ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली प्रदेश सरकारलाई सुझाव : ‘नतिजामुखी कार्यक्रम आवश्यक’

Jun 4, 2019  
प्रदेश समाचार कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २१, सुर्खेत(अस) । कर्णालीबाट प्रतिनिधित्व गर्ने संघीय संसदहरुले १० वर्षभित्रै समृद्ध प्रदेश निर्माण गर्ने गरि आगामी नीति तथा कार्यक्रम ल्याउन कर्णाली प्रदेश सरकारलाई सुझाव दिएका छन् । मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित सुझाव संकलन कार्यक्रममा आ–आफ्नो धारणा राख्दै प्रतिनिधि तथा राष्ट्रिय सभाका सांसदहरुले उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याउन सुझाव दिएका हुन् ।

प्रतिनिधि सभा सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले जनताको जीवनमा परिवर्तन देखिने गरि सरकारले काम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले तथ्यांकमा देखाएर मात्र नहुने भएकाले बजेट खर्चको प्रभाव जनताको जीवनस्तरमा देखिनु पर्ने जनाए । ‘भौतिक पूर्वाधार विकास प्राधिकरण, आयुर्वेदिक विकास आयोग जस्ता संरचना निर्माणको नीति लिन आवश्यक छ,’ उनले भने, ‘सरकारको कार्यसम्पादनलाई प्रभावकारी वनाउन कर्मचारी प्रशासनलाई उत्साहित बनाउने योजना बनाउनु पर्छ ।’

उनले कर्मचारीलाई निश्चित लक्ष्य तोकेर आकर्षक सेवा सुविधासहित काम गराउने नीति लिन पनि सुझाव दिए । धेरै कर्मचारी र धेरै संरचना निर्माणमा भन्दा पनि थोरै कर्मचारी र नतिजामुखी कार्यसम्पादन गर्न आवश्वयक रहेको उनको भनाई थियो । त्यस्तै राष्ट्रिय सभाका सांसद जीवन वुढाले कर्मचारी, कानून र संरचना अभावका वावजुद पनि प्रदेश सरकारको एक वर्षे अनुभवका आधारमा सरकारको कार्यसम्पादन आगामी वर्षदेखि नतिजामूखी र प्रभावकारी हुनुपर्ने बताए ।

यस्तै प्रतिनिधिसभा सदस्य राजवहादुर बुढाले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा उत्पादनमुलक आयोजना समावेश गर्दे एउटा मात्रै भएपनि प्रदेशको दिर्घकालिन आयश्रोत बन्ने खालको योजना अघि सार्न सुझाव दिए । राष्ट्रिय योजना आयोगका सदस्य मिनवहादुर शाहीले कर्णालीको बहुआयामिक गरिवी हटाउन रोजगारमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने औंल्याए ।

उनले कर्णालीको विकासका लागि आयोग तयार रहेकाले योजना निर्माण र कार्यान्वयनका लागि प्रदेश योजना आयोगको कार्यक्षमता अभिवृद्धिका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागि अधिकांश सांसदहरुले कर्णालीमा रहेको जलविद्युत, पर्यटन, कृषि, खनिज र जडिवुटीको उचित परिचालनले प्रदेशको आर्थिक समृद्धि सम्भव भएको वताउँदै कार्यान्वयन मुखी नीति तथा कार्यक्रम ल्याउनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै क्षेत्रको राय सुझाव लिएर प्रदेश सरकारले कर्णालीको समृद्धिको खाका सहितको नीति कार्यक्रम ल्याउन लागेको जानकारी दिए । उनले कानून, संरचना र कर्मचारी अभावका कारणले जनताको अपेक्षा वमोजिम चालु आर्थिक वर्षमा विकास वजेट खर्च गर्न नसकिएकाले अब ठूला र परिणाममुखी योजना ल्याईने जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)