प्राचीन जुम्ला राज्य र त्यसका वरिपरिका जिल्ला समेटिएर बनेको, राज्यको उपेक्षाको पर्यायजस्तै भएका कर्णाली क्षेत्र, रारा र फोक्सुण्डोजस्ता सुन्दर ताल भएको कर्णाली प्रदेश एक अत्यन्त सम्भावना बोकेको प्रदेश हो । २०६८ को जनगणनाअनुसार यो प्रदेशको जनसङ्ख्या १४ लाख १५ हजार छ । यसको मानव विकास सूचकाङ्क शून्य दशमलव ४१ छ ।
प्रतिव्यक्ति औसत वार्षिक आय (पीपीपीमा) ८ सय ८ दशमलव ५६ अमेरिकी डलर रहेको यस प्रदेशमा ४२ दशमलव ८४ प्रतिशत जनसङ्ख्या गरीबीको रेखामुनि छन् । लगभग सबैजसो विकासका सूचकाङ्कमा पछाडि देखिएको कर्णाली प्रदेशका अगाडि चुनौतीका चाङहरू छन् । मुलुकमै सबैभन्दा धेरै अर्थात् ३५ दशमलव ९ प्रतिशत घरधुरीलाई पानीको अभाव छ भने ४७ दशमलव ९ प्रतिशत घरमा शौचालय छैनन् । यस प्रदेशको बाल मृत्युदर अत्यन्त धेरै अर्थात् ५५ दशमलव ९ प्रतिशत छ भने पोषण तत्वको अभावमा यहाँको ३८ दशमलव ५१ प्रतिशत जनसङ्ख्यामा पुड्कोपन देखिएको छ । ५१ दशमलव ९३ प्रतिशत जनसङ्ख्यामा कम तौलको समस्या छ ।
मुलुकका सात प्रदेशमध्ये सबैभन्दा कम रणनीतिक सडक सञ्जाल पनि यही प्रदेशमा छ । यस प्रदेशको जम्मा ३० प्रतिशत क्षेत्रफल जङ्गलले ढाकेकोमा मुलुककै सबैभन्दा बढी ९५ प्रतिशत जनता खाना पकाउन दाउराको प्रयोग गर्ने अहिलेको परिस्थितिले पर्यावरणीय दुर्घटना निम्त्याउन सक्ने पनि देखिन्छ । अझै पनि सडक नपुगेका जिल्ला सदरमुकाम (डोल्पा र हुम्ला) यसै प्रदेशमा छन् । विकासको अभावमा रोजगारीका अवसर यस प्रदेशमा निकै कम छन् । यस प्रदेशको निम्न साक्षरता दर र विकट भौगोलिक अवस्था विकासको गति प्राप्त गर्न मुख्य चुनौती हुनेछन् ।भौतिक पूर्वाधार विकासको दृष्टिबाट पनि पछाडि देशको २१ दशमलव ६६ प्रतिशत भूगोल र ६ दशमलव १२ प्रतिशत जनसङ्ख्या ओगटेको प्रदेश ६ को मानव विकास सूचकाङ्क शून्य दशमलव ४०९ छ । प्रदेशको साक्षरता दर ६५ प्रतिशत छ । देशको कुल साक्षरता दरभन्दा २३ दशमलव ६ प्रतिशतले कम हुन आउँछ । त्यस्तै, प्रदेशको औसत आयु करीब ७० वर्ष छ । यो देशको औसत आयुभन्दा ११ वर्षले कम हुन आउँछ ।
यहाँका नागरिकको प्रतिव्यक्ति वार्षिक आय करीब ८० हजार रुपैयाँ रहेको देखिन्छ । यो पनि देशको औसत प्रतिव्यक्ति वार्षिक आयभन्दा ७० हजार रुपैयाँले कम हुन आउँछ । कुपोषण, बालमृत्युदर र मातृमृत्युदर पनि यस प्रदेशमा अरू प्रदेशको भन्दा बढी नै छ । यी केही महत्त्वपूर्ण सूचकहरूको आधारमा अहिलेको अवस्थामा यो प्रदेश अन्य प्रदेशको तुलनामा आर्थिक र सामाजिक विकासका हिसाबले कमजोर छ । भौगोलिक हिसाबले यो प्रदेश अन्य प्रदेशभन्दा ठूलो भए पनि प्रतिव्यक्ति आम्दानीका हिसाबले प्रदेश ७ भन्दा मात्र अगाडि छ ।
