सुर्खेत । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बेरोजगार युवालाई शीपमूलक तालीम दिने अभियान शुरू गरेको छ । मन्त्रालयले युवालाई ‘रोजगार तथा शीप विकास’ कार्यक्रममार्फत तालीम प्रदान गर्न लागेको हो ।
मन्त्रालयले घरेलु तथा साना उद्योग विकास कार्यालय र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा मंगलवार वीरेन्द्रनगरमा अटोरिक्सा तथा मोटरसाइकल मर्मतसम्बन्धी एकमहीने तालीमको उद्घाटन गरेको छ । उक्त तालीमको उद्घाटन गर्दै घरेलु तथा साना उद्योग विकास कार्यालयका निर्देशक शम्भुप्रसाद पौडेलले प्रदेशमा बेरोजगारी दर घटाउन यस्ता कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गरे । प्राविधिक क्षेत्रमा रुचि राख्ने तथा साधारण लेखपढ गर्न जान्ने युवालाई लक्षित गरी मन्त्रालयले छोटो अवधिका तालीम शुरू गरेको उनले बताए ।
‘मन्त्रालयले छोटो अवधिको ‘रोजगार तथा शीप विकास’ कार्यक्रमअन्तर्गत प्रदेशका १० जिल्लाका लागि चालू आवमा ६४ लाख रुपैयाँ विनियोजन गरेको थियो,’ उनले भने, ‘उक्त बजेटले प्रदेशका १० ओटै घरेलु तथा साना उद्योग विकास कार्यालयमार्फत ४ सय युवालाई स्वरोजगर बनाइनेछ ।’
सुर्खेतको हकमा भने तालीमपछि प्रशिक्षार्थीलाई सुर्खेत उद्योग वाणिज्य संघले रोजगारी दिने ग्यारेन्टी गरेको पौडेलले बताए । उनका अनुसार प्रदेश सरकारले तालीमका लागि अपांगता भएका, विदेशबाट फर्केका र महिला तथा सीमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिएको छ ।
यता, सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले अटोरिक्सा तथा मोटरसाइकल तालीमछि सबै सहभागीलाई सुर्खेतका विभिन्न अटो वर्कशपमा दक्षताअनुसारको काम दिइने बताए । जिल्लामा दक्ष कामदारको अभाव कारण अहिले बाहिरबाट मान्छे मगाएर काम गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
‘अटो बजारमा प्राविधिक दक्ष जनशक्तिको धेरै माग छ,’ उनले भने, ‘दक्ष कामदारको अभावले नै जिल्लामा अन्तरराष्ट्रिय स्तरका अटो वर्कशप खुल्न सकेका छैनन् ।’ आवश्यक दक्ष जनशक्ति स्थानीय स्तरमै उत्पादन गर्न सकिए अटो बजार थप विस्तार हुने उनले बताए ।