ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर महानगरको अनुगमन : सडकपेटी मिचेर व्यापार गर्नेहरु लखेटिए

Apr 30, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

वैशााख १७, विराटनगर । चाडपर्वका समयमा मात्रै अनुगमन गरिने भन्दै आलोचना खेप्दै आएको विराटनगर महानगरपालिकाले सडक पेटी मिचेर विक्रीका लागि राखिएका मालबस्तु नियन्त्रणमा लिएको छ । महानगरपालिकाको अनुगमन टोलीले सडक पेटीमा राखिएका फेन्सी सामाग्रीका साथै सडकनै अवरुद्ध हुने गरी राखिएका निर्माण सामाग्रीसमेत नियन्त्रणमा लिएको छ ।

सडकको पेटीमै विक्रीका लागि सामाग्री राखेर ब्यापार गर्ने प्रबृतिलाई निरुत्साहित गर्न महानगरले मंगलवार नगरक्षेत्र भित्रका विभिन्न सडकहरुको अनुगमन गरेको हो । टोलीले नगरक्षेत्रको मुख्य बजारसहित कालोपत्रे र सडक पेटी निर्माण भइसकेका क्षेत्रहरुको अनुगमन गरेको छ । महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की,प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीसहित कर्मचारी र नगर रक्षकहरुको टोलीले स्थानीय जलजला मोड र बाटा रोडका सडक पेटीहरुको अनुगमन गरेको छ ।

अनुगमनको क्रममा कयौं व्यापारीहरुले सडक पेटीमै सामाग्री राखेर विक्री गर्ने गरिएको भेटिएको छ । महानगरपालिकाले यसअघि पटकपटक माईकिंग गराएर तथा पसलपसलमा प्रतिनिधि पठाएर सडक पेटीमा सामाग्री नराख्न अनुरोध गरे पनि व्यापारीहरुले अटेर गरेको अनुगमनको क्रममा फेला परेको थियो । बाटा रोडका कयौं व्यापारीहरुले सडक पेटीमै सामाग्री राखेको पाइएपछि अनुगमनमा रहेका नगर रक्षकहरुको टोलीले त्यस्ता मालबस्तु नियन्त्रणमा लिएको छ ।

महानगरपालिकाको टोलीले फुटपाथ अवरुद्ध गरेको भन्दै बाटा रोडको लक्ष्मी क्लोथ स्टोर र गिरधारी कपडा पसल लगायतका पसलहरुको फुटपाथमा राखिएका सामाग्री नियन्त्रणमा लिएको छ । महानगरपालिकाका उपप्रमुख इन्दीरा कार्कीले पटकपटकको सूचनालाई अटेर गरेपछि फुटपाथमा राखिएका सामाग्री नियन्त्रणमा लिएको बताइन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले महानगरलाई व्यवस्थित् गर्नु महानगरबासीको पहिलो कर्तब्य रहेको बताए ।

उनले पटक पटक सूचना दिएपनि केहि व्यापारीहरुले नटेर्ने प्रबृति देखिएका कारण अब उपरान्त महानगरपालिका कडारुपमा प्रस्तुत हुने चेतावनी दिए । नियन्त्रणमा लिइएका सामाग्रीका धनीलाई नियमानुसारको जरिवाना गरिने उनले प्रष्ट पारे । महानगरपालिकाको अनुगमन टोली बाटा रोड प्रवेश गरेपछि सडकपेटीमा सामाग्री राखेका व्यापारीहरुबीच खैलाबैला मच्चिएको थियो ।

उनीहरु महानगरपालिकाको अनुगमन टोलीलाई छल्न पसलका कर्मचारी खटाएर फुटपाथमा राखिएका सामाग्री पसलभित्र ओसार्न भागदौड गरिरहेका देखिन्थे । सो ठाउँका व्यापारी गिरधारी अग्रवालले आफुहरुले अनुरोध गर्दा गर्दै पनि अनुगमन टोलीले आफ्नो पसल अगाडीबाट रू.२० हजार बढीको सामाग्री लिएर गएको गुनासो गरे । उनले अरुहरुले पनि फुटपाथमै सामाग्री राख्ने गरेका कारण राखेको प्रतिक्रिया दिए ।

महानगरपालिकाले सडकपेटी र बाटो निर्माण भइसकेको सडकमा अनुगमनलाई निरन्तरता दिने जानकारी दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाईसमेत सहभागि गराएर अब उपरान्त नियमित सडक र फुटपाथको अनुगमन गरिने विराटनगर महानगरपालिकाले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)