ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीको विकास र समृद्धिको आधार

Sep 3, 2018  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

कर्णाली प्रदेश प्राकृतिक स्रोत साधनले धनी प्रदेश हो । यहाँका नदीनालामा झण्डै २० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन हुने सम्भावना छ । नेपालको पर्यटनका लागि पनि कर्णाली प्रदेश उतिकै सम्भावित क्षेत्र रहेको छ भने जडीबुटी भण्डारको रूपमा कर्णाली प्रदेश चिनिन्छ । यहाँका हिमाली जिल्लामा वर्षेनि अर्बौंको जडीबुटी उत्पादन र निर्यात हुने गर्दछ ।

कर्णाली प्रदेश सरकारले विकास र समृद्धिको आधारका रूपमा पर्यटन क्षेत्रलाई अघि सारेको छ, जसअन्तर्गत २०७५ साललाई ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मनाइरहेको छ । यसको शुरुआत वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाटै उद्घाटन गरेर कर्णाली भ्रमण वर्षको रूपमा प्रारम्भ गरेका छन् ।

‘कर्णाली पर्यटन वर्ष २०७५’ को अवसरमा वर्षभर पर्यटन गतिविधि गर्ने, कार्यक्रम तय गरिएको छ भने भ्रमण वर्षको अवधिमा झण्डै ५ लाख पर्यटक कर्णाली प्रदेशमा भित्र्याउने लक्ष्य राखिएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बताउँछन् । उनी भन्छन्, ‘कर्णालीको पहिलो प्राथमिकता भनेको पर्यटनबाटै समृद्धि हो ।’

नेपालकै सबैभन्दा ठूलो र अग्लो स्थानमा रहेको राराताल मनोरम प्राकृतिक स्थल मात्रै होइन, पर्यटकीय दृष्टिकोणले एक महŒवपूर्ण गन्तव्य पनि कर्णाली प्रदेश हो । चीनको स्वशासित क्षेत्र तिब्बतस्थित पवित्र तिर्थस्थल कैलाश मानसरोवरको प्रवेशद्वार कर्णाली प्रदेश भएकै कारण पर्यटनसँगै धार्मिक पर्यटनको रूपमा कर्णाली प्रदेश प्रख्यात रहेको छ । कर्णाली प्रदेश प्रकृति, संस्कृति र सांस्कृतिक हिसाबले एक महत्त्वपूर्ण गन्तव्य हो । यहाँ प्राकृतिक सुन्दरता, धार्मिक क्षेत्र र बहुसांस्कृतिक क्षेत्र कर्णाली प्रदेश हो । कर्णाली प्रदेश यति धेरै सम्भावना हुँदाहुँदै पनि यहाँ भौगोलिक विकटता, लगानीमैत्री वातावरण नहुनु, अशिक्षा, गरीबी तथा पछौटेपनजस्ता कारणले यहाँका मानिसको जीवनस्तर फेरिन सकेको छैन । पर्यटकीय क्षेत्रको पहिचान, विकास विस्तार र प्रवर्द्धन समेत हुन सकेको छैन ।

पर्यटकीय दृष्टिकोणले नेपालकै आकर्षक गन्तव्यका रूपमा चिनिन्छ कर्णाली प्रदेश । यहाँका तालतलैया, धर्म संस्कृति, कर्णालीबासीको जीवनशैली, वेशभूषा, नेपाली भाषाको उत्पति, हिमाली क्षेत्र तथा डाँडापाखा पर्यटन क्षेत्रका मुख्य आधार हुन् । तर, पनि पर्यटकीय क्षेत्रहरूमा पूर्वाधार अभाव, पर्यटकीय क्षेत्रको बारेमा प्रचार–प्रसार नहुनुजस्ता कारण कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरू ओझेलमा परेका छन् । यसबाट प्रत्यक्ष लाभ लिन नसकिएको कर्णाली प्रदेशका मुख्य मन्त्री शाहीको तर्क रहेको छ ।