चुनौती माथि उल्लिखित सूचकबाट यो प्रदेशमा चुनौतीका पहाड छन् भन्ने कुरा स्पष्ट छ । भौतिक पूर्वाधारको विकासको दृष्टिबाट पनि सबैभन्दा पछि परेको प्रदेश हो यो । सडक पुगेका जिल्लामा राम्रो पक्की सडक पुग्न सकेको छैन । बाटोघाटो, पुल, खानेपानी, सिँचाइ, बिजुलीजस्ता भौतिक पूर्वाधार विकासमा यो प्रदेश निकै पछाडि छ । यसरी आधारभूत पूर्वाधारको समुचित विकास हुन नसक्नु यो प्रदेशको प्रमुख चुनौती हो । भौगोलिक विकटता र वस्तीहरू छरिएर रहनु यहाँको अर्काे ठूलो चुनौती हो । ‘देशभित्रै देश खोज्नुपर्ने अवस्थामा छ यो प्रदेशमा । शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रको विकासको अवस्था अत्यन्त दयनीय छ । २१औं शताब्दीमा कतिपय बालबालिका विद्यालयको मुख देख्न पाउँदैनन् भने विद्यालय जानेले पनि गुणस्तरीय शिक्षा पाउन सकेका छैनन् ।
जनताले राम्रो स्वास्थ्य सेवा पाउने कुरा त धेरै टाढा, झाडा पखालाजस्ता महामारीबाट बर्सेनि कतिपय मान्छेको अनाहकमा ज्यान गुमाइरहेका छन् । भोकमरी, महामारी, उपचारको कमी, कुपोषण, प्राकृतिक प्रकोपमा परेर मर्नुपर्ने ज्यादै कारुणिक दृश्यको नमूना बनेको छ कर्णाली प्रदेश । अहिलेसम्म पनि केन्द्रबाट बहिष्करणमा परेको उपेक्षित भूगोललाई जोडेर निर्माण भएको भूगोलको नाम हो कर्णाली प्रदेश । देशको मूलधारमा राजनीतिक र प्रशासनिक पहुँच नहुनु प्रदेशको अर्को ठूलो चुनौती हो । सुर्खेत र सल्यान जिल्लाबाहेक अन्य कुनै पनि जिल्ला खाद्यान्नमा आत्मनिर्भर छैनन् ।
विकासमा हातेमालो गर्ने र एकताबद्ध हुने कुरामा यस क्षेत्रमा क्रियाशिल राजनीतिक दलहरूका बीचमा एकताको कमी छ । प्राविधिक तथा बौद्धिक जनशक्ति र नागरिक सचेतनताको पनि त्यत्तिकै कमी छ, जसले गर्दा यस प्रदेशको विकासले अपेक्षाकृत फड्को मार्न सकेको छैन । यस प्रदेशका जनताको पीडा र समस्या समान छन् । आफ्नो गाउँठाउँमा रोजगारी नपाएर ऊर्जाशील युवा शक्ति भारत, खाडी र मलेशियालगायत देशमा पलायन हुन बाध्य छन् ।
सम्भावना सुर्खेतको काँक्रेबिहार होस् अथवा मुगुको रारातालको आकर्षण, यस प्रदेशले आफ्ना सम्भावनाको तुलनामा कम पर्यटकीय लाभ उठाइरहेको वर्तमान स्थिति छ । यसबाहेक हिमाली भेगका डोल्पा र हुम्ला जिल्लाले जडिबुटी र पर्यटनको अपार सम्भावना बोकेका छन् । सस्तोमा कामदार पाइने भएकाले सडक सञ्जालसँग तुलनात्मक रूपले जोडिएका सल्यान तथा सुर्खेत जिल्ला अझै पनि उद्योग स्थापनाका लागि राम्रो स्थल हुन सक्छन् । नेपालमा खस सभ्यताको उद्गमस्थल जुम्ला तथा दुल्लुजस्ता स्थलले आन्तरिक पर्यटनलाई आकर्षित गर्न सक्छन् । यो प्रदेश एक महत्त्वपूर्ण शैक्षिक केन्द्र पनि हुन सक्छ । जलविद्युत्को क्षेत्रमा नलसिङगाड जलविद्युत् आयोजना भएको जाजरकोटको निकै सम्भावना छ ।
