जेठ ३०, विराटनगर(अस) । विराटनगरको सीमावर्ती क्षेत्र जोगबनीमा भारतीय भन्सारका एजेन्टबीचको विवादले आयात–निर्यात अवरुद्ध भएको छ । बिहीवार बिहानैबाट दुवैतर्फको आयात–निर्यात ठप्प भएको थियो ।
जोगबनी भन्सारका एजेन्टबीचको विवाद मिलाउन भारतीय प्रहरीले अग्रसरता देखाएपनि साम्य पार्न सकेको छैन । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाका अनुसार भारततर्फ विवाद बढ्दै गएपछि हाल सवारीसाधन आवतजावतसमेत रोकिएको छ । उनले समस्या निराकरणका लागि पहल भइरहेको बताए ।
त्यसैगरी, विराटनगर भन्सार कार्यालयले पनि मालबाहक सवारीसाधन आवतजावत गर्ने वातावरण तयार पार्न भारतीय पक्षसँग समन्वय गर्ने काम भइरहेको बताएको छ । तर हाल एजेन्टहरु नै विरोधमा उत्रिएपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले नाकामा कुनै पनि सवारीसाधन आवतजावत गर्न दिएको छैन ।
नाका ठप्प हुँदा नेपालबाट भारत र भारतबाट नेपालतर्फ जाने र आउने मालबाहक सवारीसाधन बीचैमा अलपत्र परेका छन् । जसका कारण विराटनगर भन्सार कार्यालयको राजस्व संकलन पनि प्रभावित बनेको छ ।