ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोरङ व्यापार संघ निर्वाचन : १८ पदका लागि २९ को उम्मेदवारी

Jun 4, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २१, विराटनगर (अस)। मोरङ व्यापार संघको ३२ औं कार्यकारिणी समितिको १८ पदका लागि २९ जनाले उम्मेवारी दर्ता गरेका छन् । वाणिज्यतर्फको आठ पदका लागि १४ जना, उद्योगतर्फ आठ पदका लागि १३ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । वस्तुगततर्फका दुई पद भने निर्विरोध भएको छ ।

निर्विरोध हुनेमा सञ्जयकुमार श्रेष्ठ र सन्तनु रेग्मी छन् । श्रेष्ठ वर्तमान कार्यकारिणी समितिका सदस्य हुन् भने रेग्मी पहिलो पटक संघमा भित्रिएका छन् । संघको अध्यक्षका दावेदार भनिएका प्रकाश मुन्दडाले उद्योग र वाणिज्य दुवैतर्फ उम्मेदवारी दिएका छन् । मुन्दडा अहिलेको कार्यकारिणी समितिका वरिष्ठ उपाध्यक्ष हुन् । समितिका महासचिव नवीन रिजालले पनि दुवैतर्फ उम्मेदवारी दर्ता गरेका छन् । अहिलेका उद्योग तर्फका उपाध्यक्ष सुनिल टिवडेवालले पनि उद्योग र वाणिज्य दुवैतर्फ उम्मेदवारी दिएका छन् । वाणिज्य तर्फका उपाध्यक्ष सुशीलकुमार जोशीले भने यस पटक कतै पनि उम्मेदवारी दिएका छैनन् । जोशी २०४७ सालदेखि संघको कार्यकारिणी समितिमा निरन्तर छन् ।

उनी ताराचन्द खेतान(२०४७–४९) अध्यक्ष हुँदा कार्यकारिणी समितिमा कोषाध्यक्ष थिए । वि.सं.२०५८–२०६० मा अर्को गुटमा परेका कारण एक पटक चुनाव हार्नुबाहेक सबैजसो निर्वाचनमा पहिलो, दोस्रो स्थानमा आफूले जित्दै आएको जोशीले बताए । यो पटक स्वेच्छाले व्यापार संघ छोडेको उनले बताए । यस पटक संघका पूर्वअध्यक्ष महेश जाजूले आफ्ना छोरा आशीष जाजूलाई ‘डेब्यू’ गराएका छन् । आशीषले उद्योगतर्फ उम्मेदवारी दिएका छन् । व्यापार संघको निर्वाचनमा महेश जाजू मुख्य योजनाकारका रुपमा मानिन्छन् । व्यापार संघको नेतृत्व सकेसम्म साझेदारभित्रै पार्ने रणनीतिक योजनामा उनी सफल हुँदै आएका छन् ।

सोमबार मनोनयन दर्ता गर्ने क्रममा मेघराज सिग्देल, सुकुमार सेन र धीरजराज पोखरेलले पनि उम्मेदवारी दर्ता गरेका छन् । उनीहरूले उद्योगतर्फ उम्मेदवारी दर्ता गरेका हुन् । व्यापार संघको ३१ औं कार्यकारिणी समितिको निर्वाचनताका वर्तमान नेतृत्वसँग पराजीत भएको राजेन्द्र राउतको समूहबाट उनीहरूले उम्मेदवारी दिएको बुझिएको छ । संघका पूर्व वरिष्ठ उपाध्यक्षसमेत रहेका राउतले अहिले भइरहेको निर्वाचनमा मतदाताको नाम नलेखी फर्मको मात्रै नाम उल्लेख भएकोमा विरोध गर्दै उजुरीसमेत दिएका थिए ।  जिल्ला प्रशासनसमेतमा उजुरी परेपछि प्रशासनले संघसँग तीन बूँदे प्रश्न गरी जवाफ मागेको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङले आइतवार संघको नाममा पत्र लेख्दै सदस्यता नवीकरण गर्न रू. १ हजारबाट एक्कासी रू.२५ हजार पुर्‍याएको, निर्वाचन मिति २०७६,०१,२२ लेखिएको र फर्म कम्पनीको हकमा प्रोप्राइटरको पूरा नामथर उल्लेख नभएको विषयमा जवाफ पेश गर्न निर्देशन दिएको थियो । निर्देशनपछि संघबाट चित्तबुझ्दो जवाफ आएपछि सोमवार साँझ ५ बजेबाट निर्वाचन कार्यक्रम फुकुवा गरेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।

‘उहाँहरू (व्यापार संघ) ले चित्तबुझ्दो जवाफ दिनुभयो, त्यही भएर  निर्वाचन कार्यक्रम सुचारु गर्न निर्देशन दिइसक्यौं’, प्रजिअ केसीले भने । यस्तै प्रशासन कार्यालयबाट पत्र प्राप्त भएपछि संघले सोमवार मतदाता नामवलीअन्तर्गत फर्मको नामसँगै सञ्चालकको नामसमेत भएको सूचि टाँस गरेको छ । यसअघि फर्मको मात्रै नाम उल्लेख गरेकोमा मतदाता नामवलीउपर संघकै पूर्वअध्यक्ष र वरिष्ठ उपाध्यक्षले दावी विरोध गरेका थिए । उनीहरूले फर्मको नामसँगै प्रोप्राइटरको नाम पनि खुलाउनुपर्ने माग गरेका थिए ।

निर्वाचन समितिले मतदाताको नाम उल्लेख नगरी वाणिज्यतर्फ ३९६, उद्योगतर्फ २९६ र वस्तुगततर्फ चार गरी ६९६ फर्मको नाममात्रै मतदाताको नामावलीका रुपमा टाँसेको थियो । जेठ २४ गते हुने निर्वाचनबाट संघको ३२ औं कार्यकारिणीका लागि वाणिज्य क्षेत्रका आठ, उद्योग क्षेत्रका आठ र वस्तुगत क्षेत्रका दुई जना सदस्य निर्वाचित हुनेछन् । उनीहरूबाटै अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवलगायतका पदाधिकारी र सदस्यहरू चयन हुने व्यवस्था छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)