ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा खाद्य अभाव टार्न ‘धर्म भकारी’

May 15, 2019  
प्रदेश समाचार कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

जेठ १, वीरेन्द्रनगर । कर्णाली  प्रदेश सरकारले विपद्को समयमा हुन सक्ने खाद्यान्न अभाव टार्न ‘धर्म भकारी’ निर्माण गर्ने भएको छ । कर्णालीका विकट जिल्लामा विपद्को समयमा खाद्यान्न अभाव हुन नदिन सरकारले यो रणनीति अपनाउने तयारी गरेको हो ।

कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव हुने गरेको छ । विपद् पर्दा खान नपाएर कसैले पनि समस्या व्यहोर्नु नपरोस् भन्नका लागि खाद्यान्न भण्डार गृह स्थापना गर्न लागिएको हो । जसलाई प्रदेश सरकारले धर्म भकारी नामाकरण गरेको छ । विपदमा मानवीय आधारभुत आवश्यकता परिपूर्ति गर्दा धर्म हुने भएकाले धर्म भकारी स्थापना गर्ने योजना प्रदेश सरकारले बनाएको हो । धर्म भकारीमा अभाव कहिल्यै नहुने प्रदेश सरकारको बुझाई छ ।

विपदमा खाद्यान्न अभाव हुन नदिन तथा आवश्यक सामग्री मौज्दातका लागि सरकारले यो रणनीति तय गरेको हो । प्रदेश सरकार स्रोतका अनुसार धर्म भकारी रित्तो हुने छैन भने विपद् पर्दा तत्काल उपयोग गर्न सकिने छ । यसैगरी, प्रदेश सरकारले प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन गर्न आवश्यक रणनीति तयार गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने गरि प्रदेश सरकारले रणनीति बनाउन शुरु गरेको हो ।

मन्त्रिपरिषद वैठकले विपद् न्यूनिकरणदेखि व्यवस्थापन गर्न विभिन्न योजना सञ्चालन गर्ने पनि निर्णय गरेको छ । साथै वैठकबाट विपद् जोखिम न्यूनिकरण तालिम दिने संस्था स्थापना गर्ने, जोखिमसम्वन्धी प्रदेशको अवस्थाको बारेमा प्रतिवेदन तयार पार्ने निर्णय भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् न्यूनिकरण तथा व्यवस्थापन नियमावली निर्माण गरिने जानकारी दिएको छ । विपद्को समयमा काम लाग्ने संस्था, सामग्री तथा हवाई कम्पनीहरूको प्रोफाइल सूची तयार पारिने छ । जिल्लाका विभिन्न स्थानमा हेलीकोप्टर राख्न हेलिप्याड निर्माण गरिने छ ।

कर्णाली राजमार्गमा विशेष टोली परिचालन गरिने

कर्णालीका हिमाली जिल्ला जोड्ने कर्णाली राजमार्गमा सरकारले विशेष टोली परिचालन गर्ने भएको छ । मन्त्रिपरिषदले आगामी आर्थिक वर्षदेखि कर्णाली राजमार्गमा आउने अवरोध हटाउन टोली परिचालन गर्ने निर्णय गरेको छ । वर्षातका समयमा पटक–पटक राजमार्ग अवरुद्ध हुँदा नागरिकले सास्ती व्यहोर्दै आएका छन् ।

कोहलपुर–जुम्ला सडकमार्गलाई २४सै घण्टा नियमित सूचारु गर्न सरकारले ठाउँ–ठाउँमा टोली परिचालन गर्न लागेको हो । यो टोली राजमार्गमा बाढी पहिरो आएको खण्डमा हटाउन आवश्यक उपकरणसहित परिचालन गरिने छ । साथै प्रदेश सरकारले हरेक साउन महिनामा विपद् सचेतना दिवस मनाउने भएको छ ।

मन्त्रिपरिषद  बैठकले वि.सं.२०७१ साउन २८ गते आएको बाढीका कारण विस्थापित भएका सर्वसाधारणको हकमा प्रतिपरिवार रू.३ लाखका दरले राहत उपलव्ध गराउने निर्णय गरेको छ । बाढी गएको दिनलाई सम्झना गर्दै प्रदेश सरकारले विपदबाट सचेत गराउने रणनीतिसहित विपद् सचेतना दिवस मनाउने निर्णय गरेको हो ।

मोवाइल एपदेखि हटलाइनसम्म

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले विपद् पूर्वतयारीदेखि व्यवस्थासम्मको लागि आवश्यक योजना निर्माण गर्ने निर्णय गरेको छ । जोखिमयुक्त वस्ती तथा जोखिम पहिचान गरि जोखिम न्यूनिकरणका लागि तत्काल सुरक्षा टोली परिचालनमा सहजताका लागि कार्यदल निर्माण गरिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बताएको छ ।

मन्त्रालय स्रोतका अनुसार शसस्त्र प्रहरीका डिआइजीको संयोजकत्वमा नेपाल प्रहरी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका पदाधिकारी रहेको कार्यदल गठन हुनेछ । विपद् न्यूनिकरण र व्यवस्थापनका लागि कर्णालीमा मोवाइल एप सञ्चालन गर्न लागिएको छ । मन्त्रिपरिषदले निर्णय गरेसँगै केही महीना भित्रै ‘विपद्को साथि’ मोवाइल एप सञ्चालन गरिने छ ।

मोवाइल एपमार्फत् जोखिम स्थलका नागरिकहरूले कसरी सुरक्षित हुने भन्ने बारेमा ज्ञान पाउने छन् । यस्तै, विपद्का समयमा सत्य सूचना समयमा पाउनका लागि प्रदेशस्तरमा हटलाइन सेवा सञ्चालन गरिने छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हटलाईन शुरु गर्ने छ । हटलाइनमार्फत् समयमा सूचना पाए, उद्दार तथा राहतमा मदत पुग्ने छ । जसका लागि सर्वसाधारणले मोवाइलमार्फत निःशुल्क फोनमार्फत् जानकारी दिन सकिने व्यवस्था मिलाइने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)