ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोबाइलको प्रयोग बालबालिकाको स्वास्थ्यमा कति हानिकारक ?

Jan 25, 2019  
स्वास्थ्य र जीवन शैली
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । संसारभर भइरहेका गतिविधिबारे जान्ने सबैभन्दा उपयुक्त माध्यम हुन् स्मार्टफोन, कम्प्युटर र ट्याबलेट । यी साधन आधुनिक जीवनको अभिन्न अंग नै बनेका छन् । तर यसका लाभ जति छन्, हानि पनि त्यति नै छन् । अहिले हरेक अभिभावकको सबैभन्दा ठूलो चिन्ता बनेको छ स्मार्टफोन, ट्याब लगायतको स्क्रिनमा अत्यधिक झुन्डिरहने छोराछोरीका बानी । सानो उमेरदेखि नै मोबाइलमा घन्टौं झुन्डिरहने बानीका कारण अहिले विश्वभर नै बालबालिकाको मोबाइल चलाउने समयमा सीमा तोक्नुपर्ने लगायत बहस उठेका छन् । मोबाइलको बढ्दो प्रयोगले उनीहरूको बोल्ने, मानसिक र तार्किक विकासमा हानि पुग्ने खालका अध्ययन प्रतिवेदन पनि सार्वजनिक भएका छन् । तर स्क्रिन अत्यधिक हेर्दैमा बालबालिकालाई क्षति पुग्छ भनिहाल्न थोरै मात्रै प्रमाण भेटिएको बेलायतका बाल चिकित्सकहरूले बताएका छन् । स्मार्टफोन चलाउँदा हुन सक्ने असरबारे बेला बेलामा चेकजाँच गरिरहने हो भने यसबारे अभिभावकले धेरै चिन्ता गर्नु नपर्ने रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थ (आरसीपीसीएच)का डाक्टरहरूको भनाइ छ । ‘स्क्रिनमा अत्यधिक समय बिताउनु घातक हुन्छ भनेर कहिलेकाहीँ सुनिए पनि यसको पर्याप्त प्रमाण भने पाइएको छैन,’ आरसीपीसीएचले भनेको छ । यससम्बन्धी समीक्षा बीएमजे ओपन नामक एक मेडिकल जर्नलमा सार्वजनिक भएको छ । अध्ययनले स्क्रिनको अत्यधिक प्रयोग र मोटोपना एवम् निराशा (डिप्रेशन)बीच सम्बन्ध देखाएको छ । स्क्रिनको अगाडि अत्यधिक बसेरै यस्तो भएको हो कि मोटोपना र डिप्रेशन भएकाहरू स्क्रिनको अगाडि धेरै बस्छन् भन्ने पनि स्पष्ट नभएको उनीहरू बताउँछन् । स्क्रिनमा कति समय बिताउनु ठीक हुन्छ भन्नेबारे पनि चिकित्सकहरूले केही पनि बताएका छैनन् । यद्यपि, राति सुत्नुभन्दा कम्तीमा १ घन्टाअघि भने बच्चालाई मोबाइल हेर्न नदिन उनीहरूले सुझाएका छन् । सुत्नु अघिसम्म स्क्रिन हेर्दा निद्रामा खलल पुग्ने प्रमाण पाइएकाले पनि उनीहरूले यस्तो सुझाव दिएका हुन् । स्मार्टफोनको प्रयोगले निद्रा, व्यायाम वा परिवारका सदस्यहरुसँग व्यतीत गरिने गुणस्तरीय समयलाई विस्थापित गर्न नसक्ने भएकाले यस्तो गर्नु जरुरी भएको विज्ञहरू बताउँछन् । यसैबारे भएको एक छुट्टै अध्ययनले भने सामाजिक सञ्जालको प्रयोगले १४ वर्षको केटामा भन्दा केटीमा डिप्रेशनको लक्षण देखापर्ने सम्भावना दोब्बर हुने देखाएको छ । बालबालिकाको स्क्रिन प्रयोगबारे उचित निर्णय लिन परिवारका सदस्यलाई सहज होस् भनेर आरसीपीसीएचले प्रश्नको सूची पनि तयार पारेको छ, जुन यस प्रकार छ :
  • तपाईंको परिवारका सदस्यको स्क्रिन टाइम नियन्त्रित छ ?
  • स्क्रिन प्रयोगले पारिवारिक क्रियाकलाप बिथोलिरहेको छ कि ?
  • स्क्रिनको प्रयोगले निद्रामा असर परेको त छैन ?
  • स्क्रिनको अगाडि बस्दा स्न्याक्स खाने प्रवृत्तिमा नियन्त्रित छ ?
माथिका प्रश्नहरूको उत्तरका आधारमा अत्यधिक मोबाइल प्रयोगबारे धेरै चिन्ता लिनुपर्ने हो कि नपर्ने छुट्ट्याउन सकिन्छ । तर यी कुरामा समस्या देखिएको छ भने चाहिँ साँच्चिकै समस्या छ भनेर बुझ्नुपर्दछ । स्क्रिनको प्रयोगले हुन सक्ने जोखिम र लाभबीच सन्तुलन ल्याउन अभिभावकहरूले आप्mनो बालबालिकाका लागि के उपयोगी एवम् सहयोगी छ/छैन भन्ने खुट्याउनु पर्ने आरसीपीसीएचका अध्यक्ष डा. रसेल भिनेर बताउँछन् । समग्रमा अत्यधिक स्क्रिन हेर्ने बानीले निद्रा बिगार्छ, शारीरिक क्रियाकलाप सीमित बनाउँछ, खानपान बिग्रन्छ, अरूलाई डर धम्की देखाउने बानीको विकास हुन्छ । यी नकारात्मक पक्षको तुलनामा स्क्रिन प्रयोगले बालबालिकाको स्वास्थ्य र प्रसन्नता (हेल्थ एन्ड वेल बिइङ) त बिगार्दैन । तर सुधार्ने काम पनि पनि गर्दैन । त्यसैले परिवारका सदस्य वा अभिभावकले बालबालिकाको आवश्यकता र यसले उनीहरूको निद्राका साथै शारीरिक र सामाजिक गतिविधिमा कस्तो असर पारेको छ, सोको आधारमा आफैले स्मार्टफोन लगायत उपकरण चलाउने समय निर्धारण गर्नुपर्ने आरसीपीसीएचले सुझाएको छ । शिशु र साना बालबालिकाकाले स्मार्टफोनमा कस्ता सामग्री हेर्ने र कति समयसम्म हेर्ने भन्ने निर्णय अभिभावक स्वयम्ले लिनुपर्छ । बालबच्चा हुर्कंदै जाँदा उनीहरूले स्क्रिन प्रयोगमा उनीहरूको एकाधिकार पनि क्रमिक रूपमा बढ्दै जान्छ । तर यसो भन्दैमा उनीहरूले कति समयसम्म स्मार्टफोन लगायत उपकरण चलाउँछन् र के कस्ता सामग्री हेर्छन् भन्नेबारे निगरानी राख्न र परामर्श दिन भने छाड्न नहुने आरसीपीसीएचको भनाइ छ । (एजेन्सीको सहयोगमा)
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)