जेठ २६, गते दैलेख(अस) । दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द छ । विद्युत् आपुर्ति बन्द हुँदा यहाँका सरकारी तथा गैरसरकारी कार्यालयदेखि सर्वसाधारणसमेत सास्ती व्यहोर्नु परेको छ ।
हावाहुरीसँगै पोल ढलेका कारण शुक्रवारदेखि विद्युत् आपूर्ति बन्द भएको हो । विद्युत आपूर्ति नहुँदा सरकारी कार्यालयको कामसमेत प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेख प्रमुख धीरेन्द्र बजगाईंका अनुसार ‘सुर्खेतको गरगरेमा छ ओटा बिजुलीका पोल ढलेकोले समस्या चुलिएको हो ।
‘सुर्खेत र दैलेखको सिमाना रातानाङलासम्म विद्युत सेवा आपूर्ति भएको र दैलेख तर्फको विद्युत लाइन मर्मत गरिरहेको छ,’ उनले भने । जिल्ला सदरमुकाममा रहेका दुई ओटै सामुदायिक रेडियो र स्थानीय पत्रपत्रिकाहरु बन्द छन् भने व्यवसायसमेत प्रभावित छन् ।
विद्युत् आपूर्ति नहुँदा यहाँका सरकारी कार्यालयले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकेका छैनन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले विद्युत् सेवा नियमित गर्न बेवास्ता गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।