ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इतिहास मेटिने भन्दै जुट मिललाई संग्रहालय बनाउन सुझाव

May 14, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

वैशाख ३१, विराटनगर । बन्द अवस्थामा रहेको विराटनगर जुट मिललाई राजनीतिक एवं औद्योगिक संग्रहालय बनाउन स्थानीय वासिन्दाले सुझाव दिएका छन् । १ नं. प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गठन गरेको राजनीतिक संग्रहालय स्थापना सम्भाव्यता अध्ययन कार्यदलले सामाजिक विकास मन्त्रालयमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले यस्तो सुझाव दिएका हुन् । कार्यदलले विराटनगर जुट मिल ऐतिहासिक, राजनीतिक एवं औद्योगिक महत्व बोकेको र हाल बन्द रहेकाले त्यसको इतिहास मेटिन नदिन संग्रहालय बनाउनुपर्ने सुझाव आएकोमा सो विषयमा स्थानीय वासिन्दाको धारणा बुझ्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका अधिकांश सहभागीले विराटनगर जुट मिललाई संग्रहालय बनाउने कुरामा समर्थन जनाउँदै सो क्षेत्रमा आर्थिक गतिविधि बढाउने खालका कार्यक्रमहरु पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा वि.सं. २००३ सालको ऐतिहासिक मजदुर आन्दोलनका योद्धा ९३ वर्षीय रघुनाथप्रसाद गुप्ता, वडा नं. १५ का अध्यक्ष अस्लम आलम, स्थानीय प्रह्लाद बस्नेत, ज्ञानबहादुर राई, प्रकाश साह, सन्तोष बराल, मजदुर नेता धर्मानन्द सञ्जेल, दिनेश राईलगायतले विराटनगर जुट मिल सञ्चालन गर्नुपर्ने सुझावसहित राजनीतिक एवं औद्योगिक संग्रहालय स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी मिल्स माविका पूर्व प्रअ दिनेश श्रेष्ठ, शिक्षिका दीपा पाठकका साथै अमृत गुरुङ, प्रेमबहादुर क्षेत्री, दीनानाथ आचार्य, किशोर सुब्बा, नानिकाजी श्रेष्ठ, किशोर शाहीलगायतले संग्रहालय स्थापनाका बारेमा सुझाव दिएका छन् । कार्यक्रममा संग्रहालय स्थापनाको उद्देश्य, त्यसको सम्भावना, चुनौती एवं संग्रहालय स्थापनाबाट स्थानीयलाई पर्ने सकारात्मक प्रभावका बारेमा कार्यदलका सदस्य यज्ञ शर्माले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

कार्यदलका सदस्य बाबुराम कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै राजनीतिक एवं औद्योगिक संग्रहालयको महत्वका बारेमा बताएका थिए । कार्यक्रममा उठेका जिज्ञासा एवं सुझावका बारेमा कार्यदलका संयोजक ओमनाथ कोइरालाले छलफलबाट आएका सुझावहरुलाईसमेत समेटेर प्रतिवेदन बुझाउने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)