कर्णाली प्रदेश राष्ट्रकै उत्कृष्ट सम्भावना बोकेको क्षेत्र हो । यस क्षेत्रमा उस्तै समस्या, सम्भावना र चुनौती पनि छन् । समस्यालाई सम्भावनाको रूपमा विकास गर्न सके कर्णाली प्रदेशको विकास र समृद्धि सम्भव रहेको स्थानीयले स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । पर्यटन व्यवसायी चन्द्रबहादुर केसी भन्छन्, ‘पर्यटन विकासबिना कर्णालीको विकास र समृद्धि सम्भव छैन् ।

कर्णाली प्रदेश क्षेत्रभित्रमा रहेको मुगुको रारा ताल, रारा राष्ट्रिय निकुञ्ज, विश्वकै अग्लो स्थानमा रहेको छायाँनाथ मन्दिर, डोल्पाको शेगुम्बा र फोक्सुण्डो ताल, वाला त्रिपुरासुन्दरी, जुम्लाको नेपाली भाषा तथा सभ्यताको उद्गमथलो सिञ्जा उपत्यका, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै मन्दिर, कालीकोटको रास्कोट, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पातल छहाराजस्ता मनोरम धार्मिक तथा पर्यटकीय स्थालहरू रहेका छन् । यसका साथै हुम्लाको लिमी उपत्यका, सबैभन्दा पुरानो हाल्जी गुम्बा, रलिङ गुम्बा, याल्वाङ गुम्बा, खापुनाथदेखि मानसरोवर कैलाशको पैदल यात्रा, रुकुम (पश्चिम)को डिग्रेशाइकुमारी मन्दिर, स्यार्पूताल, साँख दह, रिमदह, माछमी ज्यूला, छिवाङज्यूला, मण्डली माई, चौरजहारी फाँट, विजेश्वरी मन्दिर, सल्यानको कुपिण्डे दह, श्रीनगर फाँट, शारदा नदी, जाजरकोटको ठाकुरजी दह, जाजरकोट दरबार, दैलेखमा ज्वाला, दुल्लु दरबार, नेपालका विभिन्न जातिका ३२ थरको उद्गमस्थललगायत प्रमुख पर्यटकीय सम्पदा कर्णाली प्रदेशमै पर्दछ ।

यसका साथै कर्णाली प्रदेशमा नेपालकै सबैभन्दा उचाइमा रहेको मानव वस्ती डोल्पाको छार्का भोट पनि पर्यटकीय दृष्टिकोणले आकर्षक मानिन्छ । कर्णाली प्रदेश साहसिक पर्यटकको पनि उतिकै सम्भावना रहेको छ । कर्णाली, भेरी नदीका साथै रारातालमा र्‍याफ्टिङ, कर्णाली प्रदेशका विभिन्न डाडाँकाडामा प्यारागलाइडिङ, हिमाल आरोहण तथा पदयात्रा, क्यानोनिङ, जम्पिङजस्ता साहसिक पर्यटकको लागि उतिकै सम्भावित क्षेत्र हो कर्णाली प्रदेश । तर, यसको पहिचान, प्रवद्र्धन र विकास भने हुन सकेको छैन ।

पर्यटन वर्ष कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि रारा–कर्णाली पर्यटन वर्ष २०७५ को अभियान शुरू गरेको छ । यसअन्तर्गत भर्षभरि कम्तीमा ५ लाख पर्यटकलाई कर्णाली प्रदेशमा भ्रमण बनाउने लक्ष्य कर्णाली प्रदेश सरकारको रहेको छ । यसअघिका वर्षहरूमा मुस्किलले ५० हजार पर्यटकले मात्र कर्णाली प्रदेशमा भ्रमण गर्ने गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले बताए । उनले भने, ‘कर्णाली भ्रमण वर्षको अवसरमा ५ लाख पर्यटक कर्णाली पुग्नेछन् ।’ यसबाट कर्णाली प्रदेशमा करोडौं रकम भित्रिने छ । पर्यटन क्षेत्रबाटै कर्णाली प्रदेशको विकास र समृद्धिको सम्भावना रहेको मुख्यमन्त्री शाहीको भनाइ रहेको छ ।

