ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीको पर्यटन : पूर्वाधारविनाको प्रचार–प्रसार

Sep 3, 2018  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

कर्णालीमा अथाह पर्यटकीय सम्भावना हुँदाहुँदै पूर्वाधारको पर्याप्त विकास र प्रवर्द्धन नहुँदा समग्र प्रदेश ओझेलमा परेको छ । पूर्वाधारविनै कर्णालीको सुन्दरता ‘एक्सपोज’ गर्ने सरकारको योजना सफल हुनेमा आशङ्का गर्न थालिएको छ । ‘चौरमा सुत्ने, ढुङ्गालाई सिरानी बनाउनुपर्ने अवस्था छ । हिम्मतदार पर्यटकको खाँचो छ,’ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत चैत अन्तिम साता ‘रारा–कर्णाली पर्यटन वर्षको’ तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यिनै शब्द बोलेका थिए ।

उनको यो अभिव्यक्ति पहिला पर्यटन वर्ष मनाइहालौं, अनि पूर्वाधार बन्दै गर्छ भन्ने आशयको थियो । ‘यदि यस्तो सोच हो भने यसले प्रतिफल उल्टो पनि दिन सक्छ,’ पर्यटन व्यवसायी चिन्तामणि शर्मा भन्छन्, ‘पूर्वाधारविना पर्यटन विकास सम्भव छैन ।’ प्रदेश सरकारले प्रमुख पर्यटकीय स्थल मुगुको राराताललाई केन्द्रविन्दुमा राखेर ‘कर्णाली समृद्धिको आधार पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ वैशाख १ गतेदेखि ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मनाइरहेको छ । ‘तत्कालीन राजा महेन्द्रले मुगुको राराताललाई स्वर्गकी अप्सरासँग तुलना गरे । रारालाई स्वर्गको टुक्रासँग अहिले पनि तुलना गरिन्छ,’ पर्यटन बोर्डले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको छलफलमा पर्यटन व्यवसायी भन्दै थिए, पर्यटकीय पूर्वाधार नहुँदा चाहेर पनि सबैले रारा पुग्न सकिरहेका छैनन् ।

पूर्वाधार नहुँदा लक्षित पर्यटन वर्षका लक्षित उपलब्धि हासिल हुनेमा आशङ्का छ । यसका लागि सङ्घीय, प्रादेशिक र स्थानीय तीनै तहका सरकार, पर्यटन बोर्ड, पर्यटन व्यवसायी र सम्बद्ध क्षेत्रका समुदायबीच सहकार्य हुन नसकेको व्यवसायी शर्माले बताए । पर्यटन बोर्डले कर्णालीका पर्यटकीय स्थल प्रवर्द्धनका लागि ‘माखो’ पनि नमारेको भन्दै उनले पर्यटन बोर्ड नै कर्णालीका लागि नौलो पर्यटक भएको व्यङ्ग्य गरे । कर्णालीमा अथाह पर्यटकीय सम्भावना हुँदाहुँदै पूर्वाधारको पर्याप्त विकास र प्रवर्द्धन नहुँदा सिङ्गै प्रदेश ओझेलमा परेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षभरि पर्यटन केन्द्रित योजना ल्याउने बताए पनि बजेट नीति तथा कार्यक्रममा यसले खासै प्राथमिकता पाएको छैन । कर्णाली सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले पर्यटन विकासमार्फत प्रदेशको समृद्धि हासिल गर्ने उद्देश्यले यो वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने निर्णय गरेको थियो ।

कर्णाली प्रदेश सरकार कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पूर्वाधारको विकास गरेर मात्रै पर्यटक भित्र्याउन खोजे गन्तव्यमा पुग्न नसकिने बताए । ‘हामीले ‘कर्णाली समृद्ध बन्दै छ भन्ने सन्देश प्रवाह गर्न पर्यटन वर्षको शुरुआत गरेका हौं,’ मन्त्री बुढाले भने, ‘क्रमशः पर्यटन विकासको विस्तृत कार्ययोजना निर्माण गरेर प्रदेशका सबै पर्यटकीय स्थलको पूर्वाधार विकास गरिनेछ ।’ प्रदेशका १० ओटै जिल्लाको पर्यटकीय गुरुयोजना बनाएर भौतिक विकास र प्रचारप्रसार एवम् प्रवर्द्धनात्मक कार्यमा जोड दिन सरकार लागिरहेको उनको दाबी छ । पर्यटन क्षेत्रको पूर्वाधार र प्रवद्र्धनात्मक कामका लागि आगामी आर्थिक वर्षमा थुप्रै योजना सञ्चालन गरिने उनको योजना छ । सडक, होटल तथा पर्यटकको सुरक्षालगायतका आवश्यक पूर्वाधारविना प्रचार गरेर मात्रै पर्यटक नआउने पर्यटन व्यवसायीहरूको मत छ । पर्यटन प्रवर्द्धनको नारा रटाएर मात्रै प्रदेशको समृद्धि नहुने भन्दै त्यसका लागि पहिला पूर्वाधार निर्माणमा प्रदेश सरकार गम्भीर हुनुपर्ने उनीहरूको तर्क छ । पूर्वाधारविनै कर्णालीको सुन्दरता ‘एक्सपोज’ गर्ने सरकारको योजना सफल हुनेमा उनीहरूको आशङ्का छ ।

