ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

केही समयपछि अर्थतन्त्रले लय समात्छ : डा. महत 

२०८० पुस, १७  
समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर। कोभिड–१९ को समयदेखि समस्याबाट गुज्रिरहेको अर्थतन्त्र केही समयपछि लयमा आउने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । मोरङ व्यापार संघद्वारा आयोजित एमबीएस एक्स्पो २०२३ समापन कार्यक्रममा अर्थमन्त्री महतले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘अर्थतन्त्र केही समस्यामा थियो अझै पनि छ, तर आउने दिनमा सकारात्मकतिर जान्छ र यसले लय समात्नेछ ।’ केही सकारात्मक सूचकका आधारमा अर्थतन्त्र सुधारमा जाने देखिएको महतको भनाइ छ । 

बजेटले ६ दशमलव ५ प्रतिशतमा राख्ने भनेको मूल्यवृद्धि अहिले ५ दशमलव ३८ प्रतिशतमा झर्नु सकारात्मक रहेको उनले बताए । त्यस्तै शेयर कारोबार १८ सयबाट २२ सयमा पुग्नु, शिथिल भएको जग्गा कारोबारमा सुधार हुनु, बैंकहरूको ब्याजदर घट्नु र ऋण प्रवाह बढ्नुलाई उनले सकारात्मक भने । पर्यटक आगमन बढ्नुलाई पनि उनले अर्थतन्त्र सकारात्मक दिशामा रहेको इन्डिकेटरका रूपमा अथ्र्याए । विदेशबाट आउने विप्रेषण ३० प्रतिशतसम्म बढेको, पूँजीमा यसको सकारात्मक प्रभाव रहेको र १ वर्षलाई पुग्ने विदेशी मुद्रा सञ्चिति रहेकाले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न सकिने उनले दाबी गरे । उद्योगी व्यवसायीलाई अहिले आत्मविश्वासको आवश्यकता रहेको भन्दै उनले सामाजिक सञ्जालमा नकारात्मक कुरा बढी भएको बताए । 

‘यो देशमा भविष्य नै पो छैन कि, उद्योग व्यवसाय, रोजगारी बढ्न सक्ने अवस्था छैन कि भन्ने खालका नकारात्मक कुरा मात्रै बढी भए । सबैले नेगेटिभ कुरा मात्रै गर्न थालेकाले आत्मविश्वास कमजोर भएर गयो,’ उनले भने, ‘त्यसैले अहिले अर्थतन्त्रका इन्डिकेटरहरू सकारात्मक भइरहेको अवस्थामा उद्योगी व्यवसायी साथीलगायत नागरिक समाज, राजनीतिक क्षेत्र सबैले सकारात्मक बहसको थालनी गरौं ।’ 

उनका अनुसार कोभिडका बेला भएको गल्ती सच्याउन राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याएर रोक्न खोज्दा ब्याजदर ह्वात्तै बढ्यो । जग्गा पनि विक्री भएन, शेयरबजार पनि बढेन, बैंकको दायित्वचाहिँ बढ्यो । ऋण तिर्न सक्ने अवस्था आएन अनि समस्या आयो । अहिले कसिलो मौद्रिक नीति खुकुलो बनाउँदा ब्याजदर घटेको उनको भनाइ छ । अर्काले नाफा कमाएको देखेर त्यही उद्योग खोल्ने प्रवृत्तिले पनि समस्या आएको भन्दै मन्त्री महतले नयाँ क्षेत्र खोजेर लगानी गर्न सुझाव दिए । 

अनावश्यक क्षेत्रमा भएको लगानी र प्रतिफल पाउने क्षेत्रमा सरकारले लगानी नगर्दा समस्यालाई मलजल पुगेको उनले बताए । अर्थतन्त्र धेरै समस्याबाट गुज्रिएकाले रातारात सकारात्मक नहुने, विस्तारै हुने र यो क्रम शुरू भएको उनले बताए । 

सामाजिक सुरक्षालगायत दायित्वको कारण विकास खर्च खुम्चिएको अर्थमन्त्री महतको भनाइ छ । ‘आम्दानी थोरै र खर्च गर्नुपर्ने क्षेत्र बढी भएकाले पूँजीगत खर्च खुम्चिएको हो,’ उनले भने, ‘आईटी र हाइड्रोको योजनाहरुले अब अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ ।’ विद्युत् प्राधिकरण र उद्योगीबीचको समस्या चाँडै टुंगिनुपर्ने पनि उनले बताए । तिर्नुपर्ने अवस्था हो भने तिर्ने र तिर्नु नपर्ने अवस्था हो भने नतिर्ने गरी यसको छिनोफानो गर्नुपर्ने डा. महतले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)