ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश–१ को राजधानी विराटनगर नै राख्ने सहमति, नाम तत्काललाई थाँती

May 4, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

वैशाख २१, विराटनगर । प्रदेश–१ को राजधानी र नाम तय गर्न विराटनगरमा बसेको नेकपाको बैठकले प्रदेश–१ को राजधानी विराटनगर राख्ने तय गरेको छ । नाम भने अर्को अधिवेशनले टुंगो लगाउने सहमति जुटेको छ । राजधानी बृहत विराट क्षेत्रको विराटनगरमा हुनेछ । राजधानीको संरचना विराटनगर, इटहरी र गोठगाउँमा रहने तय गरिएको छ भने राजधानीको संरचनामा कार्यपालिका र व्यवस्थापिका रहनेछ ।

बैठकपछि नेपाल कम्युनिष्ट पार्टीका प्रदेश–१ का ईन्चाज भिम आचार्यले पार्टी भित्रका अधिकांश सांसदको भावनालाई सम्बोधन गर्नका लागि विराटनगरलाई राजधानी तोकेर संरचना बृहत विराट क्षेत्र भित्र निर्माण गरिने जानकारी दिए । अधिकांश सांसदको मागलाई ध्यानमा राखेर गोठगाउँ, इटहरी, विराटनगरको नजिकैको दूरीलाई आधार बनाएर संरचना निर्माण हुने इन्चार्ज आचार्यको भनाइ छ ।

तीन दिनदेखि प्रदेश–१ संसदमा सहभागी दलका प्रतिनिधि र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने नेकपा सांसदसँगको रायका आधारमा अन्तिम निर्णय लिइएको हो । नामका बारेमा भने पुनः विस्तृत छलफल गरेर सबैलाई मान्य हुने निर्णय आउने बताइएको छ ।

मुख्यमन्त्री शेरधन राईले बृहत विराटनगर भित्र प्रदेशको राजधानी तोक्ने निर्णय भएको जानकारी दिए । इटहरी, विराटनगर र गोठगाउँलाई समेटेर स्याटेलाईटसिटी निर्माण गरिने र त्यही भित्र भौतिक संरचना निर्माण गरेर राजधानी स्थापना हुने मुख्यमन्त्री राईले बताए । उनले संरचना निर्माण नहुँदासम्म विराटनगरका हालकै संरचनाबाट काम हुने जानकारी दिए । मुख्यमन्त्री राईले विराटनगरलाई अहिले तत्काल राजधानी तोकेर ती संरचना निर्माण भएपछि राजधानी त्यो ठाउँमा जाने स्पष्ट पारे । आइतवार बस्ने संसदीय दलको बैठकपछि निर्णय सार्वजनिक हुने मुख्यमन्त्रीले बताए । सबैलाई समेटेर लैजानका लागि आइतवारसम्म सबै दलहरुसँग छलफल गरेर प्रस्ताव लैजाने उनले बताए ।

यता प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले भने प्रतिपक्षीसँगको छलफलपछि मात्र कसरी अगाडि बढ्ने भन्ने बिषय टुंगीने बताए । प्रदेशसभाले आइतवारसम्म प्रदेशको राजधानी र नामका विषयमा प्रस्तावको आहन गरेको छ । यसअघि बिहीवारसम्मको समय दिइएकोमा दलहरुबीच आवश्यक छलफल गर्नुपर्ने भन्दै समय थप गर्न प्रदेश सभामुखलाई आग्रह गरिएको थियो । नेकपा संसदीय दलको बैठक भने आइतवार १ बजेलाई बोलाइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)