नेपाल पर्यटन बोर्ड नेपाल पर्यटन बोर्डका सदस्य कृष्णकुमार अर्यालले पर्यटन बोर्डको काम पूर्वाधार निर्माण गर्ने नभई पर्यटकीय गन्तव्यको बजारीकरण गर्नुभएको बताए । पर्यटन उद्योग स्थायी, निरन्तर वृद्धि हुने, भविष्य सुनिश्चित र वातावरणलाई असर नगर्ने हुँदा पर्यटन क्षेत्रको लगानी खेर नजाने उनले जानकारी दिए । पर्यटन बोर्डको कार्यक्षेत्र थाहा नपाएरै अधिकांश ठाउँमा आफूहरूको आलोचना हुने गरेको भन्दै पर्यटन बोर्डबारे सरोकारवाला निकायले थाहा पाइराख्न जरुरी देखिएको उनको भनाइ थियो । पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीका अनुसार कर्णाली प्रदेशका असीमित पर्यटकीय सम्भावनाबाट ठूलो लाभ आर्जन गर्न सकिन्छ । सम्भव भएसम्म पूर्वाधारको तत्कालै निर्माण थालिहाल्ने र प्रादेशिक तथा सङ्घीय सरकार र अन्य सरोकारवाला निकायको समन्वयमा पर्यटनको विकास गर्न सकिने उनले औँल्याए । रारामात्र नभएर पूर्वाधार अभावका कारण डोल्पाको सेफोक्सुण्डो, दैलेखको ज्वाला पञ्चकोशी, सुर्खेतको काँक्रेविहार, सल्यानको कुपिण्डे दहलगायत मुख्य पर्यटकीय स्थलहरूमा पर्यटक पुग्न सकिरहेका छैनन् । विगतमा वार्षिक करीब ५० हजार पर्यटक कर्णाली भित्रिने गरेकोमा यो वर्ष ५ लाख भित्र्याउने लक्ष्य लिएको छ ।

‘रारा–कर्णाली पर्यटन वर्ष’को खर्च झण्डै ६४ लाख कर्णाली प्रदेश सरकारले शुरू गरेको ‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा करीब ६३ लाख रुपैयाँ खर्च भएको छ । २०७५ वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटन गरेका थिए । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार उद्घाटनमा ६३ लाख ८१ हजार ७ सय ९५ रुपैयाँ खर्च लागेको छ । कर्णाली प्रदेशको दोस्रो अधिवेशनको दशौं बैठकमा सांसद्हरूले उक्त विषयमा उठाएका प्रश्नहरूको जवाफ दिँदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पर्यटन वर्षका लागि भएको खर्चमा अनियमितता नभएको स्पष्ट पारे । पर्यटन वर्षको उद्घाटनका लागि प्रचारात्मक झोला निर्माणमा २ लाख, खाना तथा खाजा खर्च १७ लाख ४६ हजार १ सय २०, विभिन्न खालका उपहारमा ५५ लाख ५४ हजार १ सय ३, पत्रकारहरूका लागि आवत जावतमा ६४ हजार ९ सय ७० रुपैयाँ खर्च भएको मन्त्री ज्वालाले जानकारी दिए । त्यसैगरी, प्रचार प्रसारतर्फ ६ लाख ५० हजार २२, हवाई भाडा १० लाख २९ हजार ३ सय, स्थलगत अनुगमनका लागि यातायात खर्च ७६ हजार, अन्य व्यवस्थापनमा ११ लाख ५० हजार २ सय, आवासतर्फ ४ लाख ६२ हजार ४ सय ६८, विभिन्न खालको तयारीमा २ लाख रुपैयाँ खर्च भएको मन्त्री ज्वालाले जानकारी दिए । उनका अनुसार भएको खर्चमध्ये १४ लाख ४० हजार रुपैयाँ पर्यटन बोर्डबाट सहयोग प्राप्त भएको छ भने कर्णाली प्रदेश सरकारको ४९ लाख ४१ हजार ७ सय ९५ रुपैयाँ खर्च भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)