सरकारका प्राथमिकता कर्णाली प्रदेश सरकारले २०७५ लाई कर्णाली भ्रमण वर्ष घोषणा गरेसँगै नयाँ योजना तथा कार्यक्रम पनि अघि सारेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीका अनुसार कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रको अध्ययन, विकास र प्रवद्र्धनका लागि विशेष योजना निर्माणका प्राथमिकता दिएको छ । कर्णाली प्रदेशको विकास समृद्धि पर्यटन क्षेत्रबाटै सम्भव रहेको मुख्य मन्त्री शाहीको तर्क छ । चालू आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेश सरकारले कर्णालीको पर्यटन विकासका लागि झण्डै एक अर्ब रुपैयाँ लगानी गरेको मुख्यमन्त्री शाहीले जानकारी दिएका छन् ।

पर्यटन क्षेत्रकै विकासका लागि कर्णालीको सांस्कृतिक अध्ययन र ऐतिहासिक तथा पुरातात्विक अध्ययन तथा अनुसन्धानका लागि कर्णाली प्रदेशलाई प्रवर्द्धन गर्ने लक्ष्य कर्णाली प्रदेश सरकारको रहेको छ । कर्णाली प्रदेश सरकार यस क्षेत्रको कृषि पर्यटन, जडीवुटी पर्यटन, संस्कृति पर्यटनलाई नीति तथा कार्यक्रम सञ्चालन गरी अगाडि बढाउने लक्ष्य राखेको छ । यसका पर्यटकीय क्षेत्रभित्रमा पूर्वाधार निर्माण, सञ्चार प्रविधिको विकास, पर्यटन क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण, पर्यटकीय क्षेत्रहरूमा यातायातको सहज पहुँच विस्तार, होटेल तथा रेष्टुरेण्ट प्रवर्द्धन गर्ने कार्यलाई कर्णाली प्रदेश सरकारले प्राथमिकता दिएको बताएको छ । आगामी ५ वर्षभित्र कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रको विकास, विस्तार हुनुका साथै कर्णाली प्रदेशका नागरिकको जीवनस्तर फेरिने लक्ष्य कर्णाली प्रदेश सरकारको रहेको छ ।

सम्भावना कर्णाली प्रदेशको विकास र समृद्धिको आधार भनेको जल, जमीन, जडिवुटी र पर्यटन क्षेत्र नै हो । यस क्षेत्रका खोलानालामा २० हजार मेगावाट क्षमताको विद्युत् उत्पादन हुने सम्भावना छ । यसको विकास गर्न सकेको खण्डमा झण्डै आधा नेपाल उज्यालो बनाउने कर्णाली प्रदेशका मुख्य मन्त्री शाहीले बताए । त्यस्तै कर्णाली क्षेत्रको हजारौं हेक्टर जमीन खेर गएको छ । यसको प्रयोग गरेर खाद्यान्न तथा फलफूल उत्पादनको राम्रो सम्भावना रहेको छ । कर्णाली प्रदेशको अर्को समृद्धिको आधार भनेको जडीबुटी नै हो । यस क्षेत्रका हिमाली जिल्लामा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्वा, पाँच औले, चिराइतो, समय, कुरिलो जटामसीलगायत जडीबुटी संरक्षण, संवर्द्धन, बजारीकरणको आवश्यकता रहेको छ ।

चुनौती कर्णाली प्रदेश जति सम्भावना छन् । त्यति नै मात्रामा चुनौती र अप्ठेरा पनि छन् । विशेषगरी भौगोलिक विकटता, लगानीको अभाव, अशिक्षा, गरीबी, पछौटेपन, यातायातको सहज पहुँच नहुनु, उद्योगधन्दा कलकारखाना स्थापना नहुनु, विद्युत् उत्पादन नहुनु कर्णाली प्रदेशका मुख्य समस्या र चुनौती छन् । यसले कर्णाली प्रदेशको विकास र समृद्धिलाई ओझेलमा पारेको छ । यस्ता समस्या अप्ठेराहरूको पहिचान गरी न्यूनीकरण गर्न सकेको खण्डमा कर्णाली प्रदेशको विकास र समृद्धिको लागि प्रबल सम्भावना रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)