चाँडै थाक्नु र एक्कासि धेरै फुर्ती आउनु मानसिक रोगको लक्षण हुन सक्छ
Apr 5, 2019
 
अन्तरवार्ता
स्वास्थ्य र जीवन शैली
डा. जया रेग्मीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र त्रिवि शिक्षण अस्पतालबाट एमडी गरेकी छिन् । उनले ४ वर्ष कान्ति बाल अस्पतालमा मनोचिकित्कसको रूपमा काम गरिसकेकी छिन् । हाल काठमाडौं मेडिकल कलेजमा कार्यरत डा. रेग्मीसँग मनोरोग विषयमा केन्द्रित रहेर आर्थिक अभियानका भवनाथ प्याकुरेलले कुराकानी गरेका छन् :मानसिक रोगका लक्षण के के हुन् ?
मानसिक रोगी चिन्न व्यक्तिको बोलीचाली, व्यवहार र कार्यतालिकामा परिवर्तन भएको छ कि छैन भन्ने कुरा हेर्नुपर्ने हुन्छ । कार्यतालिकामा परिवर्तन भनेको खाने, सुत्नेलगायत दैनिक क्रियाकलापको समय परिवर्तन वा गोलमाल हुनु हो । मानसिक रोगीको काम गराइमा पनि पहिलेको भन्दा धेरै कम वा धेरै समय लाग्ने भएको हुन सक्छ । पहिलेको भन्दा चाँडै थाक्नु र एक्कासि धेरै फुर्ती आउनु मानसिक रोगको लक्षण हुन सक्छ । यस्ता लक्षण परिवारका सदस्यले पनि थाहा पाउन सक्छन् । यसबाहेक निराश हुनु, आत्तिनु र व्यवहारमा परिवर्तन हुनु पनि मानसिक रोगका लक्षण हुन् ।
कतिपय बिरामीलाई विस्तृत रूपमा कुरा नगरेसम्म थाहा नहुन सक्छ । पहिला पढ्नेबित्तिकै याद हुने व्यक्तिलाई धेरै नै मेहनत गर्दा पनि याद नहुने हुन सक्छ । यस्तो समस्या आफैलाई मात्र थाहा हुन्छ ।
सामान्यतया मानसिक रोगमा देखिने यस्ता लक्षण रोगी आफैलाई मात्र थाहा हुन्छ । अरूले थाहा पाउँदासम्म रोगले कडा रूप लिने हुन्छ ।
मानसिक रोगीलाई कति तहमा विभाजन गर्न सकिन्छ ?
मानसिक रोगलाई ठ्याक्कै यति नै तहमा विभाजन गर्न नसकिए पनि यसलाई सामान्यतया निम्न, मध्यम र कडा गरी तीन स्तरमा विभाजन गर्न सकिन्छ । शुरूको अवस्था भने निम्न स्तरको हुन्छ । यो क्रमशः बढ्दै गएर मध्यम स्तरको र निकै बढेपछि कडा स्तरको हुन्छ । रोग लागि सकेपछि निद्रा तथा बोलीचालीमा पनि परिवर्तन हुन्छ । मनोरोग मनसँग सम्बन्धित हुन्छ, जसमा उदासीनता र आत्तिने बढी हुन्छ । कडाखाले मनोरोग भने दिमाग र सोचाइसँग सम्बन्धित हुन्छ ।
कडा खालका मानसिक रोग कति प्रकारका छन् ?
कडा खालका मानसिक रोगभित्र अरू धेरै रोग पर्छन् । १ प्रतिशतलाई लाग्ने कडा खालको मानसिक रोगमध्ये ७० प्रतिशत ठीक हुन्छ । यस्ता रोग लागेका बिरामीलाई थेरापी वा औषधि खुवाउनुपर्ने हुन्छ ।
मानसिक रोग लाग्ने कारण के हो ?
सबै मानसिक रोगका कारणलाई मुख्यतया बायोलोजिकल, मनोवैज्ञानिक र सामाजिक गरी तीन तहमा राखिने गरिन्छ । बायोलोजिकल भनेको हाम्रो शरीरमा भएको न्यूरो ट्रान्समिटर, हर्मोन र केमिकलसँग सम्बन्धित हुन्छ । वंशाणुगत कारणले पनि मानसिक रोग लाग्न सक्छ । केमिकल तलमाथि भयो भने पनि मानसिक रोग लाग्छ । अर्को सोसल भनेको वरिपरि समाजमा भएका तनावका स्रोत हुन सक्छन् । मानिसलाई एकदमै तनाव भएको छ र कहीँबाट पनि साथ/सहयोग पाइएन भने मानसिक रोग लाग्ने सम्भावना बढ्न सक्छ ।
समाजका कति प्रतिशत मानिसमा मनोरोग देखिन्छ ?
