ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश नं. १ को आवधिक योजनाको आधारपत्र तयार

Apr 20, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

वैशाख ७, विराटनगर । प्रदेश नं. १ सरकारले पाँच वर्षे आवधिक योजनाको आधारपत्र तयार गरेको छ । प्रदेश नीति तथा योजना आयोगले प्रदेशको योजनाबद्ध दिगो विकास र समृद्धिको पाँच वर्षे योजनाको आधारपत्र तयार गरेको हो ।

बिहीवार योजना आयोगले विराटनगरमा प्रथम प्रादेशिक आवधिक योजनाको आधारपत्र निर्माण सम्बन्धमा कार्यशाला गोष्ठी आयोजना गरी आधारपत्र निर्माणको बिषयमा प्रदेशसभा सदस्यहरुको राय सुझाव संकलन गरेको छ । गोष्ठीको उद्धघाटन गर्दै मुख्यमन्त्री शेरधन राईले आठ महीना भित्रमा प्रदेशका योजनाहरु प्रष्ट देखिने गरी प्रस्तुत गरिने बताए । मुख्यमन्त्री राईले नयाँ संरचनामा रहेकोले आधारहरु तयार हुन बाँकि रहेको बताए ।

उनले अब आधारपत्रको जगमा तयार हुने आवधिक योजनाको आधारमा नीति तथा कार्यक्रम र बजेट यसै महीनाभित्र तयार गर्न निर्देशनसमेत दिए । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले ७० प्रतिशत योजना गुरुयोजनाको आधारमा र बाँकी मागको आधारमा बजेट बिनियोजन गरेमात्र प्रदेशको व्यवस्थित् विकास सम्भव रहेको बताए । संविधानले तीनै तहको सरकारलाई आ–आफ्नो क्षेत्राधिकार तोकेको अवस्थामा स्थानीय तहले प्रदेशसँग थुप्रै गुनासो गर्ने गरेको बताए । उनले संघीय या प्रदेशको बजेट मुलत वित्तीय संंघीयताको कार्यान्वयनसँग सम्बन्धित् रहेको बताए । पहिले तयार हुने बजेट र अहिले तयार हुने बजेट आधारभूत रुपमै भिन्नता रहेको उनले बताए ।

अर्थतन्त्र संघीय ढाँचामा गएको अवस्थामा अहिले पनि एकात्मक शैलीको जस्तो सांसदहरुले योजना माग गर्ने गरेको बताए । कार्यक्रममा प्रादेशिक योजना आयोगका उपाध्यक्ष सुबोध प्याकुरेलले आवधिक योजनाको दिशानिर्देश गर्ने गरी आधारपत्र तयारीको लागि कार्यपत्र प्रस्तुत गरेका थिए । उपाध्यक्ष प्याकुरेलले आवधिक योजना आधारपत्रमा बिषेशत विकासलाई अनुसन्धान, प्रविधि र मानवस्रोतसँग जोड्न प्रयास गरिएको जानकारी दिए । उनले प्रदेशको विकास सूचकहरूको अवस्था र आवधिक योजनाले सम्बोधन गर्नुपर्ने विषयहरू प्रस्तुत गरेका थिए ।

प्रदेशको परिचय, गरिबीको अवस्था, पर्यटन, ऊर्जा, कृषि, पूर्वाधार, सामाजिक क्षेत्र, अन्तरसम्बधित् विषय र सुशासन विषयमा उनले प्रस्तुति गरेका थिए । आयोगले प्रदेश समृद्धिका मार्गनिर्देशक आधारस्तम्भहरुमा प्राकृतिक स्रोत साधानमा पहुँच,मानव संसाधनको विकास ,संघीयताको अभ्यास र पूर्वाधारको व्यवस्थालाई राखेको छ । त्यसैगरी आयोगले आवधिक योजनामा रोजागारी, अनुसन्धान विकास र क्षमता अभिवृद्धि, पर्यटन, कृषि, वन, पशुपंक्षी, मत्स्यपालन, जडिबुटी र नगदेबाली, उद्योग र उद्यमशीलता,जलश्रोत सिँचाइ, शिक्षा तथा स्वास्थ्यलाई प्राथमिक रुपमा राखेको छ ।

आयोगका सदस्य पूर्णकुमार लक्समले आवधिक योजनाको आधारपत्रको सोच, लक्ष्य, उद्देश्य तथा रणनीतिसहित सारांशमा कार्यपत्र राखेका थिए । कार्यक्रममा मुख्यसचिव केदार न्यौपानेले जसले योजना बनायो उसैको मात्र भन्ने मानसिकता हुँदा उपलब्धी हासिल हुन नसकेको बताए । उनले तोकको अधारमा काम हुँदा योजना एकातिर कार्यान्वयन अर्कोतिर हुने गरेको बताए । कार्यक्रममा प्रदेश सांसदहरुलाई आर्थिक, पूर्वाधार,सामाजिक र सुशासन तथा अन्तरसम्बन्धित गरी चार समूहमा बनाएर छलफल गराइएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)