सुर्खेत । पश्चिम सुर्खेतको चौकुनेमा वन विज्ञान क्याम्पस स्थापनाका लागि तयारी तीव्र पारिएको छ । चौकुनेका स्थानीय बासिन्दा अहिले प्रदेशस्तरीय वन विज्ञान क्याम्पस स्थापनाका लागि भौतिक पूर्वाधारको तयारीमा जुटिरहेका छन् । प्रस्तावित योगी नरहरिनाथ वन क्याम्पस स्थापनाका लागि स्थानीयले हालसम्म २५ बिगाहा जमीनसहित १० कोठे भवन निर्माण गरेर विस्तृत परियोजना प्रतिवेदन डीपीआर प्रदेश सरकारलाई बुझाएका छन् ।
क्याम्पसको (डीपीआर) हालै प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावललाई बुझाइएको प्रस्तावित क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले बताए । आउँदो शैक्षिक सत्रदेखि कर्णाली प्रदेशमै पहिलोपटक वन विज्ञानको पढाइ शुरू गर्नेगरी तयारी गरिएको उनले जानकारी दिए । ‘प्रदेशकै पहिलो आंगिक क्याम्पस बनाउन नीतिगत निर्णयका लागि सबै स्तरबाट प्रदेश सरकारलाई अनुरोध गरिएको छ,’ उनले भने । प्रस्तावित वन विज्ञान क्याम्पसको भवन निर्माणसँगै खानेपानीका लागि हालसम्म चौकुने गाउँपालिकाबाट करीब २५ लाख रुपैयाँ लगानी भइसकेको उनले बताए । यस वर्ष स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट समेत १० कोठे भवनका लागि ३६ लाख रुपैयाँ लगानी गरिएको छ ।
संघीय सांसद नवराज रावतले कर्णाली प्रदेशमा वन विज्ञान क्याम्पस नहुँदा यहाँका विद्यार्थीलाई अध्ययन गर्न अहिले काठमाडौं, चितवन र हेटौंडा जानुपर्ने अवस्था अन्त्य गर्न स्थानीयको मागअनुसार प्रस्तावित वन विज्ञान क्याम्पसका लागि ३६ लाख रकम विनियोजन गरिएको बताए ।
चौकुने गाउँपालिका–५, तोस्रामा स्थापना गर्न लागिएको वन विज्ञान क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि ३७ करोड लागत अनुमान गरिएको छ । प्रस्तावित वन विज्ञान क्याम्पसका नयाँ भवनहरू नबन्दासम्म जनजागृति मावि, तोस्राकै भवनमा पढाइ सञ्चालन गर्न सकिने व्यवस्थापन समितिका सदस्य नयाराम बयकले बताए । ‘चौकुनेमा स्नातक तहको वन विज्ञान क्याम्पस स्थापना भए यहाँका विद्यार्थीलाई पढ्न प्रदेश बाहिर जानुपर्दैन,’ उनले भने ।
योगी नरहरि नाथ वन विज्ञान क्याम्पस स्थापनाका लागि गठन भएको मूल समितिले सरोकारवालालाई क्याम्पस स्थापनाका लागि सहयोग गर्न आग्रह गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापनपत्र बुझाउँदै समितिले तत्काल क्याम्पस सञ्चालनका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ । समितिले मुख्यमन्त्रीसँग संघीय सरकार र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई क्याम्पस सञ्चालनका लागि आवश्यक पहल गरिदिन समेत अनुरोध गरेको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहीले वन विज्ञान क्याम्पस सञ्चालन गर्नु सकारात्मक काम भएकाले सक्दो सहयोग गर्ने बताए ।