जेठ २८, विराटनगर (अस) । एलपी ग्यास बिक्रेता संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । सरकारले बिक्रेताका लागि थप गरेको रकम ग्यास उद्योगहरूले अपचलन गरेको भन्दै सोमवार संघले आन्दोलनको घोषणा गरेको हो ।
वि.सं. २०७५ सालमा एलपी ग्यास बिक्रेता संघ र एलपी ग्यास उद्योग संघको संयुक्त आन्दोलनपछि नेपाल सरकारले २०७६ बैशाख १२ गतेदेखि लागू हुने गरी उद्योगलाई प्रतिसिलिण्डर २२ रूपैयाँ र बिक्रेतालाई पाँच रूपैयाँ ४७ पैसा थप कमिशन उपलब्ध गराउने सहमति गरेको थियो । संघका मोरङ अध्यक्ष सरलराज पोखरेलले सरकारले बिक्रेताका लागि तोकेको पाँच रूपैयाँ ४७ पैसा हालसम्म ग्यास उद्योगहरूले नदिएकाले चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।
उनका अनुसार यसअघि नेपाल सरकारले दिंदै आएको ३२ रूपैयाँमा संघको आन्दोलनपछि ८ रूपैयाँ थप्ने सहमति भई हाल ग्यास बिक्रेताले प्रति सिलिण्डर ४० रूपैयाँ कमिसन पाउँदै आएका छन् । ग्यास उद्योगहरूले भने आन्दोलनको बेला सरकारले दिंदै आएको रकममा पहिले नै थप गरेर दिंदै आएको तर्क गर्दै पाँच रूपैयाँ ४७ पैसा दिन नसकिने बताउँदै आएका छन् ।
कमिशन बृद्धिको माग गर्दै यसअघि ग्यास बिक्रेताहरूले उद्योगको मूलगेटमा धर्नासमेत दिएका थिए । सिलिण्डर धरौटी वापत रू.२ हजार २०० र ग्यास रिफिलमा रू. १ हजार ३४२ तिर्नु पर्ने भन्दै ग्यास बिक्रेताहरूले लगानीको कम्तीमा पाँच प्रतिशत कमिशन पाउनु पर्ने माग गर्दै आएका छन् । मोरङमा संघमा आवद्ध ४०० सहित करीब ७०० ग्यास बिक्रेता छन् ।