ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्लीबजार–चौरजहारी सडक : १५ वर्षमा ३ किमी मात्र कालोपत्र

May 22, 2019  
प्रदेश समाचार कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । सल्यानको सल्लीबजारदेखि रुकुमको चौरजहारीसम्म सडकको ट्र्याक खोलेको वर्षौं बितिसक्दा समेत ३ किलोमिटर मात्र कालोपत्र भएको छ । सो सडकको ट्र्याक १५ वर्षपहिले नै खोलिएको थियो । सरकारी निकाय र निर्माण व्यवसायीको बेवास्ताका कारण स्थानीयवासी कच्ची सडकमै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ४१ किलोमिटरको सडक स्तरोन्नति नहुँदा यात्रुले धुलाम्मे र हिलाम्मे बाटोमा यात्रा गर्दै आएका छन् । सडक स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय दाङले १० करोडभन्दा बढी रकम खर्च गरिसकेको छ । तर, सडक वर्षेनि जीर्ण बन्दै गएको छ । सडक स्तरोन्नतिको काम बीचमै अलपत्र परेपछि यात्रुलाई आउजाउमा सास्ती भएको हो । ठेकेदारले स्तरोन्नतिको जिम्मा लिए पनि बीचैमा काम छाडेर भाग्ने गरेकाले सडकको अवस्था सुधार हुन नसकेको हो । केही वर्षअघि गरिएको ग्राभेल अधिकांश उप्किसकेको स्थानीय नेत्र थापाले बताए । उक्त सडकखण्डको स्तरोन्नतिका लागि अहिलेसम्म १० ओटा कम्पनीले जिम्मा लिए । तर, आधा पनि काम नगरी छाडेका हुन् । सडक खण्डमा पर्ने बन्गाड खोला र स्यानीपिपली खोलामा पुल बन्न सकेको छैन । गत आर्थिक वर्षमा सात किलोमिटर कालोपत्र गर्न सडक डिभिजन कार्यालयले ११ करोड विनियोजन गरेको थियो । गजुरमुखी र गाल्भा जेभीका तर्फबाट रामबहादुर विष्टले कामको जिम्मा लिएका थिए । उक्त ठेकेदार कम्पनीले सात महीनादेखि निर्माणस्थल छोडेको छ । डिभिजन कार्यालयसँग ३३ महीनामा काम पूरा गर्नेगरी ठेकेदार कम्पनीले सम्झौता गरेको थियो । सडकको जिम्मा प्रदेश सरकार मातहत गएपछि ठेकेदार कम्पनीले थप बेवास्ता गरिरहेको स्थानीयको भनाइ छ । बन्गाडकुपिण्डे नगरपालिका प्रमुख गोविन्दकुमार पुनले सल्लीबजार—चौरजहारी सडकमा ठेकेदारले काम गर्ने क्रममा आलटाल गरिरहेको बताए । ठेकेदार कम्पनीलाई कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिश गर्ने तयारी भइरहेको उनको भनाइ छ  । अहिले सडक डिभिजन कार्यालय दाङको जिम्मेवारी सुर्खेतमा आएको छ । डिभिजन कार्यालय, सुर्खेतले सल्लीबजार—चौरजहारी सडकको बजेट निकासा गरिसकेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)