चुनौतीबीच प्रदेशको गर्भमा विराट सम्भावना लुकेका छन् । तिनीहरूको यथोचित र व्यवस्थित कार्यान्वयन गर्न सकिएमा चुनौतीका कृत्रिम पहाड भत्काउन सकिने सम्भावना विद्यमान छ । यो प्रदेश अरू सबै प्रदेशको तुलनामा जलस्रोतमा अत्यन्त धनी छ । कर्णाली प्रदेशको पानी, राष्ट्रको लगानी भन्ने नीतिमार्फत देशी तथा विदेशी लगानी ल्याउन र वातावरण बनाउन आवश्यक छ । नदी, खोला, जलविद्युत्, किनार किनार रोड–डाँडाडाँडामा रिसोर्टको मूल नीति अवलम्बन गरी सडक, जलविद्युत् र पर्यटन क्षेत्रको एकीकृत विकास गर्न आवश्यक छ । पर्यटनका दृष्टिले यो प्रदेश त्यत्तिकै धनी छ । रारा र फोक्सुण्डो तालदेखि मानसरोवर कैलाशको मूलमार्ग, विभिन्न आकर्षक ताल र दहहरू, हिमाल, झरना, गुफा, गुम्बा, मठमन्दिर, वेशभूषा, चाडपर्व, घरेलु प्रविधिआदि सम्पदाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्न सक्ने सम्भावना छ । बहुमूल्य जडीबुटीको भण्डार यो प्रदेश हो । तिनको संरक्षण, उत्पादन, व्यवस्थापन, प्रवर्द्धन तथा बजारीकरण गर्न सकेमा प्रदेशको आर्थिक अवस्थामा व्यापक सुधार गर्न सकिनेछ । कृषि बालीतर्फ अग्र्यानिक जोनका रूपमा विकास गर्न सकिने सम्भावना छ ।
राष्ट्रिय गौरवका योजना तथा प्रदेशका मुख्य आयोजनाअन्तर्गत दस वर्षभित्र कोहलपुर–सुर्खेत फोर लेन सुरुङमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, सुर्खेतमा अन्तरराष्ट्रिय विमानस्थल तथा कर्णाली कोरिडोरको सुर्खेत–हिल्सा टुलेन फास्ट ट्र्याक, डोल्पाको धो मोरिम्ला र मुगुको नाग्चे लाग्ना सडक, अपर कर्णाली, भेरी बबई डाइभर्सन, नलसिङगाड, शारदा, तिला र कवाडी जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक छ । यसबाट प्रदेशको अर्थतन्त्र विकासमा ठूलो टेवा पुग्नेछ । यस प्रदेशको धरातलीय यथार्थलाई आत्मसात् गर्दै स्थानीय स्रोत तथा साधनको अधिक उपयोग गर्न सक्ने ‘डेभलपमेण्ट मोडालिटी’ बनाउन सकेमा मात्र सम्भावनामा परिणत गर्न सकिनेछ । यसका लागि बलियो, विश्वासिलो र प्रतिबद्ध राजनीतिक इच्छाशक्तिसहितको नेतृत्वको खाँचो छ । सुन्दर शान्त र समृद्ध प्रदेश निर्माणका लागि हामी सबैले इतिहासको जिम्मेवारीबोध गर्दै कर्तव्यनिष्ठ हुन आवश्यक छ ।