ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गुणस्तरहीन पानी बेच्ने २ उद्योगमा सिल, पानीको जार तथा बोतल भित्र मरेका झिंगा !

Apr 29, 2019  
प्रदेश समाचार कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

वैशाख १६, सुर्खेत । सुर्खेतमा गुणस्तरहीन पानी उत्पादन तथा विक्री वितरण गर्ने दुई ओटा पानी उद्योगमा सिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले आइतवार वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेको वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालि र पिपिरामा रहेको देउती दर्शन वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालिमा सिलबन्दी गरेको हो ।

बजारबाट किनेको पिउने पानीको जार तथा बोलत भित्र मरेका झिंगा, फोहर वस्तु देखेपछि उपभोक्ताले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा उजुरी गरेका थिए । डिभिजन कार्यालयले जिल्लाका सबै पानी उद्योगलाई पानीको गुणस्तर जाँचपास नगरी पानी उत्पादन तथा विक्री वितरण नगर्न निर्देशन दिँदै आएको बताएको छ । अनुगमन टोलीले पानीको नमुना लिई सम्पूर्ण मापदण्ड पूरा नगरेसम्मका लागि उद्योग सिल गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले बताए ।

स्वच्छ पिउने पानीको निर्देशिका र मापदण्डअनुसार नै विक्री वितरण गर्नुपर्ने नियम भएपनि जिल्लाका पानी उद्योगहरुले कायान्वयन गरेका छैनन् । ‘निर्देशिकाले तोकेअनुसारको फूड ग्रेड क्वालिटीको स्टिलको पाइप नलगाएको यूबी स्टेबलाइजर र ओजोन ओस्मोसिस नचलेको, अटोमेटिक फिलिङ सिस्टम नभएको पाइयो,’ थापाले भने, ‘पानी उद्योगहरुले उत्पादन गरेको पानीको नमुना संकलन गरेका छौं, परीक्षणपछि आएको परिणामको आधारमा कारबाहीका लागि सिफारिस गर्छौं ।’ स्वच्छ पिउने पानी सम्बन्धी निर्देशिका र ऐन बमोजिम मापदण्ड नभएका, सरसफाइ नगरिएका, खुला रुपमा सञ्चालन भएका, अनुज्ञापत्र नविकरण नभएका र बाह्य वातावरण सुहाउँदो नभएकाले तत्कालका लागि सिलबन्दी गरिएको थापाले बताए ।

[caption id="attachment_337714" align="aligncenter" width="800"] सुर्खेतको वीरेन्द्रनगरस्थित देउती दर्शन वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालिमा हातले बोतलमा पानी भर्दै मजदुर । तस्बीर : आकाश तारा बयक/आर्थिक अभियान[/caption]

‘मानव स्वास्थ्यसँग खेलबाड हुनेगरी सञ्चालन गरिने कुनैपनि खाद्य पदार्थ सम्बन्धी उद्योग तथा व्यवसायलाई कुनै पनि बहानामा छुट दिन मिल्दैन,’ थापाले भने । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका गत वर्ष चैत २६ गतेबाट लागु गरिएको छ । उक्त निर्देशिका अनुसारको मापदण्ड पुरा नगरेका कुनै पनि पानी उद्योग चल्न नदिनेगरी अनुगमनमा कडाइ गरिएको छ । निर्देशिकाले पानी उत्पादनमा खटिने कर्मचारीको पोशाक, उपकरण तथा पानी प्रशोधन गर्ने सम्पूर्ण मेशिनरीको गुणस्तर सम्बन्धी निर्देश गरेको छ ।

थापाका अनुसार पिउने पानी उद्योगको पर्खालमा ५ फिटसम्म मार्बल टायल लगाउनुपर्ने, पानी भर्ने प्लान्ट र गोदम घर छुट्टाछुट्टै हुनुपर्ने, फूड ग्रेड गुणस्तरको स्टिलको पाइप मात्रै उद्योगमा लगाउनुपर्ने, यूबी स्टेबलाइजर र ओजोन ओस्मोसिस लगाउनुपर्नेलगायतको सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । तर, जिल्लाका सबै पानी उद्योगले निर्देशिका अनुसार कायान्वयन गरेको पाइएको छैन ।

सरकारले कुनै पनि उद्योगी, र व्यापारीलाई तर्साउने धम्क्याउने उद्देश्यले अनुगमनलाई कडाई नगरेको खाद्य निरीक्षक थापाले बताए । ‘अनुगमनमा कडाई गर्ने वित्तिकै उद्योगी र व्यापारी आत्तिनु पर्दैन । हामीले कसैलाई तर्साउने र धम्क्याउने उद्देश्यले गरेका होइनौं,’ उनले भने, ‘न्यूनतम मापदण्ड र गुणस्तर कायम गरेर व्यवसाय सञ्चालन गर्नुस् भन्ने मान्यता हाम्रो हो ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)