ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयुर्वेदिक चिकित्सामा आकर्षण बढ्दो

Jun 11, 2019  
प्रदेश समाचार कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । सुर्खेतमा पछिल्लो समय आयुर्वेदिक चिकित्साप्रति सर्वसाधारणको आकर्षण बढेको छ । प्रदेश आयुर्वेद औषधालयले प्रचार–प्रसार बढाएपछि यो चिकित्साका प्रयोगकर्ता बढेका हुन् । जिल्लामा प्रदेश आयुर्वेद औषधालयसँगै जिल्लाभर रहेका आयुर्वेद औषधालय तथा गाउँमा हुने निःशुल्क शिविरमा सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ । चालू आवको पछिल्लो १० महीनामा प्रदेश आयुर्वेद औषधालयबाट करीब २० हजार जनाले आयुर्वेदिक उपचार सेवा लिएको प्रदेश आयुर्वेद औषधालय, सुर्खेतका प्रमुख डा. शंकरप्रसाद रिजालले बताए । ‘यो उपचार पद्धतिमा समयसापेक्ष सुधार गर्दै लैजाने हो भने सेवाग्राही अझै बढ्छन्,’ उनले भने । आयुर्वेद औषधालयका अनुसार गत आवमा करीब २५ हजारले यो उपचार सेवा लिएका थिए, जुन आव २०७३/७४ मा १५ हजार मात्र थियो । यसले जिल्लामा आयुर्वेदिक चिकित्साप्रति आकर्षण बढाएको दाबी डा. रिजालको छ । जिल्लाका वीरेन्द्रनगर, सिम्ताको राकम, भेरीगंगाको जहरे, पञ्चपुरीका सालकोट र विद्यापुरमा आयुर्वेदिक चिकित्सालय छन् । तिनबाट पेटरोग, बाथ, छाला, पिनास, मधुमेह, श्वासप्रश्वास, मोटोपन लगायत नियन्त्रण गर्ने औषधि निःशुल्क वितरण हुँदै आएको छ । आयुर्वेदिक उपचार सेवा विस्तारका लागि यसको शिक्षा, जडीबुटीको संरक्षण र प्रवद्र्धनमा ध्यान दिनुपर्नेमा डा. रिजालले औंल्याए । ‘आयुर्वेदिक चिकित्साप्रति सर्वसाधारणको आकर्षण बढे पनि यसलाई समयसापेक्ष सुधार गर्न सकिएको छैन,’ उनले भने, ‘यसका लागि सरकारी स्तरबाटै राज्यले विशेष योजना ल्याउनु आवश्यक छ ।’ चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले आयुर्वेद चिकित्साको थप विकास र विस्तार गर्नुपर्नेमा जोड दिए । कर्णालीमा भएका जडीबुटीबाट ३० प्रतिशत पनि औषधि उत्पादन गर्न नसकिएको भन्दै उनले यसको महŒवबारे जनचेतना जगाउन जरुरी रहेको बताए । संघीय सरकारको प्रतिनिधिसभा सांसद नवराज रावतले प्रचार प्रसारको अभावमा अझै पनि अधिकांश सर्वसाधारण आयुर्वेदिक उपचार सेवा लिनबाट वञ्चित भएको बताए । ‘कर्णालीका जडीबुटीको खपत बढाउन र औषधिमा परनिरर्भरता घटाउन पनि आयुर्वेद चिकित्साको प्रवद्र्धन हुनुपर्छ,’ उनले भने । प्रदेश औषधालयले विभिन्न औषधि वितरण, गाउँघर क्लिनिक, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम, आयुर्वेद स्वयंसेविका परिचालन र निःशुल्क शिविर सञ्चालन गर्दै आएको औषधालयका कविराज निरीक्षक श्रीराम आचार्यले जानकारी दिए । औषधालयमा दम, बाथ, पिनास, पत्थरी, पाइल्स, जन्डिस र चर्म रोगका बिमारी धेरै आउने गरेको उनले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)