुकुम पूर्व फरक संस्कृति र फरक पहिचानको बोकेको जिल्ला हो । विशेषगरी पूर्वी रुकुमका भुमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका घरघरमा घरेलु उद्योग (तान)मार्फत राडीपाखी बनाइन्छ । भेडाको ऊन, अल्लो, केतुकेलगायत कच्चापदार्थको प्रयोगबाट कम्बल, पटुका, गलबन्दीसमेत उत्पादन गरी विक्री वितरण हुने गर्छ । यसको विकास र प्रवद्र्धन गरे रुकुम पूर्वको बेरोजगार समस्या हट्नेछ । तर, यसको आधुनिकीकरण र व्यावसायिकीकरणका लागि जोड दिनुपर्ने आवश्यकता छ ।
जलविद्युत् पूर्वी रुकुममा ५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण भइरहेको छ । जिल्लाको रुकुमगाड खोलाबाट आगामी २ वर्षभित्र ५ मेगावाट क्षमताको विद्युत् निर्माण हुन थालेको हो । जिल्लाकै ठूलो क्षमताको विद्युत् आयोजना निर्माणपछि पूर्वी रुकुम, पश्चिम रुकुमका साथै अन्य छिमेकी जिल्लाले भोग्दै आएको विद्युत् समस्या हट्ने विश्वास लिइएको छ । विद्युत् निर्माणपछि पूर्वी रुकुम र पश्चिम रुकुममा साना तथा ठूला उद्योग स्थापना हुने रुकुम उद्योग वाणिज्य सङ्घ रुकुम (पश्चिम)का अध्यक्ष टेकबहादुर पुनले जानकारी दिए । उनले भने, ‘विद्युत् निर्माणले उद्योगमा लगानी हुने सम्भावना छ ।’ करीब १ अर्ब लागतको उक्त जलविद्युत् आयोजना पूर्वी रुकुमको सिस्ने गाउँपालिका–५ र भुमेगाउँपालिका–४ धौलापहिरानजीक निर्माण हुन थालेको छ । पछिल्लो समय रुकुमगाड जलविद्युत् आयोजनाको कामले गति लिएको छ भने पूर्वी रुकुमका साना तथा ठूला खोलामा समेत २ दर्जनभन्दा बढी विद्युत् आयोजनामा लगानी भएको छ । रुकुमगाड जलविद्युत् आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीदविक्री सम्झौतासमेत गरेको छ । रुकुमगाड जलविद्युत् आयोजना निर्माणको जिम्मा राप्ती हाइड्रो एण्ड जनरल कन्ष्ट्रक्शन लिमिटेडले पाएको छ भने विद्युत् आयोजना २०७६ सालभित्र निर्माणको काम सम्पन्न हुनेछ ।
मध्यपहाडी लोकमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजना मानेर तीव्ररूपमा काम अगाडि बढाइरहेको मध्यपहाडी पुष्पलाल लोकमार्गले पूर्वी रुकुमको भुमे गाउँपालिका वडा नं १ को पातीहाल्नेदेखि सिस्ने गाउँपालिकाको खोपीचारसम्मको भूभाग सडक सञ्जालले जोडेको छ । लोकमार्ग निर्माणले पूर्वी रुकुमलाई केन्द्रीय राजधानीसँग काठमाडौंलगायत पर्यटकीय नगर पोखरा, बाग्लुङ, औद्योगिक नगर बुटवललगायत क्षेत्र जोड्नेछ, जसले पूर्वी रुकुमको विकासको ढोका खोल्ने रुकुम पूर्वका निमित्त स्थानीय समन्वय अधिकारी चिन्तामणि दाहालले बताए । पूर्वी रुकुमको विकास निर्माण र पर्यटन क्षेत्रमासमेत यसले महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । पछिल्लो समय पूर्वी रुकुमको गाउँ–गाउँमा स्थानीय सडक विस्तारको कामले समेत तीव्रता लिएको छ । विकासको हिसाबले पछि परेको र भौगोलिक रूपमा विकट पूर्वी रुकुमको विकास काँचुली फेर्ने स्थानीयले बताएका छन् ।
चुनौतीहरू रुकुमको कान्छो जिल्ला रुकुम पूर्व सम्भावना नै सम्भावनाको जिल्ला भए पनि विकासका लागि चुनौती पनि त्यत्तिकै छन् । विशेषगरी भौगोलिक विकटता यस क्षेत्रको मुख्य चुनौती हो । यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, सञ्चारको अझै पहुँच पुग्न सकेको छैन । विशेषगरी रन्मामैकोट, कोल, राङ्सी, हुकाम, जाङ, तकसेरा, सिस्ने, प्वाङलगायत क्षेत्र अझै पनि टेलिफोनको सुविधा छैन । यसको विकासका लागि स्थानीय सरकाले पहल गरे पनि बजेट अभावका कारण सफल हुन नसकेको भुमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले जानकारी दिए । अझै पनि कतिपय गाउँमा विद्युत् र सडकको पहुँच पुगेको छैन । यस कारण यहाँ उत्पादित फलफूलले पुग्न सकेका छैनन् । तर, पूर्वी रुकुमको विकास र समृद्धिका लागि स्थानीय राजनीतिक दलहरू एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता दिएका छन् । यस क्षेत्रको अर्को समस्या भ्रष्टाचार र अनियमितता पनि हो । यसको न्यूनीकरण गरे पूर्वी रुकुम कान्छो जिल्लामा मात्र होइन, विकासका हिसाबले समृद्धि जिल्ला बन्नेछ ।