नेपालमा भर्खरै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यससम्बन्धी अध्ययन अनुसन्धान गरिरहेको छ । अहिले मैले भन्ने भनेको विश्व स्वस्थ्य संगठनलाई आधार मानेर हो । विश्व स्वास्थ्य संगठनका अनुसार समाजका १५ देखि २० प्रतिशत मानिसमा मनोरोग हुन्छ । यसको संख्या बढ्दै छ । जनयुद्ध र भुइँचालोपछि मानिसमा मानसिक रोग अझ बढेको पाइएको छ ।
मानसिक रोगबाट बच्न के कस्तो सतर्कता अपनाउनुपर्छ ?
मानसिक रोग लागे नलागेको आफैले पनि परीक्षण गरेर हेर्न सकिन्छ । कम्तीमा वर्षको १ पटक मनोचिकित्सकसँग परामर्श गरेको खण्डमा पनि मानसिक रोग लागे नलागेको थाहा पाउन सकिन्छ । समयमा सुत्ने, नशालु पदार्थ नखाने, तनाव व्यवस्थापन गर्ने र शारीरिक व्यायाम गर्ने गरेको खण्डमा मानसिक रोग लाग्न पाउँदैन । सहयोगी भावनाको विकास गरेमा पनि मानसिक रोग लाग्ने सम्भावना कम हुन्छ । तनावमा रहेको मानिसले थेरापी र काउन्सिल पनि गर्नुपर्ने हुन्छ ।
यो रोगको औषधि निरन्तर खानुपर्छ भन्ने भनाइ छ, के यो साँचो हो ?
कडा खालको मानसिक रोगका लागि धेरै समयसम्म औषधि खानुपर्छ । तर सामान्य रोग हो भने छोटो समय खाए पनि हुन्छ । निम्न स्तरको रोग छ भने औषधि खानै पर्दैन, थेरापी गरेर ठीक हुन्छ । मध्यम र कडा खालको रोग छ भने त्यसमा औषधिसँगै थेरापी पनि गर्नुपर्ने हुन्छ । एकदमै कडा खालको रोग छ भने धेरै समयसम्म औषधि खानुपर्छ ।
मानसिक रोगीको औषधि अरू रोगको औषधिजस्तै हो । सामान्यतया मानसिक रोगको औषधि ६ देखि १२ महीनासम्म खानुपर्ने हुन्छ । त्यसपछि डाक्टरको सल्लाहमा तरीका मिलाएर बन्द पनि गर्न सकिन्छ । धेरै समयसम्म खानुपर्ने भन्ने बुझाइ गलत हो ।
अपराधी र बलात्कारी मानसिक रोगी हुन् ?
यो ठूलो बहसको विषय हो । अरू समूहमा जस्तै बलात्कारी र अपराधीमध्ये पनि केही मानसिक रोगी हुन सक्छन् । तर सबै मानसिक रोगी हुँदैनन् ।
उपचार गर्न कस्ता मानसिक रोगी आउने गर्दछन् ?
आत्तिने, निराश हुने धेरैजसो व्यक्ति उपचारका लागि आउने गरेका छन् । अनावश्यक तथा विनाआधार शंका गर्ने र अरू कसैले नसुने पनि कानमा आवाज आउने लक्षण भएकाहरू उपचारका लागि आउने गरेका छन् ।
नयाँ शीप सिकाउन गाह्रो हुने व्यक्ति, पढेको कुरा नबुझ्ने जस्ता लक्षण भएका बालबालिका र कुलतमा परेका मानिससमेत आउँछन् ।
मानसिक रोगको उपचार पद्धति कस्तो छ ?
स्वयम् बिरामीलाई परामर्श दिएर पनि उपचार गर्न सकिन्छ । कडा खालको रोगमा औषधि नै महŒवपूर्ण हो । त्यस्तै निकै कडा अवस्थामा विद्युतीय पद्धतिबाट पनि उपचार गरिन्छ ।
कडा खालका मानसिक रोगका लक्षण के के हुन् ?
भ्रमसँग सम्वन्धित लक्षण नै कडा रोगको लक्षण हो । अरू कसैैले नसुन्ने तर बिरामीले मात्र आवाज सुनेमा र आफूलाई कसैले बिगार गर्न लागेको जस्तो लाग्ने, तर साधारण मानिसले बुझ्दा सत्य नहुने कडा खालको मानसिक रोगको लक्षण हो ।
सामान्य खालको मानसिक रोगको उपचार समयमा भएन भने यो विस्तारै कडा खालको रोगमा परिणत हुन्छ ।
प्रायः कुन क्षेत्रका मानिसमा मानसिक रोग देखिन्छ ?
यो रोग क्षेत्रअनुसार लाग्दैन । जुन उमेर समूहलाई पनि लाग्न सक्छ । विशेष गरेर तनावले असर गर्ने मानिसलाई समस्या हुने गर्दछ । तर, नशालु पदार्थ सेवन गर्ने मानिस मानसिक रोगी हुन सक्छ ।